कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आजदेखि

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आजदेखि

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ।

गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिक भएकोमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको हो।

कक्षा १२ को परीक्षाफलमा ननग्रेड ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको हो। लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड हुन्छन्। 

बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले मंगलबार र बुधबार दुई दिन परीक्षा सञ्चालन हुने जानकारी दिए। बिहान ११ बजेदेखि सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ।

देशभरका कूल ४१९ परीक्षा केन्द्रमा एकै साथ सुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन्।

त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन्।

९ असोज, २०८०, १२:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।