ललिता निवासबारे ‘चुहिएको’ प्रस्तावित रायमा पूर्वमन्त्री जोशी ‘फरार’, सीआईबीका एसएसपी भन्छन्- ‘त्यो सत्य हैन’

ललिता निवासबारे ‘चुहिएको’ प्रस्तावित रायमा पूर्वमन्त्री जोशी ‘फरार’, सीआईबीका एसएसपी भन्छन्- ‘त्यो सत्य हैन’

काठमाडौं : महाराजगञ्जमा रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय परिसरमा लौरो टेकेर हातमा फाइल च्यापेका पूर्वमन्त्री चन्द्रदेव जोशीको तस्बिर अझै हटेको छैन।

तीन दिनअघि उनले तस्बिर राख्दै लेखेका थिए- ‘पहिलो पटक सीआईबी प्रमुख आफैँले बयानका लागि भनेर बोलाउनुभयो। तर फेरि अहिले नआउनु भनि खबर आयो। फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनि फर्काइयो। भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ। म फरार छुँइन।’

भोलिपल्ट उनले तस्बिर नराखी फेसबुकमा सीआईबीमा बयान दिएको लेखे।

उनले लेखेका छन्, ‘अन्ततः बोझबाट हलुका भएको छु। सीआईबी समक्ष बयान दिएर आइयो। सीआईबीलाई धन्यवाद। ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ। चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु।’

सीआईबीले जोशी लगायतलाई कार्यालयमा बोलाएर बयान लिए पनि दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अनि बाबुराम भट्टराईको हकमा भने घरमै गएर बयान लियो। यतिमात्रै होइन ठाडो कागज गराएर प्रतिवादी हैन सरकारी साक्षी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय बुझायो।

दुई सय ६८ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको प्रतिवेदन दावी गर्दै सार्वजनिक भएको सूचीमा जोशीको नाम २५३ मा छ अनि अवस्था फरार।​​​​​​​ सीआईबीले जोशीलाई तत्कालीन भूमि सुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीको रूपमा प्रतिवादी बनाएको हो।

प्रतिवादीको सूचीमा जोशीसँगै तत्कालीन अर्का भौतिक मन्त्री विजयकुमार गच्छदार अनि डम्बर श्रेष्ठको अवस्था पनि फरार उल्लेख छ। अर्का, सञ्जयकुमार साह भने नक्खु कारागारमा छन्।

तर सीआईबीका एसएसपी दिनेश आचार्य कहाँ के सार्वजनिक हुन्छ त्यसमा सीआईबीको सरोकार नभएको भन्दै जोशी फरार नभई हाजिर जमानीमा रहेको उकेरालाई बताए।

‘कार्यालयमा आएर बयान दिएको व्यक्ति कसरी फरार हुन्छ?’ सीआईबीका एसएसपी आचार्यले उकेरासँग भने, ‘हाम्रो रेकर्डमा उहाँ हाजिर जमानीमा हो। अन्य थाहा भएन।’

विभिन्न अनलाइन न्युज पोर्टलहरूले अहिले सरकारी साक्षी बनाइएका पूर्व प्रधानमन्त्री नेपाल अनि भट्टराईसहितले गरेको कागज र बयान दाबी गर्दै सार्वजनिक भएको सूचीमा प्रतिवादीहरू रामकुमार सुवेदी, मावधी सुवेदी अनि शोभाकान्त ढकाल, रमेशकुमार पोखरेल, धर्मप्रसाद गौतम, रमेशकुमार पोखरेल र लोकहरी घिमिरेलाई सीआईबीले हाजिरी जमानीमा रहेको उल्लेख छ।

सुधिरकुमार शाह, शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कलाधर देउजा, घमनकुमार कार्की, मिनबहादुर गुरुङ लगायतकाहरू भने हिरासतमा छन्।

७ भदौ, २०८०, १७:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।