रुपकको पशुपक्षी प्रेम : कुकुर, चिल र काग नै मेरा परिवार

रुपकको पशुपक्षी प्रेम : कुकुर, चिल र काग नै मेरा परिवार

प्रेम भन्ने वित्तिकै स्नेह, दया, करुणा, अनुराग यस्तै-यस्तै भाव आउँछ। तर प्रेम केहो भन्ने प्रश्नको उत्तर भने व्यक्तिपिच्छे फरक-फरक हुन्छ।

काठमाडौं असन छेउको बाङगेमुढामा जन्मिएका रुपक दर्शनलाई प्रेम के हो भनेर सोध्ने हो भने उनको उत्तर हुन्छ- पशुपक्षीको स्याहार।

शुद्ध आत्मा पशुपक्षीसँग छ भन्ने विश्वास छ रुपकलाई। उनी सडकमा निस्किन्छिन् र सधैं जनावर तथा पक्षीलाई खानेकुरा खुवाउँछन्। उनी दैनिक ६० किलोभन्दा बढी मासु, फलफूल, मिठाइ, बिस्कुट लगायतका खानेकुरा काग, गिद्ध र कुकुरलाई खुवाउँछन्। 

अविवाहित रहेका रुपक जनावर तथा पशुपक्षीलाई आफ्नै सन्तान जस्तो ठान्छन्। बोल्न नसक्ने पशुपक्षीलाई खुवाएपछि पुण्य कमाइन्छ भन्ने विश्वास बोकेका रुपकलाई धर्म कमाउन मन्दिर धाइरहनु पर्दैन जस्तो लाग्छ।

‘म बेरोजगार हुँ। दैनिक ६० किलोभन्दा बढी मासु जान्छ। फलफूल र कुखुराको कलेजो कागले मिठो मान्छ। मिठाइ कुकुर तथा कागले स्वादले खान्छन्,’ रुपक भन्छन्, ‘तर के गर्नु, आफूसँग यिनीहरुलाई मिठो खानेकुरा खुवाउन सधैं पैसा हुँदैन। आफ्नो फाइदा नदेखी कसैले सहयोग गर्दैन।’

कतिपयले रुपकलाई आफ्नो स्वार्थका लागि पशुपक्षीलाई खाना खुवाएको नाटक गरेको पनि भन्ने रहेछन्। कमाइ खाने बाटो बनाएको आरोप लगाउने रहेछन्। निःस्वार्थ काम गर्दागर्दै पनि यस्ता लान्छाना खप्नुपर्दा भने उनलाई दिक्क लाग्ने रहेछ। 

तर, काग, चिल र कुकुर रुपकलाई नदेख्दा कोलाहाल मच्चाउँछन्। कुनै दिन रुपक आउन सकेनन् भने उनले खाना खुवाउने ठाउँ आसपास नै झुमिरहन्छन्। त्यसैले जस्तोसुकै असहज अवस्थामा पनि रुपक ती पशुपक्षीको माया सम्झेर सकेसम्म खाना खुवाउन आइपुग्छन्।

‘पालो सिस्टमले खुवाउने गरेको छु। बालाजुबाट सुरु भएर विष्णुमतीको किनारै–किनार हिँड्छु। स्वयम्भू, कालिमाटी, कलंकी, बल्खु, हनुमानढोका, चमती, जमल, लगायत धेरै ठाउँमा जनावर र पशुपक्षीलाई खाना खुवाउँछु,’ उनी भन्छन्, ‘एक ठाउँमा खुवाउन तीनदेखि पाँच घण्टा लाग्छ। रातको सयममा मान्छे हुँदैनन्। कुकुरले आरामले खान पाउँछन्। साँझको समयमा बास बस्नुअघि चिल र कागले खान्छन्।’

रुपकलाई पशुपक्षीको खाना बोकेर हिँड्न पनि सजिलो छैन। बेला–बखत प्रहरीले खाना बोक्न सहयोग गर्छन्। सधैं प्रहरीको उपस्थिति सम्भव हँुदैन। त्यतिबेला भने नलाई खाना बोकेर हिँड्न निकै गाह्रो पर्छ। सडकमा यसरी जनावर तथा पक्षीलाई खाना खुवाउँदै हिँडेको देखेर कतिपय मान्छेले घिन समेत मान्ने गरेको उनले सुनाए।

‘शारीरिक रुपमा कमजोर छु। पशुपक्षीको खाना बोक्न सहज हुँदैन,’ उनको दुखेसो छ, ‘सडक छेउबाट पशुपक्षीलाई खुवाउँदा मान्छेले थुक्दै हिँड्छन्। हेला गर्छन्। गन्हायो भनेर नाक छोप्छन्।’

दाताले दुई वर्षअघि स्वास्थ्य उपचारका लागि दिएको पैसाले पशुपक्षीलाई खुवाउँदै आएको रुपकले बताए। 

‘कोरोनाले मेरो व्यापार बन्द भयो। बिरामी पनि परें। केही युट्युबरले मलाई पाँच लाख रुपैयाँ उपचारका लागि दिएका थिए। त्यही पैसाले लकडाउनदेखि अहिलेसम्म धानिएको छ। अब त्यो पैसा सकिन लाग्यो कसरी खुवाउने हो?,’ रुपक चिन्तामा छन्।

कोरोना सुरु हुनुभन्दा अघि हनुमानढोका परिसरमा रुपकको पसल थियो।

०००
५१ वर्षीय रुपकले २०५१ सालमा आइकम गरे। तर पारिवारिक किचलोले उनलाई पढ्ने माहोल दिएन। उनका बाबु–आमाका ८ सन्तान थिए। धेरै सन्तान भएको कारण रुपकलाई बालखैमा फुपुले पाल्न लगिन्। रुपक १२ वर्षको हुँदा फुपु बितिन्। त्यसपछि घरका साइला छोरा उनी आफ्नै घर फर्किए। 

‘एक्लै फुपुको माया पाइरहेको मान्छे घरमा धेरै सन्तान। म त घरमा बस्नै सकिनँ। हेला भएँ कि जस्तो लाग्ने। बानी नै थिएन, धेरै जनासँग बस्ने,’ रुपक सुनाउँछन्, ‘फुपु बितिहालिन्। जाने ठाउँ कतै थिएन। घरमा मलाई बस्न नैै मन नहुने भयो। त्यसपछि म धेरैजसो सडकतिरै सुत्न थालें। दिनमा चाहिँ घरै जान्थें।’

उनले सडकमा धेरै रात बिताए। सडकमा भोकलाई नजिकबाट देखेका रुपकलाई फुपुले दिएको शिक्षाले बिझाइरहन्थ्यो।

फुपु भन्थिन्, ‘भोकलाई भोजन दिनु, अशक्तलाई सहयोग दिनु। मनमा लोभ नराख्नु। कसैको कुभलो सोच्दै नसोच्नु।’

रुपकले फुपुको भनाइ बिर्सिएनन्। सडकमा रहँदा पनि उनी आफ्नो खाना पशुपक्षीलाई बाँडेर खान्थे रे। सबैको भलो चाहँदाचाहँदै उनीमाथि भने कुभलो हुने काम पनि भयो रे सडकबाटै।

सडकमै रहँदा आफूमाथि यौन हिंसा समेत भएको रुपक बताउँछन्। ‘म ती घटना सम्झिन चाहन्नँ। सडकमा भोगेको हिंसाकै कारण कहिल्यै निको नहुने यौन रोगको सिकार भएको छु।’

०००
‘जेनतेन २०५० सालमा पब्लिक युथ क्याम्पसबाट आइकम गरें। पानी कारखानामा जागिर पनि खाएँ। त्यसबेला तीन हजार तलब थियो,’ रुपक भन्छन्, ‘त्यसपछि म छुट्टै कोठा लिएर बसें। तर मासिक दुई हजार परिवारलाई दिनुपथ्र्यो।’

रुपकको कमाइले परिवारलाई खुसी बनाउन सकेन। परिवारको माग बढी नै हुन थाल्यो। रुपकले काम छाडे।

बचेको पैसाले रुपक केही महिना त कोठामा रहें। पशुपक्षीलाई खुवाए पनि तर धेरै टिक्न सकेनन्। काम पनि मिलिहालेन। भाडा तीर्न नसकेर कोठा छाड्नुपर्ने भयो। घरमा फर्किएर जान सक्ने अवस्थामा पनि थिएनन्। घर आफैंमा ऋणमा डुबेको थियो। 

रुपकका जेठा दाइले २०४७ सालमा जापान जान घर राखेर ऋण लिएका थिए। उनी जापान गएर बेपत्ता भए। सम्पर्कमा नै आएनन्। त्यो घर पनि साहुको कब्जामा गयो। रुपकको परिवार दिदीको घरमा आश्रय लिन पुग्यो।

रुपकलाई दिदीको ताहाचलस्थित घरमा जान मन भएन। उनी सडकमा नै अल्झिए। त्यस बेला पनि आफूमाथि यौन हिंसा भएको उनी सुनाउँछन्।

‘म सडक–पाटीमा नै बस्न थालें। एक जना चिनेकै भाइले मलाई पत्रिका बेच्ने काम लगाइदिए,’ उनी भन्छन्, ‘सडकमा एक्लै हुँदा  कुकुरहरु साथी हुन्थे। मेरो फुपुले दिएको संस्कारले पनि ममा गहिरो प्रभाव रह्यो। उहाँ स्वाभिमानी हुनुपर्छ भन्नुहुन्थ्यो। त्यसैले म घर फर्कन सकिनँ। पत्रिका बेच्न थालें।’

उनी अपराह्न, सन्ध्याकालीन्, महानगर, खोजतलास लागायत दिउँसो निस्कने पत्रिकाहरु बेच्थे।

पत्रिकाको व्यापारले रुपकको कमाइ बढ्न थाल्यो। हप्तामा एक दिन परिवारलाई कासेली लिएर जान थाले। परिवार पनि खुसी नै भयो।  यता मैका पारेर पशुपक्षीलाई खुवाउने काम त उनको चलिनै रहेको थियो।

विस्तारै सञ्चार माध्यमहरु बढ्न थाले। दिवा पत्रिकाहरु बन्द भए। पत्रिकाको स्थान एफएमहरुले लिए। 

पत्रिका बेचिरहँदा उनले कतिपय क्यासेट पसलेसँग पैसाको सट्टा चलचित्रका सिडी–चक्काहरु पनि लिने गर्दारहेछन्। पत्रिका बन्द भएपछि उनी तिनै सिडी–चक्काहरु बेच्न थाले हनुमान ढोकामा। यो क्रम कोरोना अघिसम्म जारी रह्यो।

‘भूकम्प पनि गयो। मसँग त यसै केही थिएन। सबै तहसनहस भयो। मान्छेले पशुपक्षीलाई ध्यान नै दिएनन्,’ रुपक भन्छन्, ‘पहिले पो खोला हुन्थे। खोलामा माछा हुन्थे। किरा–फट्याङ्ग्रा हुन्थे। अब ती सबै मासिए। मान्छेले पनि ख्याल नगरेपछि पशुपक्षी भोकमा परे भन्ने लाग्यो। त्यसपछि मैले दैनिक सकेजति खुवाउन थालें।’

विस्तारै कुकुर, काग र चिलहरुको भीड बढ्दै गयो। चिललाई कुखुराको पखेटा, कागलाई कलेजो, कुकुरलाई पकाएको मासु र बिस्कुट, अवसर मिले फलफूल र मिठाइ। यसरी नै चलिरह्यो रुपकको जीवन भूकम्पपछि। राजधानीका सडकमा उनी रातको तीन बजेसम्म नियमित ती पशुपक्षीलाई खुवाउँदै हिँडेको ६ वर्ष भयो।

हनुमान ढोकामा बस्दा विस्तारै रुपकको कमाइ बढ्दै गयो। उनी कमाइको धेरै हिस्सा पशुपक्षीका लागि खर्च गर्थे। विस्तारै उनले पशुपक्षीलाई खाना खुवाउने स्थानको दायरा बढाउँदै लगे।

‘सडकमा स–साना कुकुरका छाउरा छन्। तिनीहरु भोकै हुन्छन्। डुलेर पनि खुवाउन थालें। घरमा पनि दुई वटा कुकुर पालेको छु,’ उनी भन्छन्, ‘कोरोनापछि त म यही पशुपक्षीलाई खुवाउने काममा मात्र छु।’

०००
बालाजुको पुलमाथि उभिएर कुकुर, काग र चिललाई खाना खुवाउँदै छन् रुपक। उनले आकाशतिर मासु फाले। चिलले मासु समात्यो।

‘कमाउन सकुन्जेल म परिवारको प्यारो भएँ। अहिले कमाउन नसक्दा सबैको घाँडो भएको छु,’ उनी भन्छन्, ‘काग, चिल र कुकुरहरुलाई खाना खुवाउँदा सबै पीडा भुल्छु। यिनीहरु नै मेरो परिवार हुन् जस्तो लाग्छ।’

फागुन २, २०७८ सोमबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।