रानी ऐश्वर्यको शव जलाउँदा चितामा पाएको नीर बेचेकोमा अझै पछुतो मान्छन् रामशरण, द्वन्द्वकालमा मारिएका माओवादीको शव जलाउन आउँथे महरा

रानी ऐश्वर्यको शव जलाउँदा चितामा पाएको नीर बेचेकोमा अझै पछुतो मान्छन् रामशरण, द्वन्द्वकालमा मारिएका माओवादीको शव जलाउन आउँथे महरा

२०५८ साल जेठ २० गते। राति किन यति धेरै हेलिकप्टर उड्यो भनेर सोच्दा सोच्दै सबेरै रामशरण बानियाले राजदरबार हत्याकाण्डको खबर सुने।

उनको स्मृतिमा जय नेपाल हलमा फिल्म हेर्न जाँदा बाटोमा गाडीबाटै तत्कालीन राजा वीरेन्द्र शाहलाई देखेको झल्झली याद आयो। चारैतिर सन्नाटा छाएको बेला उनलाई अफिसबाट फोन आयो, ‘अब तयार भएर बस्नू। तिमीहरूको काम आउँदैछ।’

सदा झैँ आफ्नो कामको लागि तयार भएर पशुपतिको आर्यघाट पुगे। त्यहाँ कडा सुरक्षा र मान्छेहरूको हुल जम्मा भइसकेको थियो। एकै छिनमा लस्करै चारवटा शव ल्याइयो।

‘त्यो बेला यति धेरै मान्छे थिए कि हामी नै भित्र छिर्न सकिरहेका थिएनौँ। पूरै पुष्प गुच्छाले शव ढाकेको थियो। उहाँहरूको अनुहार त हामीले पनि हेर्न पाएनौँ,’  रामशरणले त्यसबेलाको घटना सम्झँदै भने, ‘चार जना एकै चोटी जलाएको। १ नम्बर चितामा शान्ति शाह। निराजनलाई २ नम्बरमा। श्री पाँच सरकारलाई बीचमा अनि बडा महारानीलाई उहाँकै साइडमा।’

दाह संस्कारको लागि भनेर नेपाली घ्यू, चन्दन अनि श्रीखण्डहरू कौसीखानाबाट ल्याइएको थियो। सबै खर्च कौसीखानाको ढुकुटी विभागले बेहोर्ने गर्थे। धेरैले त्यसबेला राजपरिवारको दाह संस्कार गर्नेहरू लखपति भयो भन्नेसम्म कुरा गर्न भ्याए। किन भने हत्याकाण्ड शुक्रबार भएको थियो।

‘केहि पनि नहेर, केहि पनि खोतल्ने काम नगर’
शुक्रबारको जमघटमा दरबारको सबै परिवार चमकधमकका साथ सजिएर, गहना लगाएर बसेका थिए। सबै मारिए पनि पोस्टमार्टम गरिएको थिएन। मृत्युपछि रगतमा लत्पतिएको शव जस्ताको तस्तै ल्याएको थियो।

शव जलाउने पालो परेका रामशरणलाई पहिला नै दरबारका मान्छे आएर ‘केहि पनि नहेर, केहि पनि खोतल्ने काम नगर’ भनेका थिए। 

उनले भने, ‘त्यो बेला सबै माला नै माला लगाएको। मुहारमा पनि अलिकति चन्दन लगाएर बत्ति दिने बेलामा ओठ मात्र देखिएको थियो। अगाडिनै दरबारको मान्छेले केहि पनि नगर भनेपछि हामीले हेर्ने कुरा भएन। त्यहाँ धेरै आर्मी, प्रहरीहरु पनि थिए।’

पाँच वटा शव ल्याएकोमा तल दुई जना र माथि तीन जनाको शव जलाइएको थियो। पार्थिव शरीर खरानी भयो। पछि त्यहाँ पखालेर सफा गर्ने क्रममा भने वीरेन्द्रको शवबाट दुईटा र अरु सबैको शवबाट एउटा/एउटा असर्फी भेटे। तर, रानी ऐश्वर्यको शवबाट  दुईटा औंठी र एउटा सानो क्लिप पनि भेटे। क्लिपमा हरियो नीर पनि जडित थियो।

‘क्लिपमा हरियो नीर चम्किरहेको थियो। त्यत्रो हजारौँ किलो श्रीखण्डको दाउरामा पनि जलेन त्यो। साथीभाई त्यस्तै त्यस्तै थिए। मैले नबेचौँ नीर भएको क्लिप चैँ राखिराखौँ भनेँ। उनीहरूले मान्दै मानेनन्। तुरुन्तै बेचिहाल्ने भने।’

आठ जना टोलीमा सबैले बेच्ने नै निर्णय गरे। त्यो नीर किन्छु भन्दा पनि साथीहरूले नदिएको उनले बताए। दरबारबाटै माग्न आए पनि सुन किन्ने बाँडाले भन्दा अलि धेरै नै पैसा देला भन्ने पनि सोचेका रहेछन्

तर, उनको साथीहरूले  बेचेर आएको पैसा भाग लगाउने निर्णय गरे। त्यो नीर सहितको क्लिप उनीहरूले बाँडालाई बेच्दादुई हजार रूपैयाँ आयो। आठ जनालाई भाग लगाउँदा एक जनाको भागमा दुई सय पचास रुपैयाँ पर्यो।

‘साथीहरूसँग कस्तो कुरा नमिल्ने के! म आफैँले दुई हजार दिन्छु भन्दा पनि नमानेको। पछि सबैले दुई सय पचास लिएर बस्नुपर्यो। आखिरमा त्यो नीर पनि अहिले छाउनीको संग्रहालयमा छ रे। त्यो बाँडालाई पछि भेटेर सोध्दा छाउनीबाट आएर लगेर गएको रे भन्थ्यो,’ उनले भने।

त्यसबेला पशुपति विकास कोषले दिएको ज्यालाबाहेक उनीहरूले बक्सिस स्वरूप एक हजार रूपैयाँ  पाएका रहेछन्। त्यसबेला दाह संस्कार गर्ने पण्डितहरूलाई दरबारबाट पैसा र मेडल आएको भन्ने सुने पनि उनले भने पाएनछन्। 

OOO

१४ वर्षको उमेरदेखि रामशरणले पशुपतिमै काम गर्न थाले। शव जलाउनुअघि उनले दुई वर्ष त्यहीँ दाउरा बोक्ने काम गरेका थिए। वनकाली गणेशथानबाट दाउरा बोकेर उनी चितासम्म पुर्याउने र चितामा दाउरा मिलाएर राख्ने काम गर्थे।

शव जलिसकेपछि सरसफाई गरेर परिवार फर्किएपछि मात्र ठेकेदारले २० रूपैयाँ दिने गरेको उनी सम्झन्छन्। शवदाह क्षेत्र अव्यवस्थित हुँदा ठेकेदारहरूले लास खोसाखोस गरेको पनि उनले देखे। 

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा गोबिन्द टन्डन आएपछि शवदाह क्षेत्र व्यवस्थित भएको उनले सम्झिए।

‘उहाँले हामी जस्तो काम गर्नेहरूको लागि कार्ड बनाइदिनुभयो। को कता बस्ने, कसले/कहिले गर्ने भनेर राख्नुभयो । जसले पायो त्यसलाई बस्न नमिल्ने भयो’, उनले सुनाए।

०५४ सालदेखि त्यहाँको कर्मचारीहरूले व्यवस्थित रूपमा एउटा शव जलाएको पाँच सय पाउन थाले। त्यसभन्दा अघिसम्म भने सय/डेढ सय मात्र पाउने गर्थे। त्यहि पनि अन्तिमसम्म बसेन भने ठेकेदारले नै पैसा लिनेको गरेको उनले बताए।

उनका अनुसार त्यस अघिसम्म दाह संस्कार गर्नेहरूले नै छालाको जुत्ता, छालाको ज्याकेट लाएर आउने गर्थे। व्यवस्थित भएपछि धेरै जना तितरबितर भए। शव जलाउनेहरू जम्मा १५ जना थिए अनि दाउरा बोक्ने नौ जना जति बाँकी भए। अहिले भने कोषले एउटा शव जलाए बापत १५ सय रूपैयाँ दिने गरेको छ। उनीहरूको लागि नागरिक लगानी कोषको पनि व्यवस्था गरिएको छ।

रामशरणको आमा पशुपतिमा फूल बेच्ने गर्थिन्। घाट नजिकै बत्सल्यश्वरी मन्दिरमा सानो डालोभरी फूल राखेर उनको आमाले व्यापार गर्थिन्। बुवाले अर्की आमा ल्याएपछि रामशरणकी आमा पुर्ख्यौली थलो काभ्रेको चण्डेश्वरी छाडेर काठमाडौं आएकी थिइन्।

सुरूमा उनी आएनन्। दुई/तीन वर्षपछि रामशरण पनि काठमाडौं आएर आमासँगै बस्न थाले। त्यसै बेलादेखि हो उनले दाउरा बोक्ने काम गरेको। साथीहरूसँग दाउरा खोज्न जाने,घाट जाने। यत्तिकैमा उनको बाल्यकाल बित्यो।

त्यसबेला जाडो छल्न उनी जलिरहेको चिताको अगाडि आगो ताप्न जान्थे। हेर्दा हेर्दै काम पनि जाने अनि शव जलाउने ‘पण्डित’ बने। उनको आमालाई दमको रोग थियो। धेरै जसो बिरामी नै भइराख्थिन्। ०५१ सालमा आमा बितिन्।

माओवादीले शव जलाउन लैजाँदा...
आमा बिते पनि उनको लागि केटी हेरेर राखेकी रहिछन्। पछि आमाले हेरेकै केटीसँग उनको विवाह  भयो। उनीहरूको दुई जना छोरी छन्। एउटा अमेरिका पुगिसकिन्। अर्को भने ११ मा पढ्दै छिन्। श्रीमति चाहिँ अहिले पनि पशुपतिमा फूल व्यापार गर्छिन्।

केहि वर्षअघि उनको बा पनि बितिसके। माओवादी आन्दोलन, भूकम्प र कोरोनाको समयमा पनि उनलाई भ्याइनभ्याइ भयो। आन्दोलनमा आर्मीहरू मर्दा धेरै कामदारहरू पनि थिएनन्।

माओवादीहरुले पनि लुकाएर शव ल्याउँथे पशुपतिमा घरमै माओवादी बन्दुकसहित आएर दाहसंस्कार गर्न तानेर लान्थे रे।

‘जनयुद्धमा त हेरिनसक्नु थियो। धेरै नै गाह्रो। ज्याला दिँदै दिँदैनथ्यो। जलाएपछि माओवादीहरु खुरू-खुरू हिँड्थे। बन्दुक देखाएर घरमा लिन आउँथे। लास ल्याउने, दाउरा ल्याउने घप्ल्याक्घुप्लुक हाल्ने, परालले छोप्ने जलाउने। कसैको हात छैन, कसैको गर्धन काटेको, टाउको फुटेको, पूरै सुन्निएकोहरू पनि थियो’, उनले एकै पटकमा भने। त्यसरी मारिएकाहरूको आफन्तहरू आउने कुरा भएन। जलाएर सब बाटो लाग्थे।

‘सुन्नेको, भाँच्चेको, किरा परेको शवहरू जलाएँ त्यसबेला। केहि शव त प्लास्टिकले बेरिएको हुन्थ्यो। त्यो नखोली त्यत्तिकै जलाएँ।’

पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई उनले पशुपतीमै देखेका रहेछन् द्वन्द्वकालमै। उनी पनि मारिएका माओवादीको शव जलाउन आएका थिए।

‘पहिला त माओवादी भनेको कस्तो हुन्थ्यो भन्ने पनि थियो  सबै जना डराउँथ्यो। कृष्णबहादुर महरालाई पहिलो पटक त्यहि बेला देखेको मैले। खै को पो जलाउने बेला आएका थिए। सबले यहि हो कृष्णबहादुर महरा  भन्थे।  ए यस्तो पो रहेछ भन्ने भयो। डर त लागेन’, उनले हाँस्दै भने।

नगरकोटमा भएको एक मेलामा सेनाले गोली चलाउँदा सर्वसाधारणहरु मारिए। त्यहाँ मारिएकाहरुको पनि उनैले दाह संस्कार गरे। 

उनी पशुपति नजिकै बस्छन्। नजिकै बसेकाले काम गरेको बेला उनी घाटमा पुगिहाल्छन्। अब दशैंमा सबै साथीहरू घर जाँदा उनी  यतै काम गरेर बस्छन्। कसैले अफ्ट्यारो परेको भनेको बेला पनि उनी तुरुन्त तयार हुन्छन्।

उनले एकै दिनमा ११ वटासम्म शव जलाएका रहेछन्। एउटा पूरै शव जल्न साढे दुई घण्टादेखि तीन घण्टासम्म लाग्छ रे। 

‘भूकम्पमा किरै परेको शव जलाएँ’
भूकम्पमा पनि उनले धेरै काम गरे। त्यस समयमा कति वटा शव जलायो भनेर त उनले गन्न पनि सकेनन्। दाउरा सरकारले नै दिएको कारण खुरुखुरु जलाउने मात्र काम गरे।

‘भुइँचालो आएपछि सुनसान भयो। एकछिन पछि शवको चाङ लाग्यो। जलाउने ठाउँ नभएर खोलातिर पनि सबै चिता बनायौँ। राम मन्दिरको भकारीमा समेत जलाइयो’, उनले भने।

‘त्यो बेलामा पनि कोहि थिचिएको, कोहि भाचिएको, बिग्रिएको, गन्हाएको, किरै परेको समेत शव आए। सिन्धुपाल्चोकदेखि ल्याएको थियो। गनेर साध्य नै थिएन शव त। आएको आयै छ। लाइन नै लाइन छ। कति गर्यो गर्यो। धरहरामा मरेको एकै परिवारको सात जना पनि सँगै जलाएको। आफन्त आए पनि उनीहरूनै डराउने। आगो लगाउने बित्तिकै गइहाल्थे। त्यस्तो अवस्थामा पैसा ल्याउ भन्न पनि नमिल्ने।’

कोभिडको समयमा खाना खर्च भनेर उनीहरूलाई कोषले नै खानाको व्यवस्था गरेको थियो। अनि सात सय रूपैयाँ भत्ता पनि दिएको थियो। धेरैलाई काम गर्दा-गर्दै पनि कोभिड भयो। तर, उनलाई भने केही भएनछ।

पीपीई लगाएर उनले खुरुखुरु काम गरिराखे। त्यसबेला पनि कति वटा जलाइयो भनेर उनले गनेनन्।

भुईँमान्छेका कथाहरु

२९ असोज, २०८०, १७:५४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।