त्रिशूलीमा हाम फालेका भनिएका इन्भेष्टमेण्टका म्यानेजरको सुसाइड नोटको हल्लाले प्रहरी हैरान

त्रिशूलीमा हाम फालेका भनिएका इन्भेष्टमेण्टका म्यानेजरको सुसाइड नोटको हल्लाले प्रहरी हैरान

काठमाडौँ : त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका भनिएका नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क हेटौँडा शाखाका प्रमुख नीराजन देवकोटाको नक्कली सुसाइड नोटले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी हैरान देखिए। 

गजुरीको घाटबेशीमा उनको मोटरसाइकल फेला परेको र त्यहीबाट एक पुरुष नदीमा हाम फालेको प्रत्यक्षदर्शीको जानकारीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोर लगाएर खोजी गरिरहेको छ। तर शव फेला परेको छैन।

खोलामा माछा मारिरहेका माझीले एक व्यक्ति खोलामा हाम फालेको र तलसम्म बग्दै गएको सूचना दिएको आधारमा प्रहरीले बिहीबार पनि उनको खोजी गरिरहेको छ।

बुधवारै उनको सुसाइड नोट फेला परेको र त्यसमा बैङ्कको केन्द्रका केही उच्च अधिकारीहरूले टर्चर दिएको उल्लेख गरिएको दाबी आएका थिए।

तर यो घटनाबारे अनुसन्धान गरिरहेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले अहिलेसम्म उनको सुसाइड नोटबारे प्रहरीलाई केही जानकारी नभएको उकेरालाई जानकारी दिए।

'हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ। परिवार वा अन्य कसैले सुसाइड नोटबारे प्रहरीलाई जानकारी दिएका छैनन्,' एसपी मिश्रले भने' सुसाइड नोट फेला परेको भए त प्रहरीलाई जानकारी दिनुपर्ने हो।'

मेगा बैङ्कमा कार्यरत देवकोटा इन्भेस्टमेन्ट र मेगाविच मर्जर भएपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कको हेटौँडामा रहेको शाखाको प्रमुख भएका थिए। मेगा बैङ्कको शाखा प्रमुख भएको बेलामा शाखाबाट जारी भएका ऋण र उनको व्यक्तिगत आर्थिक कारोबार शङ्कास्पद देखिएको भन्दै बैङ्कले छानबिन गरिरहेकै बेलामा एकाएक उनी त्रिशूलीमा हाम फालेको सूचना बाहिरिएको थियो।

केन्द्रीय बैङ्कले अनुसन्धान सुरु गरिरहेकै बेलामा उनले दिएको राजीनामा स्वीकृत नभएपछि उनी तनावमा रहेको हेटौँडा शाखाका एक कर्मचारीले उकेरालाई जानकारी दिएका छन्।

प्रहरीले देवकोटाको खोजीसँगै घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ। देवकोटाको परिवार एमाले हेटौँडामा सक्रिय एमालेका उच्चतहका नेताहरूसँग निकट छन्। देवकोटा हराएपछि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल धादिङको घटनास्थलमा पुगेर जानकारी लिएका थिए।

यता बैङ्कको केन्द्रका अधिकारीहरू भने यो घटनाबारे मौन छन्। बैङ्कले घटनाबारे आफ्नो भनाई सार्वजनिक गरेको छैन। जिम्मेवार अधिकारी पनि मौन छन्।

१८ असोज, २०८०, १६:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।