अख्तियारका पूर्व सहायक प्रवक्ता पाँच मुद्दामा भ्रष्टाचारी ठहर

अख्तियारका पूर्व सहायक प्रवक्ता पाँच मुद्दामा भ्रष्टाचारी ठहर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायक प्रवक्ता समेत भइसकेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचारको पाँच मुद्दामा दोषी ठहर भएका छन्।

दोलखाका प्रमुख जिल्ला अधिकारी रहँदा सेवाग्राहीलाई धम्क्याएर रकम असुलेको आरोप लागेका उनी विरुद्ध परेको मुद्दामा विशेष अदालतले मङ्गलवार दोषी ठहर गरेको हो।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको संयुक्त इजलासले रिजाललाई दोषी ठहर गर्दै उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला गरेको हो।

अख्तियारले रिजालमाथि चार वटा मुद्दा लगाएको थियो। नक्कली बिल बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौँ मुद्दा समेत थपिएको थियो।

उनीमाथि महिला सम्बन्धी मुद्दा लगाइदिन्छु भनेर धम्क्याउँदै रकम असुलेको आरोप लागेको थियो। चार वटा मुद्दामध्ये पहिलोमा ३५ हजार, दोस्रोमा ९० हजार बिगो माग दाबी गरिएको थियो।

उनीमाथि डेढ लाख मागेर ५० हजार रुपैयाँ घुस लिएको तेस्रो अभियोग लाग्यो। चौथो मुद्दामा चार लाख बिगो माग दाबी भएको थियो। चार लाखमध्ये माछापुच्छ्रे बैङ्कमा नै राखेको २ लाख जफत गर्न र बाँकी २ लाख असुल्न अख्तियारले मागदाबी लिएको थियो।

उनीमाथि दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा कार्यालयमा बसेर फिल्डमा खटिएको भनी ७७ हजार ६ सय रुपैयाँ भत्ता लिएर भ्रष्टाचार गरेको थप अभियोग लागेको थियो।

३० साउन, २०८०, १८:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।