४२ करोडको ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदार सांसद शाहीको पोस्टर रुखमा, भन्छन्- ‘फोटो टाँसेर फरक पर्दैन’

४२ करोडको ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदार सांसद शाहीको पोस्टर रुखमा, भन्छन्- ‘फोटो टाँसेर फरक पर्दैन’

सुर्खेत : मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्बागाढेसम्मको १३ किलोमिटर सडक नबनाएको भन्दै ठेकेदार समेत रहेका केन्द्रीय सांसद दिक्पालकुमार शाहीको रुखमा फोटा टाँसेर स्थानीयले  विरोध गरेका छन्।

सो सडक कालोपत्रे गर्न सांसद शाहीको कम्पनी अनक जयदेवी जेभीले पूर्वाधार विकास निर्देशनालय सुर्खेतसँग ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरे पनि काम भएको छैन।

२०७९ असार १४ मा भएको सम्झौता अनुसार २०८० असार १५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि सडकको भौतिक प्रगति जम्मा १३ प्रतिशत मात्रै छ।

स्थानीयहरूले सडक छेउमा सांसद शाहीको फोटासहितका पोस्टर टाँस्दै  ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ भन्दै प्रश्न गरेका छन्।

सांसद शाही २०७९ को प्रतिनिधि सभामा दैलेख २ बाट निर्वाचित भएका थिए। मदन भण्डारी राजमार्ग अन्तर्गतको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले २०७९ मा नै निर्माण गर्ने निर्णय गरेको थियो।

काम गर्दा ढिलो हुने भन्दै प्रदेश सरकारले जिम्मा लिएर अघिल्लो वर्षको असारमा तत्कालीन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले सडकमा जेसिभीले खनेर सडकको शुभारम्भ गरेका थिए।

पानी पर्दा हिलोले अनि घाम लाग्दा धुलोले पश्चिम सुर्खेतको यात्रा कठिन छ।

स्थानीय ठेकेदार शाहीसँग रुष्ट छन्। तर खुल्ला रूपमा विरोध गर्न सकेका छैनन्। अनि उनीहरूले भूमिगत विरोधको शैली अपनाउँदै ठाउँ-ठाउँमा उनको फोटो टाँसिदिए।

पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका नागरिकको यात्रा गर्ने एक मात्र सडक त्यही हो।  सडकको ट्र्याक खोलेको तीन दशक बढी भइसकेको छ। 

यो सडक सुदूरपश्चिमको कैलाली र डोटीदेखि अछामसँग प्रदेश राजधानी वीरेन्द्रनगरलाई जोड्ने सिधा राजमार्ग हो। अहिले बड्डीचौरदेखि खम्बागाडे र खम्बागाडे–बाबियाचौरसम्म सडक पूर्वाधार निर्देशनालय, विद्यापुर, गुटु, मायाताल, बिजौरा र बल्देसम्म सडक मदन भण्डारी राजमार्ग कार्यालयको कार्यक्षेत्रमा रहेको छ। यो सडकको अन्य खण्डमा भने धमाधम काम भइरहेको छ।

सांसद शाहीले राजनीतिको आडमा काममा बेवास्ता गरिएको पञ्चपुरी नगरपालिका–६ का जीवन ढुंगानाले बताए ।

‘उहाँ माननीय जस्तो व्यक्तिले जिम्मा लिएपछि त सडक पक्कै बन्छ भन्ने लागेको थियो। तर उहाँले राजनीतिको आडमा लापरबाही गरिरहनुभएको छ,’ढुंगानाले भने, ‘यही सडकमा पनि अरू ठाउँमा त राम्रै बाटो बनिरहेका छन्। विभिन्न बहानामा ढिलासुस्ती गरिरहेका शाहीले नैतिकताका आधारमा पनि काम गर्नुपर्छ।’

सडक बनाउनका लागि सांसद शाहीलाई बारम्बार ताकेता गरे पनि बेवास्ता गरिएको बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले बताए।

‘अहिले यो १३ किलोमिटर सडक खण्ड हाम्रै पालिकाभित्र पर्छ। छिटो बनाउन मैले बारम्बार उहाँ र उहाँका प्रतिनिधिलाई सम्पर्क गरे पनि काम भइरहेको छैन,’अध्यक्ष भण्डारीले भने, ‘सडकमा खाल्डाखुल्डी छन्। नागरिकले सास्ती भोगिरहेका छन्।’

'फोटो टाँस्दैमा केही फरक पर्दैन'

प्रतिनिधि सभा सदस्य एवं ठेकेदार कम्पनीका प्रोप्राइटर दिक्पाल शाहीले सडक नबन्नुमा पूर्वाधार निर्देशनालयको कमजोरी भएको दाबी गरे।

रुखमा आफ्नो फोटो टाँस्दैमा कुनै फरक नपर्ने उनको प्रतिक्रिया छ।

‘इआईए जस्ता कामहरू नभएका कारण सडक विस्तारमा ढिलाइ भएको हो। मेरो कम्पनीका कारणले सडक विस्तारमा समस्या भएको होइन,’सांसद शाहीले भने, ‘केही विरोधी तत्त्वले मेरो बदनाम गराउने उद्देश्यले गरेको यो कार्यले मलाई कुनै फरक पर्दैन।’

१२ कात्तिक, २०८०, २२:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।