समाजशास्त्र विभागले गैरकानुनी रुपमा करार शिक्षक नियुक्ति गरेको भन्दै अख्तियारमा उजुरी

समाजशास्त्र विभागले गैरकानुनी रुपमा करार शिक्षक नियुक्ति गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागले नियम मिचेर करारमा शिक्षक नियुक्ति गरेको भन्दै अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ। 

अख्तियारमा ‘अवैधानिक विज्ञापन र नतिजा प्रकाशन गरी भ्रष्टाचार गर्ने उपर कारबाही गर्ने बारे’ भन्ने शीर्षकमा भदौ १ गते निवेदन परेको हो।

निवेदनमा त्रिभुवन विश्वविद्यालयको नियम अनुसार कार्यभार विभागको विद्यमान स्थायी जनशक्तिलाई समेत नपुग्ने तर विभागले अवैधानिक कार्यभार बढी देखाइ करार शिक्षक नियुक्ति गरेको उल्लेख छ। 

त्यस्तै करार शिक्षक लिखितमा नाम निकालेका शिक्षकलाई अन्तर्वार्ता र कृति मूल्यांकन मध्ये एक मात्रै मूल्यांकनमा सहभागी गराउनु पर्नेमा नियतवश एकै प्राध्यापकलाई दुवै प्रक्रियामा सहभागी गराइएको आरोप लगाइएको छ।

निवेदनमा लेखिएको छ, ‘यस करार प्रक्रियामा लेख रचनाको मूल्यांकन गर्ने र अन्तर्वार्ता लिने व्यक्तिहरू एउटै रहेकाले त्रिविको नियमवली विपरीत रहेको छ।’ त्रिवि सेवा आयोगको विनियम २०७५ को कृति मूल्यांकन सम्बन्धी परिच्छेद १४ को १ देखि ५ सम्मको सम्पूर्ण उपविनियमहरू उल्लंघन गरेको देखिन्छ।

त्यस्तै निवेदनमा २०८० साउन २४ गतेको मिति राखेर साउन ३१ गते नतिजा प्रकाशन गरी फेसबुक मार्फत सार्वजनिक गरिएको दाबी गरिएको छ। 

त्यस्तै प्रकाशित नतिजामा वैकल्पिक सूचीमा कसैलाई पनि नराखिएको र नतिजा उपर दाबी विरोधको लागि आवश्यक निश्चित समय सीमा प्रदान गर्नुपर्नेमा सो समेत नगरी एक पक्षीय नतिजा प्रकाशित गरी अवैधानिक रुपमा कार्यकर्ता भर्ती गरिएको भन्दै निवेदन पेस भएको छ।

उजुरीकर्ताहरूले मूल्यांकनमा सहभागी प्राध्यापक डा. मेनुका केसी र प्राध्यापक डा. सुरेन्द्र मिश्रविरुद्ध पनि उजुरी दिएका छन्।

यो पनि

८ भदौ, २०८०, १३:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।