बालेनले भने ' शिक्षा विधेयक स्विकार्न सकिन्न'

बालेनले भने ' शिक्षा विधेयक स्विकार्न सकिन्न'

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले हालै दर्ता गरेको शिक्षा विधेयक स्विकार्न नसकिने बताएका छन्। उनले विधेयकबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सङ्घीय सरकारले सङ्घीय शिक्षा ऐन ल्याउनुको सट्टा विद्यालय शिक्षा विधेयक ल्याएको भन्दै विधेयक स्विकार्न नसकिने धारणा सार्वजनिक गरेका हुन्।

'राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालयसम्बन्धी विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन' उनले लेखेका छन्'स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ।'

उनले २ लाख ५० हजार हजार विद्यार्थी र दश हजार बढी शिक्षक महानगरको मातहतमा रहेको दाबी गर्दै आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उल्लेख गरेका छन्।

'काठमाडौँको शिक्षा नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्छन्। सङ्घीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक सङ्घीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो' उनले लेखेका छन्।

उनले विधेयकमा असहमति भए पनि शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अवरोध पुर्याए कानुन(संविधान) अनुसार कारबाही हुने चेतावनी समेत दिएका छन्।

३ असोज, २०८०, १८:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।