हिन्दुवादी संगठनसामू बोर्ड अध्यक्ष भुवन केसी निरीह, ‘एक भगवत्-गीता’को सेन्सर सिफारिसै गर्न सकेनन्

हिन्दुवादी संगठनसामू बोर्ड अध्यक्ष भुवन केसी निरीह, ‘एक भगवत्-गीता’को सेन्सर सिफारिसै गर्न सकेनन्

काठमाडौं : केहि हिन्दुवादी धार्मिक संगठनहरूले फिल्म ‘एक भगवत गीता’को नामलाई लिएर विरोध जनाए। चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिए। उनीहरूको माग थियो चलचित्रको नाम परिवर्तन।

विकास बोर्ड समन्वय गर्न जुट्यो तर धार्मिक संगठनका अगाडि उनको जोर चलेन, हात कमायो। कानून नै नबुझी फिल्मलाई प्रदर्शनमा अनुमति दिन आनकानी गरेपछि बोर्ड अध्यक्ष भुवन केसीको आलोचना भयो।

विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, हिन्दु जागरण नेपाल, विश्व हिन्दु युवा संघ नेपाल अन्तराष्ट्रिय समिति लगायत १३ वटा धार्मिक संघसंस्थाले फिल्मको नाम परिवर्तन नगरे विरोधमा उत्रने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार फिल्म नै हुनुपर्ने भनेर धम्क्याए।

त्यसपछि चलचित्र विकास बोर्ड आफ्नो अधिकार बिर्सिएर धार्मिक संगठनहरूसमक्ष निरीह बन्यो अनि सेन्सर सिफारिस रोक्यो।

निर्माण टिमसँग सोमबार भएको छलफलमा हिन्दु जागरण संस्थाका अध्यक्ष रामकृष्ण उपाध्याय सहितको टोलीले फिल्मको नाम र विषयवस्तु फरक भएकाले नाम परिवर्तन गर्न दबाव दिए। तर, फिल्मको पोस्टर, टिजर र ट्रेलरसमेत रिलिज भइसकेको अवस्थामा निर्माण टीमले मान्ने कुरै भएन।

उनीहरूले फिल्मको नाम अनुसारको कन्टेन्ट बुझ्न फिल्मको स्क्रिप्ट मागे। सोही बमोजिम निर्माताले गोप्य रूपमा पढ्नका लागि भन्दै स्क्रिप्ट दिए पनि। तर, स्क्रिप्टमा कुनै त्यस्तो फेरबदल नभई तेस्रो लिङ्गीलाई फिल्मको नाममा गलत प्रयोग भएको भन्दै विरोध जनाए।

सेन्सर नगरि कुनै पनि हालतमा फिल्म रिलिज हुँदैन भन्ने सामान्य ज्ञानसमेत नभएका धार्मिक संस्थाका प्रतिनिधिहरू अहिले फिल्मभन्दा पनि नामको पछि दौडिएका छन्।

सेन्सर गर्नेहरूले फिल्म हेरिसकेपछि मात्रै फिल्म प्रदर्शन गर्न योग्य छ वा छैन भनेर निर्णय गर्छन्। धार्मिक, सांस्कृतिक, लैङ्गिक र कसैको स्वाभिमानमा आँच आउने विषयवस्तु फिल्ममा भए सेन्सर बोर्डले त्यसलाई हटाउन निर्देशन दिन्छ। तर, फिल्म सेन्सर बोर्डमा नजाँदै धार्मिक संगठनहरूले एकोहोरो नाम परिवर्तन गर्न दबाव दिइरहेका छन्।

भदौ २९ गते प्रदर्शन मिति तोकेको फिल्म ‘एक भगवत्-गीता’ नामकै कारण प्रदर्शन हुने-नहुने अन्योलमा छ।

सेन्सर सिफारिस लिन बिहीबार बिहान ११ बजे बोर्ड पुगे फिल्मका निर्माता सुनिलकुमार थापा। दिनभर बोर्डकै कार्यालयमै बसे तर पार लागेन। बोर्डले फिल्मको विषयमा कुनै निर्णय नै गर्न सकेन। धार्मिक संस्थाहरूको निवेदनका आधारमा बोर्ड डरायो।

बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई एकछिन-एकछिन भन्दै कार्यालयमा घुमाइरहे पनि निर्णय दिन नसकेको निर्माता थापा बताउँछन्। फिल्मको सेन्सर सिफारिस नपाएपछि उनले साँझ बोर्डको कार्यालयमै पत्रकार सम्मेलन गरेर बोर्ड अध्यक्षको कार्यक्षमतामाथि समेत प्रश्न उठाए।

‘मान्छे एकदम राम्रो हो उहाँ (भुवन केसी), तर लिडिङ पावर नै छैन। खुलेर भन्छु म मिडियासामू नै’, उनले भने।

फिल्ममा आफूले कतै पनि धर्म र भागवत गीताको अनादर नगरको भन्दै उनले लैङ्गिक समुदायको मानिसको नाम भगवत राखेको भन्दै उडाएको बताए।

‘न मैले अन्तरजातीय प्रेम कथामा फिल्म बनाएको हो। एउटा भगवत जो बच्चा छ, र गीता जो १७ वर्षीया युवती छ। त्यसको बारेमा मैले चलचित्र बनाएको छु। लैङ्गिकको विषयमा फिल्म बनाएको छु,’ उनले थपे, ‘धार्मिक संस्थाका प्रतिनिधिहरूले तपाईंले भगवत त एउटा लैङ्गिक समुदायको मान्छेको नाम राखिदिनुभएछ भनेर उडाउनुभयो। मैले कति आदर गरेर फिल्म बनाएको छु, त्यो देख्नुभएन।’

सेन्सर सिफारिसका लागि आग्रह गर्दा ‘भैहाल्छ नि बाबु, म तेरै पक्षमा छु’ भन्दै आश्वासन दिए पनि बोर्ड अध्यक्ष केसीले साथ नदिएको उनको गुनासो छ। विकास बोर्डले निर्मातालाई साथ दिनुपर्नेमा धार्मिक संगठनहरूसँग डराएर सेन्सर सिफारिस नदिएको उनले बताए।

‘यो फिल्म प्रदर्शन नगर भन्नुहुन्छ भने म डब्बै(बन्द) गरेर तीन जना मजाले अमेरिका नै गएर बस्न सक्छु,’ उनले भावुक हुँदै भने, ‘चलचित्र क्षेत्रबाट बिदाइ नै हुन्छु म। चलचित्र विकास बोर्डले नेपाली चलचित्र निर्मातालाई उठाउनुपर्ने ठाउँमा पेलेर सेन्सर गर्न नदिने?’

उता हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले फिल्मको कन्टेन्टमा आफूहरूको कुनै आपत्ति नरहेको भन्दै नाम फेर्नुपर्ने रट लगाए।

‘हामीले फिल्मको कन्टेन्ट हेर्यौँ। उहाँहरूले पहिले ‘श्री भागवत गीता’ नाम राख्नुभएको थियो। हामीले सात महिनाअघि नै अरु नै राख्न आग्रह गरेका थियौँ तर उहाँहरूले जितेर मान्नुभएन,’ उनले भने, ‘त्यसकारण नाम बाहेक हाम्रो अरु कुनै आपत्ति छैन।’

निर्माण टिमले फिल्मको नामबाट भागवत गीताको कुप्रचार गरिरहेको उनको आरोप छ।

‘भागवत गीताको प्रचार गरिरहनु आवश्यकै छैन। उनीहरूले त भागवत गीता भनेको त खराब चिज रहेछ। तेस्रो लिङ्गीलाई मात्र मान्यता दिने रहेछ भन्ने बुझायो नि त!’, उनले भने, ‘त्यहि भएर हाम्रो विरोध हो।’

सेन्सर बोर्ड हुँदाहुँदै फिल्म रोक्ने अधिकार तपाईंहरूलाई छैन नि भन्ने प्रश्नमा उनले कानूनको कुरै नआउने भन्दै अराजक अभिव्यक्ति दिए।

‘कानूनको त कुनै कुरै आउँदैन। नाम नफेरिए जुनसुकै हातलमा फिल्म रोकिन्छ,’ उनले थपे, ‘हामीले सचेत गराउने हो। हामीले यो फिल्म प्रदर्शन नगरोस् भनेका छैनौ, फिल्ममा यो नाम नराखोस्। नामै परिवर्तन नगरि निउँ नै खोज्नुहुन्छ भने साथीहरूको सल्लाहले जे हुन्छ, त्यहि हुन्छ।’

यसबारेमा चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले एकातिर धार्मिक सहिष्णुता कायम राख्नुपर्ने र अर्कोतिर फिल्मको अधिकार पनि स्थापित गर्नुपर्ने दोहोरो कुरा गरे। स्पष्ट कुरा गर्न सकेनन्।

उनले भने, ‘जस-जसले हाम्रो धार्मिक आस्थामा आघात पुर्याएको छ भनेर मन्त्रालय र बोर्डमा निवेदन दिनुभएको छ। मन्त्रालयबाट पत्र आएपछि छलफल र निष्कर्षमा पुग्छौँ।’

चलचित्र विकास बोर्डले ‘भागवत गीता’ नाममै फिल्म बनाउन अनुमति दिएको थियो। विवाद आएपछि निर्माण टिमले बोर्डमा दर्ता गरेको नाम परिवर्तन गर्दै ‘एक भगवत गीता’ राखेको थियो।

पहिला ‘भागवत गीता’ नाम राख्ने अनुमति दिएर अहिले किन रोक्यो भन्ने प्रश्नमा पनि प्रवक्ता बुढाथोकीले स्पष्ट जवाफ दिन सकेनन्। दुवै पक्षलाई मिल्न आग्रह गरेको रट लगाइरहे।

उता अधिवक्ता शतिशराज मैनाली भने कसैको पनि सिर्जना र अभिव्यक्तिमाथि कुनै पनि संघसंगठनले औँला उठाउन नपाउने तर्क गर्छन्। त्यसमाथि धार्मिक संघसंगठनहरू तर झन् सहिष्णु हुनुपर्ने र फरक विचारलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ।

‘यदि तपाईंले भनेकोअनुसार फिल्मको सेन्सर सिफारिस नै रोकिएको हो भने, यो त गर्नै नमिल्ने कुरा हो, कानूनसम्मत छैन। अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो,’ मैनालीले भने, ‘कसैको पनि सिर्जनालाई कुनै पनि संघसंगठनले रोक्न पाउँदैन। यदि संविधानविपरीत छ भने त सेन्सर बोर्डले नै रोकिहाल्छ नि!’

सम्बन्धित समाचारः

भदौ २२, २०८० शुक्रबार १७:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।