टिकापुरमा बगेको रेशमको 'नक्कली' आँसु, दुई वर्षमै मारिएका बालकको सालिक अनावरण गर्दै बाबुलाई अँगालो मारे

टिकापुरमा बगेको रेशमको 'नक्कली' आँसु, दुई वर्षमै मारिएका बालकको सालिक अनावरण गर्दै बाबुलाई अँगालो मारे

धनगढी : सर्वोच्च अदालतबाट टिकापुर घटनाको मुख्य योजनाकार ठहरिएका रेशमलाल चौधरीले सो घटनामा घरमा सुतिरहेको बेला मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरे। टीकापुर घटनाको आठ वर्ष पुगेको दिन पारेर बिहीबार उनले बालकको सालिक अनावरण गरेका हुन्।

सर्वोच्च अदालतले आठ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाको मुख्य योजनाकार चौधरी नै रहेको र सो घटना आकस्मिक नभई आपराधिक मनोवृत्ति भएकाकोहरुको पूर्व योजनामा भएको ठहर गरेको थियो।

सर्वोच्चले टिकापुर घटनालाई बिर्सन लायक तर बिर्सन नसकिने घटनाको रूपमा फैसलाको पूर्ण पाठमा व्याख्या गरेको थियो भने नाबालक साउदको हत्या प्रदर्शनकारीकै तर्फबाट भएको ठहर गरेको थियो। तीनै तहको अदालतबाट जो नाबालकको हत्याका मुख्य मतियार ठहरिएका छन् उनैले सालिक अनावरण गरे बिहीबार।

चौधरीले टेकबहादुर साउद स्मृति प्रतिष्ठानले बनाएको सालिक अनावरण गरेका थिए। कार्यक्रममा चौधरीकी श्रीमती तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँगै टेकबहादुर साउदका बाजे जङ्ग साउद र आमाबुवा समेत सहभागी थिए।

अदालती बयानमा साउदका हजुरबाले आन्दोलनको क्रममा ज्यान जोगाउन केही सुरक्षाकर्मीहरू आफ्नो घरमा आएर लुकेको रिसमा प्रदर्शनकारीको तर्फबाट चलेको गोली लागेर नाबालक नातिको ज्यान गएको बताएका थिए।

सालिक अनावरण कार्यक्रममा चौधरीले सानै उमेरमा छोरा गुमाएका साउदका बुवा नेत्रलाई अँगालो मार्दै आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको दाबी गरेका थिए।

जिल्ला, उच्चहुँदै सर्वोच्च अदालतबाट समेत रेशम सो घटनाको मुख्य योजनाकार ठहरिए पनि राजनीतिक सौदाबाजी गर्दै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट उनको बाँकी कैद सजाय माफी गराएको थियो।

केन्द्र र प्रदेशमा सरकारका लागि रेशम संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन चाहिने भएपछि सत्ताधारी दल नै उनलाई माफी गराउन सक्रिय भएका थिए। तर सोही घटनामा दोषी ठहर भएर कारागारमा रहेका अन्यको कैद भने मिनाहा भएको छैन।

७ भदौ, २०८०, १५:५६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।