संस्कृत विश्वविद्यालयमा ताला राजनीति : नेविसंघले लगाएको ताला खुलेको हप्तादिन नपुग्दै  अखिल क्रान्तिकारीको भोटे ताल्चा

संस्कृत विश्वविद्यालयमा ताला राजनीति : नेविसंघले लगाएको ताला खुलेको हप्तादिन नपुग्दै  अखिल क्रान्तिकारीको भोटे ताल्चा

दाङ : दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले भोटे ताल्चा लगाएको छ। 

नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले भोटे ताल्चा ठोकेको हो। 

यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो। 

तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो।

अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ।अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभयप्रताप चौबे र गणेश पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्द गर्न माग गरेका छन्।

बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ। यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो।

त्यस्तै असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो । दुई विद्यार्थी संगठनले लगाएको ताला ६ दिनअघिमात्र खोलिएको थियो ।

यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरु स्थगित भएका थिए। 

सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो।

सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरी परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएको छ।

५ भदौ, २०८०, ११:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।