एमाले लुम्बिनी अधिवेशनमा गुटगत प्रतिस्पर्धा, नेतृत्वका आकाङ्क्षी भेलामा सक्रिय

एमाले लुम्बिनी अधिवेशनमा गुटगत प्रतिस्पर्धा, नेतृत्वका आकाङ्क्षी भेलामा सक्रिय

बुटवल : एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले ११ भदौमा एमाले पार्टी कार्यालयमा सम्पादकहरूको भेटघाट कार्यक्रम राखिन्।

एमाले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दैछ। त्यही अधिवेशन लक्षित गरेर उनले सम्पादकहरुसंग भेटघाट गरेकी थिइन्।

सम्पादकहरुसंगको भेटघाटमा उनले लुम्बिनीमा कुनै पनि गुट-उपगुट नभएको दाबी गर्दै अध्यक्ष पदका आकांक्षिहरुलाई गुटसँग जोडेर बाहिर चर्चा भए जस्तो यथार्थमा नभएको तर्क गरिन्।

उनले आफूले पनि गुट सिर्जना गर्न खोजको हल्ला सुने पनि त्यो गलत भएको बताएकी थिइन्।

तर त्यसको २ दिनमै पद्यमाको बोलीलाई माथ दिने गरी अधिवेशन लक्षित लुम्बिनी प्रदेशमा एमालेका गुटगत भेला र गोप्य बैठक भइरहेका छन्।

प्रदेश अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर एमाले नेताहरू भित्रै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले आ–आफ्ना गुट चलाइरहेको देखिन्छ।

लुम्बिनी प्रदेशको अधिवेशनमा वर्तमान अध्यक्ष समेत रहेका पाल्पाका राधाकृष्ण कँडेल र एमाले केन्द्रीय सदस्य समेत रहेका प्युठानका हरि रिजाल आकाङ्क्षी छन्। रिजाल पोखरेल निकट मानिन्छन्। कँडेल पौडेल निकट मानिन्छन्।

अध्यक्ष पदका आकाङ्क्षी रहेका पार्टी केन्द्रीय सदस्य रिजालको पक्षमा माहौल बनाउने भन्दै बुटवलको ढवाहको आरम्भ रिसोर्टमा मङ्गलवार रिजालको कोर टिमको गोप्य भेला राखियो। रिजालले जसरी पनि अध्यक्ष पदका अर्का आकाङ्क्षी राधाकृष्ण कँडेललाई रोक्न सक्रिय देखिन्छन्।

आरम्भमा भएको रिजालको कोर टिमको गोप्य भेलामा एमाले केन्द्रीय सदस्यहरू बलराम अधिकारी,  लुम्बिनी प्रदेशका पूर्व मन्त्री चेतनारायण आचार्य, बुटवल उपमहानगरपालिकाका पूर्व नगरप्रमुख शिवराज सुवेदी, प्रदेश सांसद भुमिश्वर ढकाल, पाल्पाका नारायण प्रसाद आचार्य, नवलपरासीका थान प्रसाद गैरे सहित करिब ३५ जना सहभागी थिए।

करिब ४ घण्टा चलेको गोप्य भेलाले अध्यक्ष नछाड्ने र यदि टिम नै बनाउनु परे टिम तयार गर्ने छलफल भएको भेलाका एक सहभागीले उकेरालाई बताए।

 ‘केन्द्रीय सदस्य पद छाडेर प्रतिनिधि भइसकेपछि अध्यक्षकै लागि हो भनेर बुझ्न कठिन छैन। मिलेर जाने अवस्था आए कसरी कुन–कुन पद दिने-लिने, टिम नै बनाउनुपरे सम्भावित नामको लिस्ट बनाउने कुरा भयो’  ती नेताले बताए।

एमाले उपाध्यक्ष पौडेलको गृह जिल्लामा हस्तक्षेप गर्दै पोखरेलले आफू निकटकालाई स्थानीय तहको निर्वाचनमा टिकट दिन सफल भएका थिए।

स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा पौडेल निकटकाले टिकट पाउन सकेका थिएनन्।

कँडेल एक वर्ष अघि मात्रै लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा आएका थिए। एमालेको लुम्बिनी प्रदेश अध्यक्ष एवं अध्यक्ष पदका आकाङ्क्षी कँडेलले गुटगत भेला भएको थाहा पाएको भन्दै यसले पार्टी भित्र र बाहिर भने राम्रो सन्देश नगएको बताए।

अध्यक्ष पदका आकाङ्क्षी रिजालले आफूले गुटगत भेला नगरी खुल्ला रूपमै मन मिल्नेहरूसँग छलफल गरेको बताए।

‘मन मिल्नेसँग गफ हुन्छ। कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ। कसरी प्रचार गर्ने भन्ने विषयमा छलफल भएको हो। गुटको भेला होइन’ उनले भने।

भदौ १३, २०८० बुधबार १४:५५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।