सरकार र राहत शिक्षकबीच विधेयक संशोधन गर्ने सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच विधेयक संशोधन गर्ने सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
फाईल फोटो

काठमाडौं : सदनमा दर्ता भएको बिद्यालय शिक्षा विधेयकमा अशन्तुष्टि जनाउँदै आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ।

शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। 

सरकार र शिक्षकबीच शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने र अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।

उनले भने, ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भयो। अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ। अहिलेलाई आन्दोलन फिर्ता भएको छ।’

शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको शिक्षा मन्त्री अशोककुमार राईले बताएका छन्। 

वार्तामा शिक्षा मन्त्री अशोककुमार राई र शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत थिए।

शिक्षा विधेयकका कतिपय व्यवस्था संशोधन गर्नुपर्ने जस्ता माग गरेर राहत शिक्षकहरू गत असोज ३ गतेदेखि आन्दोलनमा थिए। 

१२ असोज, २०८०, १६:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।