खुँडा हानेर मान्छे मार्ने गुण्डालाई सरकारको माफी, जेलमुक्त भएपछि तरुण दलको स्कटिङ र अबिर जात्रा

खुँडा हानेर मान्छे मार्ने गुण्डालाई सरकारको माफी, जेलमुक्त भएपछि तरुण दलको स्कटिङ र अबिर जात्रा

काठमाडौँ : भारतबाट नेपाल आउने बसमा हप्ता उठाउने विवादमा २९ वर्षका चेतन मानन्धर मारिए। २०७२ असार २८ गते उनलाई खुँडाले हानेर घाइते बनाएकोमा उपचारकोक्रममा उनको मृत्यु भएको थियो। अनुसन्धानमा रिगल भनिने योगराज ढकालले उनलाई खुँडा हानेको खुल्यो।

११ जना पक्राउ परे तर उनी फरार थिए। २०७२ भदौ ७ गते उनले अदालतमा आत्मसमर्पण गरेका थिए। समिरमानसिंह बस्न्यात, रमेश बाहुन लगायतकासँग मिलेर सङ्गठित गुण्डागर्दीमा लागेका उनी नेपाली काँग्रेसको तरुण दलमा संलग्न थिए। उनी बाँके क्षेत्र नम्बर-३ का क्षेत्रीय सभापति भइसकेका थिए।

अदालतबाट उनको अपराध प्रमाणित भएसँगै जन्मकैद सुनाइयो। २०७५ वैशाख ११ मा अदालतले उनीसहित १४ जनालाई दोषी ठहर गरेको थियो। रिगललाई ‘सर्वस्वसहित जन्मकैद’ को सजाय भएको थियो।

अदालतले घटनामा संलग्न सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र सिंह भनिने दीपेन्द्र मल्ललाई ५ तथा केशवबहादुर रोका, माधव नेपाली, विवाद पाठक, हरि ओली, प्रितम थापा, मनिस चौलागाई र यामबहादुर बुढामगरलाई जनही ३/३ वर्ष कैद सजाय सुनाइयो।

उनी त्यही सजाय काट्दै थिए कारागारमा। संविधान दिवसको दिन बाँकी कैद माफ गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलबाट सदर भएपछि जिल्ला कारागारमा रहेका रिगल मुक्त भए।

उनले आठ वर्ष मात्र कैद सजाय भोगेका थिए। असल चालचलनको आधारमा मुक्त गरिने कानुनी प्रावधानमा टेकेर सरकारले गम्भीर अपराधमा संलग्न गुन्डालाई कारागारमुक्त गरायो।

उनी कारागारमुक्त हुने भएपछि उनका समर्थकहरू दागं कारागार बाहिर भेला भएका थिए। उनी रिहा भएपछि २० भन्दा बढी गाडिले स्कटिङ गरेर लगियो भने खुसीयालीमा अबिर जात्रा समेत गरिएको थियो।

केन्द्रीय कारागारभित्रै दादागिरी

उनको गुरु समीरमानसिंह बस्नेत निर्माण व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा केन्द्रीय कारागार थिए। त्यहीँ थिए अर्का रमेश बाहुन। रिगल समेत सोर्स लगाएर आफ्ना गुरुहरू भएकै जेलमा आइपुगे। अनि सुरु भयो जेलभित्रै उनीहरूको दादागिरी।

हत्या आरोपमा पक्राउ परेका रिगल समूहका सदस्यहरु।काठमाडौँका केही निर्माण व्यवसायीलाई इन्टरनेट कलबाट धम्क्याउँदै पैसा मागेको घटना प्रहरीसम्म पुग्यो। फोन गर्नेले समिरमानसिंह बस्नेतको नाम लिएका थिए। समीर त जेलमा थिए। प्रहरीले अनुसन्धान गर्दा फोनकल जेलभित्रबाट आएको खुल्यो।

अनुसन्धानमा यी तीन जना मिलेर जेलभित्रै इन्टरनेट सुविधासहित मोबाइल फोन प्रयोग गर्ने गरेको र त्यहीबाट कल गरेर निर्माण व्यवसायीलाई धम्क्याएर रकम मागेको खुल्यो। अनि रिगललाई दागं जेलमा पठाइयो।

अहिले उनै गुन्डा नाइके असल चालचलनको आवरणमा ६० प्रतिशत कैद सजाय बाँकी हुँदा नै मुक्त भएका छन्। रमेश बाहुन अहिले रिहा भइसकेका छन्। समीर भने कारागारमै छन्।

४ असोज, २०८०, १५:०४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।