जाजरकोट भूकम्प : १९ बालबालिकासहित १२८ जनाको मृत्यु, घाइतेको संख्या लगातार बढ्दै

जाजरकोट भूकम्प : १९ बालबालिकासहित १२८ जनाको मृत्यु, घाइतेको संख्या लगातार बढ्दै

सुर्खेत : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ। 

शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्र भएर गएकाे ६ दशमलव  ४ म्याग्निच्युडको भूकम्पमा परि १९ बालबालिकासहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ।  

प्रदेश प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। 

भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ। 

रुकुम पश्चिमको सबैभन्दा बढी आठबीसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित भएको छ।

प्रहरीका अनुसार रुकुम पश्चिम र जाजरकोट गरेर एक सय ५५ जना घाइते भएका छन् । घाइतेहरूको संख्या लगातार बढिरहेको छ।

केही घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। औषधी  स्वास्थ्यकर्मीले धान्न नसकेपछि केहीलाई सुर्खेततर्फ रेफर गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

जाजरकोटमा ९२ जना र  रुकुम पश्चिममा ३६ जनाको मृत्यु हो। घाइतेहरुको खोज, उद्धार र उपचार व्यवस्थापन जारी छ। मानविय क्षतिको विवरण संकलन भइरहेकाले भौतिक संरचना र सम्पत्तिको विवरण आइसकेको छैन। 

प्रहरीले उपलब्ध गराएको विवरण अनुसार रुकुमपश्चिमका २७ जनामध्ये १९ जना बालबालिका छन् । जसमा १० महिने बालकदेखि १४ वर्षीया बालिका समेत रहेका छन्।  मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको हो। 

बेपत्ताहरूको खोज, उद्धार र घाइतेहरूको उपचार व्यवस्थापनका लागि १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रतर्फ आएका छन्।

भूकम्पबाट घाइतेहरूको उद्धारका लागि कर्णाली प्रदेश सरकारले जुटिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बताए।

१८ कात्तिक, २०८०, ०९:०४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।