सरकारसँग ६ बुँदे सहमति गरेर घर फर्कियो महासङ्घ, राहत शिक्षकहरूको आन्दोलन जारी

सरकारसँग ६ बुँदे सहमति गरेर घर फर्कियो महासङ्घ, राहत शिक्षकहरूको आन्दोलन जारी

काठमाडौं : गत शुक्रबार सरकार र प्रस्तावित बिद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भयो।

शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि नेपाल शिक्षक महासङ्घमा आवद्ध शिक्षकहरु घर फर्किएपनि राहत,पेन्सन बञ्चित शिक्षक र माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरूले भने आइतबार पनि आन्दोलन जारी राखेका छन्।

शुक्रबार सरकार र महासङ्घबीचको सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै माइतीघरमा राहत र पेन्सन बञ्चित शिक्षकहरुले आन्दोलनलाई जारी राखेका हुन्। 

सरकार र महासङ्घबीच शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्ने सहमति भएको थियो।

यद्यपि राहत शिक्षक केन्द्रीय समिति भने उक्त सम्झौतामा हस्ताक्षर नगरी बाहिरिएको थियो।

शिक्षक महासंघबाट राजीनामा दिएर आन्दोलनलाई निरन्तरता दिने बताएका उनै राहत र पेन्सन बञ्चित शिक्षकहरु माइतीघर मण्डलामा आन्दोलित भएका हुन्।  

पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएको छ।

शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरूले पनि आन्दोलन जारी रहने घोषणा गरेका थिए।

७ असोज, २०८०, १५:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।