शिक्षक महासंघलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह– विद्यालय बन्दबाहेकको विकल्प खोज्नू

शिक्षक महासंघलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह– विद्यालय बन्दबाहेकको विकल्प खोज्नू

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको पठनपाठनको अधिकारप्रति संवेदनशील बन्न शिक्षक महासंघलाई आग्रह गरेको छ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यालय बन्दबाहेकको विकल्प खोज्न आग्रह गरेको हो।

आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लङ्घन भएको आयोगको ठहर छ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा विभिन्न अन्तर्राष्ट्रिय महासन्धी, घोषणापत्र, अनुबन्ध, संविधानका धारा र ऐनको दफा उल्लेख गर्दै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गरेको स्मरण गराइएको छ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरू राख्न, आफ्ना मागहरू पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोगले शिक्षक महासंघलाई आग्रह गरेको छ।

साथै, कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवं नेपाल शिक्षक महासंघलगायत शिक्षक समुदायले उठाएका न्यायोचित मागहरूको सम्बोधन गर्नसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

४ असोज, २०८०, १८:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।