आन्दोलनरत शिक्षकहरू आज सरकारसँग औपचारिक वार्ता गर्दै, होला त सहमति?

आन्दोलनरत शिक्षकहरू आज सरकारसँग औपचारिक वार्ता गर्दै, होला त सहमति?

काठमाडौं : सरकारले आन्दोलनरत शिक्षकलाई आज (शुक्रबार) औपचारिक वार्ताको लागि बोलाएको छ। सरकार र शिक्षक महासंघबीच बिहान ९ बजेदेखि वार्ता हुने बताइएको छ।

देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकसँग सरकारले बिहीबार  (हिजो) पनि अनौपचारिक वार्ता गरेको थियो।

बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा सरकारले शिक्षक नेतृत्वसँग गरेको वार्ता निष्कर्षविहीन रुपमा टुंगिएको थियो।

त्यसैगरी बिहीबार बेलुका पनि गृहमन्त्री श्रेष्ठसँगै शिक्षा मन्त्री अशोक कुमार राई सहितको टोलीले शिक्षक महासंघ प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेको थियो।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन्। 

सरकारले सदनमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत शिक्षकले बिहिबार दोस्रो दिन पनि आन्दोलन जारी राख्दा काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ।

सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग महासङ्घले अघि सारेको छ। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ।

देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेसँगै देशभरका ७० लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प बनेको छ।

महासंघले बिहीबारदेखि देशभरका विद्यालय अनिश्चित कालका लागि बन्दको घोषणा गरेको छ। ​​​​​​शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनका लागि उत्रिएपछि पठनपाठन प्रभावित बनेको हो।

५ असोज, २०८०, ०७:४३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।