सेतीमा बिरामीको मृत्यु भएपछि तनाव, शव नउठाउने आफन्तको अडान

सेतीमा बिरामीको मृत्यु भएपछि तनाव, शव नउठाउने आफन्तको अडान

कैलाली :  सेती प्रादेशिक अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ।  

सोमवार दिउँसो एक्कसी बेहोस् भएपछि उपचारका लागि अस्पताल ल्याइएका धनगढी उपमहानगरपालिका –१० का ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव सिर्जना भएको हो।

मिर्गी हुने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्। 

मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्षमा उपचार नगरिदा काका अरूणको मृत्यु भएको बताइन्। 

दिउँसो १२ बजे सेती अस्पतालको आकस्मिक कक्षमा पुगेका अरुणलाई टिकट काट्न टिकट काउन्टरमा पठाइएको र त्यसपछि ओपिडी कक्षमा एक घण्टासम्म डाक्टर नआएपछि उनको मृत्यु भएको मृतकी भतिजी सोनियमले बताइन्।​​​​​​

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले डाक्टरले लापरबाही गर्दा भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएकी छिन्। 

आफन्तले दोषी डाक्टरलाई कारबाही नहुँदासम्म शव नउठाउने अडान राखेका छन्।

४ भदौ, २०८०, १७:५१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।