विद्यार्थीको आरोप : नियमित पढाइको माग गर्दा शिक्षकहरूले थुनेर राखे

विद्यार्थीको आरोप : नियमित पढाइको माग गर्दा शिक्षकहरूले थुनेर राखे

पर्सा : नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थीहरू नै थुनामा परेको घटना बाहिर आएको छ।

वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरूले थुनेर राखेको घटना सार्वजनिक भएको हो।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरूलाई कुटपिट गर्नाका साथै घन्टौं थुनेर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन्।

दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन्।

विद्यालय प्रशासनले आफूहरूबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एक जना मात्र उत्तीर्ण भएको विद्यार्थीहरू बताउँछन्।

प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रधानाध्यापक बिदामा रहेकाले प्राविधिक कक्षाबारे उनले नै जानकारी दिने जनाएको छ। 

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएको जानकारी दिए।

उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यालयको प्रतिवेदनबाट देखिएपछि सो घटनाको छानबिन सुरु गरिएको बताए।

१६ असोज, २०८०, १३:४६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।