आईसीयू र इमर्जेन्सी सेवा रोकेर आन्दोलनमा चिकित्सक

आईसीयू र इमर्जेन्सी सेवा रोकेर आन्दोलनमा चिकित्सक

काठमाडौं : आफूहरूमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अहिले आन्दोलनमा छन्। ठाउँ–ठाउँमा भएका आक्रमणको विरोधमा उनीहरूले ठाउँअनुसार आन्दोलन र विरोधलाई निरन्तरता दिइरहेका छन्।

यसले बिरामीको उपचार प्रभावित भएको छ नै, चिकित्सकका कतिपय संघसंस्थाले आईसीयू, ओपीडी, इमरजेन्सी लगायतका सेवा नै ठप्प पार्नेसम्मका विज्ञप्ति निकालेर असंवेदनशील देखिएका छन्।

पोखराको मणिपाल अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनापछि मंगलबार काठमाडौंमा चिकित्सकहरूले अस्पतालको सेवा नै रोकेर विरोध प्रदर्शनमा उत्रिए। सेतो कोटधारक चिकित्सकहरूले आक्रमणकारीलाई कारबाहीको माग गरे।

उपत्यका बाहिर पनि सेवा नै रोकेर चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन्।

असोज ८ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा भेन्टिलेटरमा राखिएका बिरामीको मृत्यु भएपछि आईसीयू युनिटमा कार्यरत आवासीय चिकित्सकमाथि आक्रमण भएको भन्दै अस्पतालका आवासीय चिकित्सक र इन्टर्नहरूले दिने ओपीडी, वार्ड, आईसीयू, इमर्जेन्सीलगायतका सम्पूर्ण सेवा बन्द रहने भन्दै विज्ञप्ति निकाले।

‘सम्बन्धित निकायबाट उल्लिखित माग पूरा नभएसम्म एक हप्तामा अस्पतालका सम्पूर्ण सेवा बन्द रहनेछन्’, विज्ञप्तिमा भनिएको छ।

तर, सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. समाज गौतमले भने आवासीय चिकित्सक बाहेकका चिकित्सक पनि अस्पतालमा हुने भएकाले आवासीय (रेजिडेन्ट) चिकित्सकले सेवा नदिँदा खासै फरक नपर्ने तर्क गरे।

चिकित्सकले आकस्मिक कक्ष नै बन्द गर्न मिल्छ? भन्ने जिज्ञासामा गोदानका अध्यक्ष डा. गौतमले भने, ‘रेजिडेन्ट भनेको विद्यार्थीको एउटा भाग हो। एउटा अस्पतालमा सबै जिम्मेवारी रेजिडेन्टको हुँदैन। अति भएपछि के गर्ने त? मानसिक तनावमा परेँ, काम गर्न सक्दिन भन्न त पाउनुपर्यो नि!’

यद्यपि आकस्मिक कक्ष नै बन्द गर्न भने नहुने उनको पनि धारणा छ। ‘व्यक्तिगत रूपमा भन्नुपर्दा इमर्जेन्सी बन्द गर्नुहुँदैन, इमर्जेन्सी सेवाबाट बिरामीलाई बञ्चित गर्नुहुँदैन’, उनले भने।

पोखराको घटनापछि नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको हातपातको घटनाले देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सुरक्षित अवस्थामा स्वास्थ्य सेवाप्रवाह गर्न कठिनाइ उत्पन्न भएको जनाएको छ।

त्यसकै विरोधमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत ‘फ्याकल्टि डक्टर्स एशोसियशन (एफडीए)’ ले मंगलबार दिउँसो १२ः१५ पछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्यो।

उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अस्पतालमा बिरामीको सेवा रोक्न नहुने तर्क गर्छन्।

‘स्वास्थ्य क्षेत्र शान्ति क्षेत्र हुनुपर्छ। २४सै घण्टा चल्नुपर्छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘त्यसमा स्वास्थ्य मन्त्रालय अडिग छ।’

त्यही अनुसार कार्यान्वय गर्न गृह मन्त्रालय लगायत सरोकारवाला पक्षसँग वार्ता र सहकार्य भइरहेको उनको भनाइ छ।

सुरक्षा नदिए अस्वभाविक परिस्थिति आउने संघको चेतावनी
चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति राज्यले नगरे स्वास्थ्य प्रवाहमा अस्वभाविक परिस्थिति आउने चेतावनी दिएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि गरिएका यस्ता प्रकारका अस्वाभाविक र भर्त्सनायोग्य घटनाले मनोबल गिरेको भन्दै उसले सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई कारबाहीको माग गरेको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन ऐन २०७९) अनुसार कानूनी कारबाही नगरिएको अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीर रूपमा प्रभावित हुनेतर्फ सरकार तथा सरोकारवाला निकायलाई संघले ध्यानाकर्षण गराएको छ।

यस्तै, संघले लमजुङ अस्पतालमा वडाध्यक्षबाट चिकित्सक कुटिएको विषयमा समेत ध्यानाकर्षण गराएको छ।

असोज ७ गते राति १०ः३० बजे लमजुङ अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीको डा. सन्दीप अधिकारीबाट परीक्षण गरी भर्ना गर्ने प्रक्रिया पूरा गर्न आग्रह गर्दा बेसीशहर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ऋषि बस्नेतले गालीगलौज गर्दै शारीरिक हमला गरेको संघको भनाइ छ।

यसअघि मकवानपुरको हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीलाई भदौ २७ गते आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीले उपचार सेवा लिन पाएका थिएनन्।

साउन २५ गते हेटौंडाका राजेश प्रधानको उपचारका क्रममा चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकलाई पिटेको आरोप छ। त्यस विषयमा नेपाल चिकित्सक संघ र सरकारबीच भएको वार्तामा ६ बुँदे सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम भने फिर्ता लिएको थियो।

यसैबीच नेपाल मेडिकल काउन्सिलले पोखरामा आईसीयूमा मृत्यु भएका व्यक्तिका आफन्तलाई अस्पताललाई शान्त र भयरहित बनाउँदै डाक्टरउपर केही उजुरी भए काउन्सिलमा उपलब्ध गराउनसमेत आग्रह गरेको छ।

९ असोज, २०८०, १९:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।