३० वर्षदेखि चुनावी नारा बन्यो तर, सडक बनेन 

३० वर्षदेखि चुनावी नारा बन्यो तर, सडक बनेन 

सुर्खेत : हरेक पटकको चुनाव आउँदा विभिन्न पार्टीका उम्मेदवारहरूको घोषणा पत्रमा नछुट्ने कुरा हो बड्डीचौर–बेनीघाट सडक कालोपत्रे गर्ने। 

यो नारा पश्चिम सुर्खेतका लागि चुनाव जित्ने महत्त्वपूर्ण एजेन्डा हो। 

एजेन्डा बन्न थालेको ३० वर्ष बित्दा पनि सडकको अवस्था उस्तै छ। पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दा बिरामी पर्दा या अन्य विपदमा सदरमुकाम वीरेन्द्रनगरसम्म आउँदा सडककै कारण दुःख पाउने गरेका छन्। 

पञ्चपुरी नगरपालिका ६ का ६८ वर्षीय छविलाल कामीलाई अहिले पनि सम्झना छ, २०४८ को आम निर्वाचनको बेला भोट माग्दै आएका सबैजसो उम्मेदवारले ‘बड्डीचौरदेखि गुटु जोड्ने बाटो पक्की बनाउँछौँ, त्यसलाई डोटीसम्म जोड्छौँ’ भनेको।

उक्त चुनावमा दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेको सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ बाट १६ हजार २ सय ७४ मत प्राप्त गरी नेपाली कांग्रेसका शिवराज जोशी विजयी भए। त्यस लगत्तै २०४९ सालमा उनी यातायात सहायक मन्त्री समेत भए।

त्यति बेला छविलाललाई लाग्यो, ‘आफूले दिएको मत सदुपयोग हुने भयो, बड्डीचौर–गुटु सडक बन्ने भयो।’ तर, ३० वर्ष बितिसक्दा पनि उक्त सडकको अवस्थामा कुनै परिवर्तन आएको छैन।

सडक कालोपत्रे हुनु त परको कुरा सामान्य खाल्डाखुल्डी समेत अहिलेसम्म पुरिएका छैनन्। 

‘सडक बनाउँछौँ भनेर भोट माग्ने नेता नै यातायात मन्त्री भए, त्यसपछिका पनि सांसददेखि मन्त्री सम्म भए। तर, सडक जस्ताको त्यस्तै छ’ उनले भने, ‘केही कामले वीरेन्द्रनगर जाऊँ भने बाटोका कारण उल्टै बिरामी भइन्छ।’

यो सडकमा गाडी चढेर यात्रा गर्नु भनेको सुविधा भन्दा पनि सास्ती हुने गरेको उनको अनुभव छ।

उनै शिवराज जोशी त्यसपछि २०५१ र ५६ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए। जोशी २०५५ मा जनसङ्ख्या तथा वातावरण राज्यमन्त्री र २०५७ मा सूचना तथा सञ्चार राज्यमन्त्री समेत भए। तर, चुनाव अघि प्रतिबद्धता गरे अनुसार न सडक सुधार गर्न पहल गरे, न विधुतीकरणका लागि।

पटक पटक निर्वाचित भएर पनि आफ्नो क्षेत्रका लागि कुनै काम नगरेको भन्दै असन्तुष्ट बनेका मतदाताले २०६४ को संविधानसभा निर्वाचनमा भने जोशीलाई पराजित गराए।

कुरा जोशीको मात्रै होइन, तीन पटक निर्वाचित जोशी चौथो पटक पराजित हुँदा २०६४ मा नेकपा माओवादीका नरबहादुर विष्ट निर्वाचित भए। उनको चुनावी एजेन्डामा पनि सोही सडक कालोपत्रे प्राथमिकतामा थियो।

विष्टले आफू सांसद रहँदासम्म सडक कालोपत्रे गराउन सकेनन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए। 

२०७० मा विजयी नेपाली कांग्रेसका स्वर्गीय तप्तबहादुर विष्टको चुनावी नारामा पनि बड्डीचौर–गुटु सडक कालोपत्रे गर्ने योजना छुटेन। उनको कार्यकालमा विभिन्न ठाउँका नयाँ ट्र्याक, पुल र अन्य विकास निर्माण भए पनि यो सडक कालोपत्रे भएन।

२०७४ मा माओवादी र एमालेको चुनावी गठबन्धन थियो। एमालेबाट नवराज रावत सङ्घीय सांसदमा र माओवादीबाट बिन्दमान विष्ट कर्णाली प्रदेश सांसदमा विजयी भए। उनीहरूको संयुक्त घोषणा पत्रमा पनि बड्डीचौर–बेनीघाट सडक कालोपत्रे छुटेन।

देश सङ्घीय संरचनामा आइसकेपछि वडादेखि गाउँ–नगरसम्म जनप्रतिनिधि पनि आए।

तर, ४ वर्ष बितिसक्दा पनि सडकको न स्तरोन्नति गरियो, न कालोपत्रे। २०७६ भदौ २९ गते निवर्तमान स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट सडक खण्डको डिपिआरको उद्घाटन समेत गरे। तर काम अझै भएन।

ग्राभेल मात्र गरिएको उक्त सडकमा डोरी लगाएर गाडी तान्नुपर्ने, धकेल्नुपर्ने र ढुङ्गा हालेर पास गराउनु पर्दा यात्रु हैरान छन्। खोलामा पानीको बहाव बढ्दा घण्टौँसम्म कुर्नुपर्छ। अहिले त्यही सडक मदन भण्डारी राजमार्गमा परेको छ।

बड्डीचौरदेखि लगामसम्म ९४ किलोमिटर रहेको यो खण्डमा ५० मिटर चौडा सडक बनाउने भनिएको छ। सडकको अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कन समेत भएको छैन। राजमार्गमा परे पनि सडक सुधार–विस्तारको कामले गति लिन नसकेकोमा स्थानीय दिक्क छन्।

यो खण्ड पश्चिम सुर्खेतलाई जोड्ने प्रमुख सडक भएर पनि सधैँ बेवास्ताको सिकार हुँदै आएको छ। डोटी, अछाम र कैलालीसहित पश्चिम सुर्खेतलाई राजधानी वीरेन्द्रनगरसँग जोड्ने प्रमुख मानिएको यो सडक वर्षौं देखि स्तरोन्नतिको पर्खाइमा छ। 

सडक घाम लागे धूलाम्मे र पानी परे हिलाम्य हुन्छ । हिउँदमा गाडी चले पनि वर्षा याममा भने यातायातका साधन जानै सक्दैनन्।

पश्चिम सुर्खेतका तीन वटा स्थानीय तहका नागरिकले आफ्नो जीवनस्तर उकास्ने पूर्वाधारको रूपमा लिएको उक्त सडक ३० वर्षदेखि केवल चुनावी नारा मात्रै बन्दै आएको छ। सडकको नाममा हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि केही खाल्डाखुल्डी पुर्दैमा र डिपिआर गर्दैमा बजेट सकिने गरेको चौकुने गाउँपालिकाका शेरबहादुर विकले बताए।

‘न सरकारी निकायले यो सडकलाई हे¥यो न यहाँका जनप्रतिनिधिले केही गरे’, विकले भने, ‘यो सडक चुनावी नारा मात्रै बन्ने गरेको छ। खाली नेताहरूको भजाई खाने भाँडो भएको छ यो सडक।’

पश्चिम सुर्खेतका कुनाथरी, तरंगा, पोखरीकाँडा, सालकोट, बाबियाचौर, विद्यापुर, तातापानी, घाटगाउँ, गुटु, छाप्रे, विजौरा, लगाम र बेतान लगायतका थुप्रै गाउँलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई जोड्ने  यो मुख्य सडक हो।

पश्चिमका नागरिकलाई सडकको दुःख त छँदै छ स्वास्थ्य, शिक्षा, सञ्चार, खानेपानी र बिजुलीजस्ता अन्य सुविधाको हालत पनि उस्तै छ।

नेपाल सरकारका निवर्तमान स्वास्थ्य राज्यमन्त्री नवराज रावत, हाल कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्री, कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती विष्ट र प्रदेश सभा सदस्य बिन्दमान विष्ट पश्चिम सुर्खेतबाटै प्रतिनिधित्व गर्छन्।

 

२० भदौ, २०७८, १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।