संगीतकार कुलेन्द्र विश्वकर्माका प्रिय १० सुर : रामजी खाँडले गाएको सबैभन्दा मीठो गीत नै त्यही हो जस्तो लाग्छ मलाई

संगीतकार कुलेन्द्र विश्वकर्माका प्रिय १० सुर : रामजी खाँडले गाएको सबैभन्दा मीठो गीत नै त्यही हो जस्तो लाग्छ मलाई

नेपाली युवापुस्ता माझ एक चर्चित नाम हो गायक कुलेन्द्र विश्वकर्मा। लामो समयदेखि संगीत र गायनमा सक्रिय विश्वकर्माले दुई हजार गीतमा स्वर दिइसकेका छन्। स्रोता तथा दर्शकमाझ थुप्रै हिट गीत दिइसकेका उनले आफूलाई प्रिय लाग्ने अरूका पाँच र आफ्ना पाँच गीत यसरी छनोट गरेका छन्।

आफ्ना पाँच 

नजाउ है सानु पधेँरीमा 

मैले गाएको पहिलो सुपरहिट गीत हो यो। यहि गीतले मलाई स्रोता तथा दर्शकमाझ चिनाउने काम गरेको थियो। स्रोता दर्शकले पनि अत्याधिक मन पराइदिनुभएको यो गीत मेरो लागि प्रिय छ। यस गीतलाई मैले र विष्णु माझीले गाएका छौँ। गीतमा म्युजिक वसन्त थापाको र शब्द प्रह्लाद सुवेदीको छ।

पिरतीको खाममा 

यो गीतको मेलोडी मलाई एकदमै राम्रो मनपर्छ। मन पराएका धेरै गीतहरूमध्ये यो गीत मेरो लागि प्रिय छ। यस गीतलाई वसन्त थापाले एकदमै मेलोडी बनाउनुभएको छ। मेलोडीकै कारण यो गीत मेरा लागि प्रिय छ।

सालको पात टपरी हुने

‘सालको पात’को कारणले पाएको उचाइ जीवनमा पाउछुँ कि पाउँदिन थाहा छैन। यो गीतले समग्रमा लोक गीतलाई नै एक उचाइमा पुर्याउन ठूलो योगदान दिएको छ जस्तो मलाई लाग्छ। त्यसकारण पनि यो गीत मेरो रोजाइमा पर्छ। गीतलाई नवराज पन्तले लेख्नुभएको हो भने लय वसन्त थापाको छ। यस गीतमा मैले र विष्णु माझीले स्वर भरेका छौँ।

अस्ति हाँस्न सिकायौँ

मोडर्न टाइपको गीत हो यो। यो गीतलाई शिव हमालले लेख्नुभएको हो। लय पनि उहाँकै छ। यो गीत मन पर्नुको कारण पनि मेलोडी नै हो। निकै राम्रो लाग्छ। बेला-बेलामा म आफैँ पनि यो गीत गुनगुनाउने गर्छु। यो गीत मैले र देवी घर्तीले गाएका छौँ।

जिम्बल बाको आँगनीमा

मलाई यो गीतको शब्द नै मीठो लागेको हो। अहिले पनि यो गीत गुनगुनाइरहेको हुन्छु। यस गीतमा एक नारायण भण्डारीको लय र शब्द छ। उहाँ मलाई एकदमै मनपर्ने सर्जक पनि हुनुहुन्छ। ११ वर्षअघि यो गीतमा उहाँसँग सहकार्य गर्ने अवसर पाएको थिएँ। त्यसकारण पनि यो गीत मेरो रोजाइमा पर्दछ। यस गीतमा मेरो र देवी घर्तीको स्वर छ।

अरुका पाँच

म हुरीमा दियो बलेको देख्छुँ 

यो गीतका शब्दहरू उत्कृष्ट छन्। गीतका शब्द र स्वर एकदमै राम्रो लाग्छ भने यो गीतको संगीत पनि उतिकै मीठो छ। म आफैँ पनि यो गीत बेला-बेलामा गुनगुनाइरहेको हुन्छु। यसैले पनि होला यो गीत मलाई मनपर्छ। यस गीतलाई रामकृष्ण ढकालले गाउनुभएको हो। रमेश बिजीको शब्दमा  तयार भएको गीतमा राजेश थापाको संगीत छ।

​​​​​सरर पानी घट्टमा 

यो गीत आफैँमा एकदमै मीठो छ। मैले गाउँ छोडेर काठमाडौं आउँदा सार्वजनिक भएकाले पनि होला, एकदमै राम्रो लाग्छ। यो गीतले परदेशिएपछिको झल्को दिन्छ। पुरुषोत्तम न्यौपाने र बीमाकुमारी दुराले गाउनुभएको गीतमा रमेश बिजीको शब्द छ। त्यस्तै लय राजन ठकुरीको छ।

सुन पानीले छर्क मायालु

यो गीतको लय र शब्द नै मीठो छ। गीतका हरेक शब्दहरूले मान्छेको मन छुन्छ। यो गीतलाई राजु परियारले गाउनुभएको छ। बेला-बेलामा म आफैँ पनि गुनगुनाउने गर्छु र धेरै सुन्छु पनि याे गीत। यस गीतको शब्द रमेश बिजी कै रहेको छ भने लय राजु परियारको छ।

चिन्तै नगर 

रामजी खाँडले गाएको सबैभन्दा मीठो गीत यही है हो जस्तो लाग्छ मलाई। गीतले आफ्नो प्रेमिकाले प्रेमीलाई र प्रेमीले प्रेमिकालाई कुनै कुराको पनि चिन्ता नगर्न आग्रह गरेकै कारण यो गीत खुब मनपर्छ मलाई। यस गीतलाई देवी घर्ती र रामजीले गाएका छन्। गीतको शब्द र लय शिव हमालको छ।

मौरी फूलमाथि

यो गीत मैले स्कुल पढ्दाको समयमा सार्वजनिक भएको थियो। त्यो समयमा मैले स्कुलमा खुब गाउँने गर्थे यो गीत। यो गीतले मेरो पानसपटलमा अमिट छाप छोड्न सफल भएको छ।अहिले पनि यो गीत कतै रेडियोमा सुनियो भने त्यो समयको याद दिलाउँछ। राजु परियार र मधु रसाइलीले गाउनुभएको गीतको शब्द भगवान भण्डारी र खेमराज भण्डारीले लेख्नुभएको हो।

असोज ५, २०८० शुक्रबार १६:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।