कान्तिपुर गाथा : विना अर्थ र व्यर्थका विवाद

कान्तिपुर गाथा : विना अर्थ र व्यर्थका विवाद

पहिलो राष्ट्रिय जन–आन्दोलन (२०४६) ले निर्दलीय पन्चायत व्यवस्थाको अन्त्य गरेर, संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना गरेपछि शुरू भएको दैनिक कान्तिपुर र अंग्रेजी दैनिक दि काठमाडौं पोष्टको प्रकाशन जनकपुरका व्यवसायी श्याम गोयन्काको परिकल्पना थियो। यी दुवै प्रकाशनका सम्पादक थिए योगेश उपाध्याय।

श्याम गोयन्का पारिवारिक हिसावले भारतका सुप्रसिद्ध मिडिया व्यवसायी रामनाथ गोयन्काका वृत्तमा थिए। रामनाथ गोयन्काको प्रकाशन दि इण्डियन एक्सप्रेस अत्यन्त प्रभावशाली माध्यम थियो। श्यामका प्रेरणस्रोत सम्भवतः रामनाथ गोयन्का नै थिए। तर, उनको सीमित स्रोत र असीमित उत्साहले कान्तिपुर प्रकाशनलाई थेग्न सकेन।

त्यसपछि त्यो कम्पनीमा दुई नौजवान व्यवसायीले प्रवेश गरे: कैलाश सिरोहिया र बिनोद ज्ञवाली। कार्पेट उद्योगका वादशाहका रूपमा आफनो पहिचान बनाउन सफल यो जोडीले कान्तिपुर दैनिकको स्वामित्व लिएपछि कम्पनीको स्थितिमा क्रमिक सुधार आउन थाल्यो। धेरै व्यवसायीले बुझे, पत्रिका चलाएर पनि पैसा कमाउन सकिने रहेछ। त्यो बुझेर धेरै मिडिया व्यवसायमा लागे। तर, अहिलेसम्म सफल कोही भएनन्। कान्तिपुर पब्लिकेशन्स मिडिया व्यवसायमा एकछत्र छायो।

जन–आन्दोलन अघिको समयमा पनि देशमा मनग्य दैनिक र साप्ताहिक पत्र–पत्रिका थिए। नेपाल टाइम्स, दैनिक नेपाल, समाज, नयाँ समाज, नवीन खबर, दि मदरल्याण्ड, दि कमनर, स्वतन्त्र समाचार, नयाँ सन्देश, मातृभूमि, प्रतिध्वनिजस्ता समाचारपत्र प्रजातान्त्रिक समाजका प्रतिनिधि र प्रवक्ताका रूपमा उपस्थित थिए। यी पत्रिकाहरूको नाम थियो, विचार थियो, तत्कालीन समाजमा पहिचान र पहूँच थियो। तर, पत्रिका सञ्चालन गर्न यथेष्ट पूँजी थिएन। 

सरकारले आफन्त पत्रकारहरूका लागि भत्ताको व्यवस्था गरेको थियो। सरकारी स्वामित्वको गोरखापत्र प्रकाशनमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको मियो बन्ने शक्ति थिएन। जतिसुकै ठूलो आकारको प्रजातन्त्र आए पनि देशमा आलोचनात्मक चेतनाको विकास भएको थिएन। प्रजातान्त्रिक संस्कारको अभाव त थियो नै। त्यो अभाव हटाउन सञ्चार क्षेत्रमा संगठित व्यावसायिक लगानीको आवश्यकता थियो।

कैलाश र बिनोदको लगनशिलताले कान्तिपुर पब्लिकेशन्सलाई गति दियो। तीस वर्षको अवघिमा प्रकाशनको विकास जुन हिसाबले भएको छ त्यो प्रशंसनीय छ। तर, प्रसिद्धि, सफलता र समृध्दिले लवालव भएको कान्तिपुर पब्लिकेशनमा कैलाश र बिनोदको मित्रता चीरस्थायी हुन सकेन। कान्तिपुरबाट बिनोद ज्ञवाली अलग भए। प्रकाशकका रूपमा उनको उदय नागरिक दैनिक र रिपब्लिकाको प्रकाशनसँगै भयो।

कैलाश–बिनोदको दोस्ती र दुश्मनीको कथा निकै रोचक होला। नयाँ जमानाका कुनै पत्रकार साथीमा जाँगर भए उनीहरूको जीवनमा आधारित एउटा रोचक पुस्तक लेख्ने र एउटा रोचक चलचित्र निर्माण गर्ने पूर्ण सम्भावना छ। यो सम्भावनाका बारे छलफल चलाउन सके राम्रै होला।

तर, मेरो यो स्तम्भ त्यतातिर निर्देशित छैन। यो म आफैँमा केन्द्रित छ। मलाई कान्तिपुरमा लेख लेख्न भनिएको थियो। सुधीर शर्मा कान्तिपुरको प्रधान सम्पादक भएको बेलादेखि अहिलेसम्म मैले लेखिराखेको छु। कान्तिपुरले छापिराखेको छ। फरक यति छ कि पहिले महिनाको चार वटा लेख छापिन्थ्यो भने अहिले दुई वटा छापिने गरेको छ। व्यवस्थापनले बजेटमा कटौति गरेको छ।

कान्तिपुरका स्थायी स्तम्भका रूपमा परिचय बनाइसकेका सुधीर शर्माले कान्तिपुरको प्रधान सम्पादक पद त्याग गरेपछि नयाँ जमानाका पत्रकार उमेश चौहान प्रधान सम्पादक बनेका छन्। उनको आगमनपछि उनले मेरो लेख महिनाको दुई शुक्रबार छापिने प्रबन्ध गरे। त्यही प्रबन्धलाई पछ्याउँदै आज शुक्रबार प्रकाशित हुने गरी बिहीबार कान्तिपुरलाई मैले आफ्नो लेख पठाएँ। तर, सम्पादन विभागका आधिकारिक व्यक्तिले मेरो लेख शुक्रबार होइन, सोमबार प्रकाशित हुने बताए। मलाई अलिकति नमज्जा लाग्यो। किनभने, पहिलोपल्ट यस्तो भएको थियो।

त्यसपछि, मैले त्यो लेख नयाँ पत्रिकाका लेख–रचना सम्पादक हरिशरण खनाललाई पठाएँ। मैले निकै लामो समयसम्म नयाँ पत्रिकामा पनि लेखेँ। पछि नयाँ पत्रिका बिस्तारै सुस्ताउन थाल्यो। एकदिन नयाँ पत्रिकाका प्रधान–सम्पादक तथा प्रकाशक कृष्णज्वाला देवकोटासँग कुराकानी गर्दा उनले ‘नयाँ पत्रिका’ भेन्टिलेटरमा रहेको बताएपछि मेरो मन मरेको थियो। खनालले आजको अंकमा मेरो लेख प्रकाशित गरे। अर्कोतिर, कान्तिपुरले पनि ‘सोमबार प्रकाशित गर्ने’ भनेको मेरो लेख आजै प्रकाशित गर्यो।

मेरो लेखका बारेमा कान्तिपुरका सम्पादकीय अधिकारीको भनाइ छ: तपाईंले हामीलाई लेख अन्यत्र दिन लागेको खबर गर्नुभएन। यो के तर्क भयो? कान्तिपुरले शुक्रबार नछाप्ने निर्णय सुनाएपछि मैले आफ्नो लेख जहाँ पठाए पनि भयो। उहाँहरूलाई सोध्ने त कुरै भएन।

तर, कान्तिपुरका सम्पादकले सोमबार छापिने भनेको लेख किन र कसरी शुक्रबार नै छापियो? यो रहस्यको ज्ञान मसँग छ। तर, म त्यस रहस्यको उद्घाटन अहिले नै गर्न चाहन्न। कान्तिपुरसँग मेरो लामै संसर्ग भयो। ‘साप्ताहिक’ नामको पत्रिकाको संस्थापक सम्पादक बनियो। नेपाल साप्ताहिकको सम्पादक पनि बनियो। धेरै लेखियो। सिकियो। जानियो। सिकाइयो। समय रमाइलो बित्यो। अहिले आएर बित्थामा एउटा लेखमा विवाद निस्कियो। यसको के अर्थ?

कान्तिपुर अहिले ठूलो प्रकाशन संस्था बनेको छ। यसका व्यावसायिक हाँगाबिंगा फैलिएका छन्। समृध्दि छ। तर, देशको प्रभावशाली समाचार संस्थाका रूपमा यो खुम्चिएर फैलिएको छ। यसमा विनयशीलता छैन। व्यावसायिकता छैन। विना अर्थ र व्यर्थका विवाद शुरू भएका छन्। कर्मचारीहरूमा असन्तोष बढ्दो छ। राष्ट्रिय स्तरमा फैलिएको असन्तोषको सर्वेक्षण गर्ने संस्थामा नै असन्तोष फैलिनु सुखद् होइन।

मलाई लाग्दछ– खुम्चिएर फैलिनु राम्रो होइन। कान्तिपुरले नेपाली पत्रकारितालाई समृध्द र सम्पन्न गराउन अझ धेरै काम गर्न बाँकी नै छ। कान्तिपुर समाचार छापिएको कागज, त्यही कागजमा छापिएको विज्ञापन र मानिस हराएको सामान्य सूचना बेच्ने सामान्य कम्पनीमात्र होइन।

यसले आफूलाई सञ्चार जगतको अग्रणी व्यावसायिक संस्था बनाउनुपर्दछ। यसका आफ्नै दिग्गज स्तम्भकार हुनुपर्दछ। यसले देशका बुद्धिजिवी, चिन्तक र अन्वेषकहरूका बीच समझदारी बढाउनुपर्दछ। यसका आफ्नै सत्य–तथ्य निरूपण गर्ने स्वतन्त्र अधिकारी हुनुपर्दछ। तब न मजा आउँछ।

८ भदौ, २०८०, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।