बाढी पहिरोका कारण सात राजमार्ग अवरुद्ध, ४९ सडक एकतर्फी संचालनमा

बाढी पहिरोका कारण सात राजमार्ग अवरुद्ध, ४९ सडक एकतर्फी संचालनमा

काठमाडौं : भदौरे झरिका कारण आएको बाढी पहिरोका कारण सात राजमार्ग अवरुद्ध छन्। ४९ वटा सडक एकतर्फी रुपमा सञ्चालन छन्।

सडक विभागले दिएको जानकारी अनुसार तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार अमरापुरडाँडा–गणेशचोक, कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान– धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का सडक खण्ड बन्द छ।

यस्तै, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेसी, नाग्मा–जुम्ला सडक, डुम्रे–बेशीसहर र सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्ड बन्द रहेको विभागले जनाएको छ। 

पहिरोका कारण बिहान केहीबेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले भने दुईतर्फी नै सञ्चालन भइरहेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक बिहान सात बजेतिर पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो। 

त्यसपछि पहिरो पन्छाएर एकतर्फी सडक खुलाइ गाडी पास गराइएको थियो। यो सडक पहिरोका कारण पटक–पटक बन्द हुँदै आएको छ। 

प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ।

७ भदौ, २०८०, १२:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।