विद्यालय बन्दको धम्की दिएको शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्तामा बाेलायो

विद्यालय बन्दको धम्की दिएको शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्तामा बाेलायो

काठमाडौं : विद्यालय बन्द गरेरै आन्दोलनको धम्की दिएको शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको छ।

विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार दिउँसो तीन बजे शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा हुने वार्तामा आउन मन्त्रालयले महासंघलाई बोलाएको हो।

अहिले महासंघले उठाएका कतिपय माग नियमावली र नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतिका रहेको भन्दै मन्त्रालयले विभिन्न चरणमा भएको छलफल र महासंघले पेश गरेका सुझावलाई विधेयककमा यथासक्य समावेश गरेको पनि स्मरण गराएको छ।

मन्त्री राईले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा दर्ता गरेसँगै महासंघको व्यानरमा सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यालय बन्दको धम्की दिएका थिए।

उनीहरूले देशभरका विद्यालय बन्द गरी शिक्षकलाई काठमाडौंमा उतारेर असोज तीन गते प्रदर्शन गर्ने घोषणा गरेका छन्।

१ असोज, २०८०, २१:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।