इन्भेष्टमेण्ट बैङ्क हेटौँडा शाखा प्रमुख देवकोटाले त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको शङ्का, केन्द्र मौन

इन्भेष्टमेण्ट बैङ्क हेटौँडा शाखा प्रमुख देवकोटाले त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको शङ्का, केन्द्र मौन

काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क हेटौँडा शाखाका प्रमुख नीराजन देवकोटा गजुरीको घाटबेशीबाट त्रिशूली नदीमा हाम फालेको शङ्कामा गोताखोरसहितको समूहले शव खोजिरहेका छन् तर फेला परेको छैन।

खोलामा माछा मारिरहेका माझीले एक व्यक्ति खोलामा हाम फालेको र तलसम्म बग्दै गएको सूचना दिएको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबारबाट खोजी गरिरहेको छ।

बुधवारबाट सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा गोताखोरको समूह नै परिचालन गरेको थियो। तर शव फेला परेको छैन।

जहाँबाट एक पुरुष त्रिशूली खोलामा हाम फालेको भनिएको हो त्यहाँ देवकोटाले चढ्ने प्रदेश नम्बर ३-००५-क- ४१७६ नम्बरको मोटरसाइकल, हेलमेट र चप्पल फेला परेको छ।

प्रत्यक्षदर्शी माझी र मोटरसाइकलको आधारमा खोलामा हामफाल्ने व्यक्ति देवकोटा हुनसक्ने देखिएको तर पुष्टि भई नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले उकेरालाई बताए।

'एक व्यक्ति खोलामा हाम फालेर तलसम्म बग्दै गएको स्थानीय माझीले देखेका रहेछन्। उनी एक्लै भएकाले केही गर्न सकेनन्' उनले भने' मोटरसाइकलका आधारमा  नीराजन देवकोटा हुनसक्ने देखिएको छ। तर शव फेला नपरी कसले आत्महत्या गरेको हो भन्न सकिन्न।'

घटनाबारे जानकारी आउँदा अँध्यारो भइसकेकाले खोज्न नसकिएको र बुधवार बिहानैबाट गोताखोरसहितको समूहले खोजी गरे पनि फेला नपरेको मिश्रले बताए।

पानी पर्दा त्रिशूली नदीको पानीको सतह बढेको छ भने पानी पनि धमिलो भएको छ। पानीको धार तिब्रहुँदा समेत खोज्न समस्या भइरहेको र प्रहरी निरीक्षकसहित तालिमप्राप्त गोताखोरको समूह परिचालित भइसकेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए।

केन्द्रले अनुसन्धान थालेपछि तनावमा थिए देवकोटा

देवकोटा मेगा बैंकको हेटौँडा शाखा प्रमुख थिए। नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा मर्जर भएपछि उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा प्रमुख भएका थिए।

पछिल्लो समय शाखाबाट जारी भएको केही ऋणको प्रक्रिया शङ्कास्पद भएको भन्दै केन्द्रले छानबिन सुरु गरेको थियो। उनको आर्थिक गतिविधीबारे बैंकको केन्द्रले अनुसन्धान गरिरहेको थियो। 

यहीबिचमा देवकोटाले बैङ्कबाट राजीनामा दिए। तर अनुसन्धानको चरणमा रहेको विषय नटुङ्गिई राजीनामा स्वीकृत नहुने भन्दै केन्द्रले उनको राजीनामा पेन्डिङमा राखेको थियो।

बैङ्कले राजीनामा स्वीकृत नगरी आफूमाथि अनुसन्धान गरेर मानसिक तनाव दिएको भन्दै उनले आफ्ना केही सहकर्मीहरूसँग असन्तुष्टि जनाएको शाखाका एक कर्मचारीले उकेरालाई जानकारी दिए।

पछिल्लो समय देवकोटाको व्यवहार बदलिएको ती कर्मचारीले जानकारी दिए। मङ्गलवार उनी केन्द्रले बोलाएको भन्दै हिँडेका थिए। त्यहीबिचमा घाटबेसीका केही स्थानीयले छाडिएको मोटरसाइकलको तस्बिर सामाजिक सञ्जालमा राख्दै सो मोटरसाइकलमा आएको व्यक्ति नदीमा हाम फालेको लेखेका थिए।

प्रहरीले सूचना पाएपछि घटनास्थलमा गएर बुझ्दा प्रत्यक्षदर्शी भेटिएपछि कसैले आत्महत्या गरेको त देखियो तर कसले आत्महत्या गरेको एकिन भएन। तर देवकोटा सम्पर्कविहीन भएकाले उनले नै आत्महत्या गरेको हुनसक्ने सम्भावना भने बलियो देखिन्छ।

अनुसन्धानमा प्रहरी

देवकोटाका बुबा नारायणप्रसाद देवकोटा एमालेको परिचित नेता र राष्ट्रिय सहकारी दुग्ध विकास सङ्घका अध्यक्ष हुन्। नीराजनको मोटरसाइकल फेला परेको र उनी सम्पर्कमा नरहेपछि उनको परिवारसँगै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल समेत घटनास्थलमा पुगेका छन्।

बैंकको उच्च अधिकारीले मानसिक तनाव दिएकाले आत्महत्या गरेको हुनसक्ने परिवारको दाबीका आधारमा प्रहरीले शव खोज्नेक्रमसँगै घटनाबारे समेत अनुसन्धान अगाडि बढाएको एसपी मिश्रले उकेरालाई जानकारी दिए।

केन्द्रका केही उच्चतहका कर्मचारीको व्यवहारका कारण उनी मानसिक तनावमा रहेको र त्यही कारण आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यको दाबी देखिन्छ। उनीहरूले प्रहरीलाई समेत त्यही जानकारी दिएका थिए।

देवकोटाको परिवारले गरेको दाबी र उनीमाथि केन्द्रले गरिएको अनुसन्धानबारे जानकारी लिन नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कका चिफ इन्फर्मेसन अफिसर विजेन्द्र सुवालसँग सम्पर्क गर्दा उनले केही जानकारी दिएनन्।

उनलाई गरेको कल उठेन। उनलाई फोन गर्नुको कारण खुलाउँदै देवकोटाको परिवारले गरेको दाबी, उनको राजीनामा पेन्डिङमा राख्नुको कारण र उनीबारे बैङ्कले गरिएको अनुसन्धानको विषयबारे एसएमएसमार्फत जानकारी माग गर्दा समेत उनले कुनै जानकारी दिएनन्।

१७ असोज, २०८०, २०:२०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।