फिल्म समीक्षा : ‘जुलेबी’, ल्यान्डिङमा चुकेको ‘बहुला पानी’को अपूरो कथा
निर्देशक गणेशदेव पाण्डेले फिल्म ‘जुलेबी’को प्रचारका क्रममा जुन कथामाथि फिल्म बनाएको दाबी गरेका थिए, त्यही बेलामा नेटफ्लिक्समा रिलिज भएको भारतीय सिरिज ‘लस्ट स्टोरीज’को झल्को दिइसकेको थियो।
तर उनले फिल्म ‘गाँजा बाँजा’मा जसरी कथाको ट्रिटमेन्ट गरेका थिए, त्यसले केही भिन्न हुनसक्ने आशा जीवितै राखेको थियो। तर, रत्नपार्कलाई केन्द्रमा राखेर उनले निर्माण गरेको फिल्म ‘जुलेबी’ त्यही ‘लस्ट स्टोरिजÚको नेपाली भर्सन भन्दा भिन्न हुन सकेन।
गणेशदेवले समाजका भिन्न भिन्न पात्रहरू एकै थलोमा भेला पारेर उनीहरूको दैनिक जीवनको सङ्घर्षलाई यौनसँग लगेर जोडेका छन्।
भिन्न भिन्न पात्रको यौन जीवन र यौन मनोविज्ञान पस्कन किशोरकालको यौन आकर्षणदेखि यौनकर्मीसम्मको यौन जीवनलाई समेट्ने प्रयास गरेका छन्।
उनले पात्रहरू भेला पारे। चरित्र पनि निर्माण गरे। तर, पात्रका भिन्न भोगाई र भिन्न कथाहरूलाई एकै धागोमा जोडेर प्रस्तुत गर्न चुके। पात्रहरूसँगै उनीहरूका कथा पनि छरिए। कथाको ल्यान्डिङ यसको सबैभन्दा कमजोर पक्ष हो।
बागबजारको कामदार, विदेश जान पैसाको जोहो गर्न रत्नपार्कमा यौनकर्मी बन्न बाध्य महिला, हराएको श्रीमान्सँगै यौन तृप्तिको खोजीमा रहेकी महिला, यौन सम्बन्धबाट असन्तुष्ट उच्च वर्गकी महिला अनि किशोर उमेरको शारीरिक आकर्षणले निम्त्याउने सङ्कट। यही वरिपरि घुमेको छ फिल्म।
यो फिल्मको सबैभन्दा बलियो पक्ष नै कास्टिङ हो। फिल्मका लागि कलाकार चयनमा निर्देशकले गरेको मिहिनेत फिल्ममा प्रस्टै देखिन्छ। अनि कलाकारहरूले जुन स्तरको अभिनय गरेका छन्, त्यो न्याय गरेका छन्।
सुशील सिटौला अनि मोनिका थापा आफ्नो पात्रमा जमेका छन्। विदेश जान आवश्यक रकम जोहो गर्न यौनकर्ममा लागेकी पात्रको अभिनय गरेकी सुरक्षा पन्तको अभिनयमा खोट लगाउने ठाउँ छैन।
आर्मीले बेपत्ता बनाएको श्रीमान्को खोजीमा सक्रिय पात्रको भूमिकामा उषा रजकले दमदार अभिनय गरेकी छिन्। बेपत्ता श्रीमान् फेला पार्ने हुटहुटीसँगै शारीरिक भोकको अतृप्त इच्छा मेटाउने उनको चाहनालाई उत्कृष्ट रूपमा फिल्ममा समेटिएको छ।
धनाढ्य परिवारकी सदस्य भएर पनि यौन भोक मेट्न नपाएकी पात्रको भूमिकामा रहेकी निशा अधिकारीको अभिनय कमजोर देखिन्छ अन्य कलाकार अगाडि। उनका संवादहरू झर्को लाग्दा छन्।
विवेक खड्काले फिल्मको छायांकन राम्रै गरेका छन्। क्यामरा वर्कहरू खोट लगाउनुपर्ने स्थान कमै छन्। कोसिस क्षेत्रीको म्युजिक फिल्ममा सुहाएको छ।
यौनका सहायक कथाहरू भेला पारेर पस्कँदा निर्देशकले कथाहरूलाई छरिनबाट जोगाउन सकेनन्। केही संवाद अनि दृश्यहरू किन राखेको हो, सायद निर्देशक पनि अलमल पर्न सक्छन्।
फिल्मको नामकरण ‘जुलेबी’ किन? सङ्केत मात्र देखिन्छ। यौन सम्बन्ध गुलियो हुनुपर्छ भावलाई निर्देशकले साङ्केतिक रूपमा लिएर फिल्मको नाम ‘जुलेबी’ जुराएको देखिन्छ। तर, जबरजस्ती राखिएको यौन सम्बन्ध जुलेबी जस्तै गुलियो हुन सक्छ र!
फिल्म ‘गाँजा बाजा’बाट राम्रो सम्भावना देखाएका निर्देशक हुन् पाण्डे। उनले त्यो प्रयास ‘जुलेबी’मा पनि नगरेका हैनन्, गरेका छन्। नेपालमा भिन्न जनाराको फिल्म निर्माण नै दुर्लभ बन्दै गएको बेलामा एडल्ड कन्टेन्टमा यत्तिको फिल्म बनाउन सक्नु राम्रो मान्न सकिन्छ।
‘लस्ट स्टोरीज’को झल्को आए पनि हलमा गएर एक पटक फिल्म हेर्दा थकथक मान्नु पर्दैन।
भदौ ३, २०८० आइतबार २२:०८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।