त्रिचन्द्र क्याम्पसको पहिलो महिला प्रमुख डा. निलम : यसै क्याम्पसको विद्यार्थी, प्राध्यापक हुँदै नेतृत्वसम्म​​​​​​​

त्रिचन्द्र क्याम्पसको पहिलो महिला प्रमुख डा. निलम : यसै क्याम्पसको विद्यार्थी, प्राध्यापक हुँदै नेतृत्वसम्म​​​​​​​

काठमाडौं : १० बज्नुभन्दा अगाडि नै त्रिचन्द्र क्याम्पसको भौतिकशास्त्र विभागीय प्रमुख प्रा. डा. निलम श्रेष्ठ प्रधानको फोनमा घन्टी बज्यो। चिनेको नम्बर देखेपछि उनले तुरुन्तै फोन उठाइन्। उताबाट सिधै आवाज आयो, ‘बधाई छ! तपाईंंलाई। तपाईं क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ। आजैदेखि कार्यकाल सुरु हुने भएकोले तुरुन्तै यहाँ आउनुपर्यो।’

उनी दङ्ग परिन्। केही बोल्न सकिनन्। अनि हस् भनेर त्रिभुवन विश्वविद्यालय जानको लागि हतार-हतार खाना खाएर निस्किहालिन्। निस्कने बेला आफ्नो श्रीमान्लाई चैं त्यो खबर सुनाउन भ्याइन्।

निलमलाई फोन गरेका थिए, त्रिविका रेक्टर शिव लाल भुषालले। त्रिवि नपुगेसम्म उनलाई एकदम बेचैन भइ नै रह्यो। पत्याउनै सकेकी थिइनन् उनले। 

‘करिब एक बजे नियुक्तिको चिठी पाएँ। घरदेखि चिठी हातमा नआइन्जेल सम्मको त्यो तीन घण्टा कसरी बित्यो भनेर म कल्पना पनि गर्न सक्दिनँ। एकदम अनएक्स्पेकटेड त्यो खबर पाउँदा एकछिन त डर पनि लाग्यो,’ उत्साहका साथ उनले भनिन्, ‘श्रीमान्लाई चैं भनेर आएको थिएँ। फेरी उहाँले पो एक्साइटेड भएर सामाजिक संजालमा पोस्ट गरिहाल्ने हो कि भन्ने लागेर त्यो नहाल्न पनि भनें।’ 

त्रिवि बल्खुबाट चिठी र शुभकामना सहित उनी त्रिचन्द्र क्याम्पस हिंडिन्। 

‘चिठी त पाएँ। फेरी क्याम्पस पो कसरी पुग्ने होला, त्यहाँ कस्तो प्रतिक्रिया हुने होला भन्ने लागिरह्यो। श्रीमान्लाई सुनाएँ। घरमा पनि सब जना खुशी हुनुभयो। पछि क्याम्पसमा जाँदा पनि सबै जनाले बधाई दिनु भयो। अनि त्यहाँ पुगेपछि पो ल साँच्चै क्याम्पस चीफ भएछु भन्ने लाग्यो,’ खुशी हुँदै उनले भनिन्।

इतिहाससँगै चुनौतीको चाङ

त्रिचन्द्र क्याम्पसको १०६ वर्षको इतिहासमा पहिलोपटक महिला प्रमुख बनेको खबर भोलिपल्ट चारैतिर आयो। निलमलाई बधाई दिन सामाजिक संजालदेखि क्याम्पसमा टन्न भिड नै पनि लाग्यो। शुक्रबार उकेराकर्मी उनलाई भेट्न जाँदा पनि उनको कार्यकक्षमा निकै भिड देखिन्थ्यो। लस्करै राखेका ३२ वटा पूर्वप्रमुखहरू (पुरुषहरू)को फोटोको तल उनी कुर्सीमा बसिरहेकी थिइन्। 

केहीले बधाई दिने बेलामा अब यी फोटोहरूको लस्करमा एउटा महिला प्रमुखको पनि फोटो आउने छ भनेर हौसला पनि दिइरहेका थिए। विद्यार्थीदेखि प्राध्यापकहरू उनलाई बधाई दिन आइरहेका थिए।

त्यसैक्रम चलिरहँदा उनीले भनिन्, ‘अहिले खाने पानीकै समस्या पनि छ। कुनै दिन मैले यहाँ बस्दा-बस्दा पानी खान नपाएर मरें भने, त्रिचन्द्र क्याम्पसको प्रमुख पानी खान नपाएर मर्यो भनेर समाचार आयो भने कस्तो हुन्छ?’ त्यसपछि नजिकै रहेका सुरक्षाकर्मी हतार-हतार उनलाई मिनरल वाटरको बोतल दिन अगाडि बढे। 

काठमाडौंको मरु टोलमा जन्मिएकी डा. निलम कुनै समय यही क्याम्पसका विद्यार्थी थिइन्। पछि प्राध्यापक पनि भइन्। यहाँको भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक पनि हुन् उनी। खासमा उनले त्रिवि सेवा आयोगको अध्यक्षको लागि चैं आवेदन दिएकी रहिछन्। तर, एक्कासि क्याम्पस प्रमुखमा नियुक्त भएको खबर पाएपछि उनले यसको लागि तयारी गर्न थालिन्।

अपर्झटको जिम्मेवारी

सेवा आयोगको अध्यक्षको लागि विज्ञापन खोलेको रहेछ। मैले कसैलाई नभनी इमेलमार्फत् आवेदन दिएको थिएँ। वैकल्पिकमा नाम पनि निस्केको थियो। तर, त्यसको लागि अगाडि बढ्छु भन्दा भन्दै यता पो प्रमुखमा नियुक्त भएछु,’ उनले भनिन्।

अपर्झट नयाँ जिम्मेवारी आए पनि उनि विश्वस्त देखिइन्। 

मेरो लागि यो एकदम नयाँ भूमिका हो। ठूलो र पुरानो क्याम्पस हो। आफैं पनि पढेको र पढाउँदै आएको भएर उत्साहित पनि छु,’ आफ्नो योजना सुनाउँदै उनी भन्छिन्,’ त्यै भएर अब विद्यार्थी र शिक्षक साथीहरूसँग समन्वय गरेर अगाडि बढ्ने नै मेरो मुख्य उद्देश्य हो। पढ्ने, पढाउने र अनुसन्धान गर्नको लागि उपयुक्त वातावरण सिर्जना गर्दै क्याम्पसलाई रिसर्च हब बनाउने मेरो कोसिस रहने छ। त्यसको लागि सबै जनाले साथ दिनुहुन्छ भन्ने मैले आशा राखेको छु।’

थुप्रै चुनौतीहरूका बीच ठूलो जिम्मेवारी पुरा गर्न उनी कति सक्षम हुन्छिन् भनेर त आगामी दिनहरूले देखाउने नै छन्। यसअघि विभागीय प्रमुख भएर नेतृत्व सम्हालेको अनुभव पनि काम लाग्नेमा उनी विश्वस्त छिन्। 

निलम व्यावसायिक मात्र नभएर व्यक्तिगत जिम्मेवारीमा पनि उत्तिकै सक्रिय छिन्। उनको बुवा सरकारी अफिसर भए पनि आमाले भने पढ्न पाएनन्। आफू पढ्न नपाएपछि आफ्नो छोरीहरूलाई जसरी भए पनि पढाउनको लागि धेरै संघर्ष गर्न परेको उनी सुनाउँछिन्। 

त्यसै क्याम्पसको विद्यार्थीदेखि प्रमुखसम्म 

त्यही भएर पनि डा. निलम सानैदेखि पढाइमा निकै अब्बल रहिन्। जनप्रभात माविमा लामो समयदेखि एसएलसीमा उत्कृष्ट नतिजा कसैले ल्याउन नसकेको बेला उनी ‘फर्स्ट डिभिजन’मा पास भइन्। २०३६ सालमा गोल्ड मेडल जित्न सफल भइन्। 

‘हाम्रो नेवारहरूमा हरेक हप्ता जसो भोज हुने गर्छ। त्यस्तो बेला दाजुभाइले भोजमा बोलाउँदा पनि चेलीबेटीलाई जबर्जस्ती खुवाएको जस्तो गर्ने गर्छन्। खान नपाएर छोरीचेली गएको जस्तै व्यवहार गर्छन्,’ उनी भन्दै जान्छिन्, ‘त्यै भएर पनि आमाले विशेषगरी छोरीहरूलाई आत्मनिर्भर हुनुपर्छ। आर्थिक रुपमा सबल हुनुपर्छ भनेर निकै पढाउन प्रेरित गर्नु भयो। पढाइ बाहेक अरूमा ध्यान दिने समय पनि भएन। त्यो बेलामा नै भौतिकशास्त्र पढ्ने निर्णय गरें।’

लगत्तै उनी त्रिचन्द्रमा भर्ना भइन्। अनि आईएससी र बीएससी त्यही विषयमा गरेकी उनले विद्यावारिधि समेत हासिल गरिन्। उनको बुवाले स्नातक सकेसँगै विवाह गराइदिने प्रयास पनि नगरेका होइनन्। तर, आमाको साथसँगै उनले पढाइमा निरन्तरता दिइरहिन्। 

‘अनि २०४६ सालमा यहाँ फिजिक्स पढाउने प्रोफेसर नै निकै कम थिए। सरहरूले घर घरमै बोलाउन आउनुहुन्थ्यो। त्यै भएर पढाउन थालेको। पछि त्यही विभागीय प्रमुख पनि भएँ। त्यस बेला पनि विभागको नेतृत्व हुने पहिलो महिला नै म नै रहेछु भन्ने थाहा पाएँ।

‘घरको जिम्मेवारी सम्हाल्नेले सबै कुरा सम्हाल्न सक्छु’

विभिन्न अनुसन्धानात्मक कार्यहरूमा उनको विशेष रुचि रहेको छ। नास्ट लगायतका संस्थाहरूमा संलग्नता पनि छ। नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत हुन् उनी। करिब ४० वर्षदेखिको उक्त समाजमा पनि महिला अध्यक्ष हुने उनी नै पहिलो हुन्। 

पुरुष प्रधान समाजमा निर्विरोध रुपमा महिला अध्यक्ष हुनु खुशीको कुरा भएको भन्दै उनी भन्छिन्, ‘संयोगबस् स्कुलदेखि अहिलेसम्म हरेक कुरामा पहिलो भइरहेको छु। तर, यसलाई मैले अवसरको रुपमा मात्र नभएर चुनौतीको रुपमा पनि लिएको छु।’

डा. निलम अहिले भौतिकशास्त्र विषयको अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा जुटिसकिन्। त्यसक्रममा विदेशी अनुसन्धानकर्ताहरूलाई त्रिचन्द्र क्याम्पस घुमाएर आगामी काम अगाडि बढाउने योजना रहेको समेत उनले बताइन्। 

उनी आफ्नो खुट्टामा आफै उभिन सक्षम भएपछि मात्र विवाह बन्धनमा बाँधिइन्। घरको ठूलो बुहारी बनिन्। त्यहाँ पनि देवरहरूको अभिभावक बनिन्। र आमापछि अहिले आफैं पनि सासु भइसकिन्। जे जस्तो जिम्मेवारी आए पनि त्यसलाई स्वीकार्दै अघि बढिरहिन्।

घरको जिम्मेवारी सम्हाल्नेले सबै कुरा सम्हाल्न सक्छ। तर त्यसको लागि घरबाट बाहिर चैं निस्कन पर्ने रहेछ। अनि आफ्नो पढाइलाई अगाडि बढाउने त छँदैछ। त्यसपछि भनेको परिवारको साथ र विश्वास भएपछि जो कोही महिला पनि अगाडि बढ्न सक्ने रहेछ,’ उनी भन्छिन्, ‘फिजिक्स पढेकाहरू एकदम संकुचित हुन्छ, उनीहरू हाँस्दैन, रमाइलो गर्दैन भन्ने पनि रहेछ। तर, त्यस्तो होइन। म मेरो कार्यकाल भरि सबै विद्यार्थी र प्राध्यापक साथीहरूबीच हाँसो बनाइराख्न पनि कोसिस गर्छु।’

२ असोज, २०८०, ०८:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।