नक्कली प्रचण्ड बन्ने सक्कली घनश्याम क्यान्सरसँग जुध्दै, अस्पतालको बेडबाट सम्झँदैछन् दर्शक

नक्कली प्रचण्ड बन्ने सक्कली घनश्याम क्यान्सरसँग जुध्दै, अस्पतालको बेडबाट सम्झँदैछन् दर्शक

काठमाडौँ :  कलाकार घनश्याम गौतम वैशाखदेखि नाटकको तालिममा व्यस्त थिए। हास्य विधामा नक्कली प्रचण्डको परिचयले परिचित उनी प्राय काठमाडौँ भन्दा पनि बाहिरी जिल्लामै व्यस्त हुन्छन् अभिनयको प्रशिक्षणमा।

बिस्तारै उनमा ट्वाइलेटमा समस्या देखिन थाल्यो। पहिला त पायल्स होला भनेर औषधि खाइरहे। जेठ १५ बाट अलि गाह्रै भएपछि केएमसीमा इन्डोसकोपी गराए। रिपोर्ट आउँदा क्यान्सर देखियो।

अनि उनी भक्तपुर क्यान्सर अस्पताल भर्ना भए उपचारका लागि।

‘क्यान्सर भएको थाहा पाएपछि म त छाँगाबाट खसेजस्तै भए। जीवन सकियो अब भन्ने जस्तै पनि लाग्यो,’उनले भावुक हुँदै भने,‘तर, कलाकारहरूले अस्पतालको बेडमा नै आएर केही हुन्न भनेर आत्मबल दिएपछि अहिले बाँच्छु जस्तो लागेको छ।’

OOO

वि.स.२०५१ सालमा रेडियो नेपालमा नाटकमा अभिनय गरेका थिए उनले। वासुदेव मुनालको बाल नाटक ‘आऊ मेरा प्यारा भाइ बहिनीहरू,रेडियो नजिक आऊ' भन्दै बाल कार्यक्रम सुरु गर्थे। उनी त्यसको नाटकमा अभिनय गर्थे।

एक दशक अघि हास्य सिरियल ‘झ्याइँ कुटी झ्याइँ’मा उनले प्रचण्डको क्यरिकेचर गरे। त्यसपछि उनको परिचय बदलियो नक्कली प्रचण्डको रूपमा। 'मेरी बास्सै'मा पनि नक्कली प्रचण्ड नै बने।

उनले ‘मेरी बास्सै, झ्यानाकुटी झ्याइँ, जिरे खुर्सानी, गोलमाल, टेन टु फाईभ, खासखुस,हाक्का हाक्की,लगायत थुप्रै सिरियलमा काम गरी सकेका छन्।

फिल्म ‘लक्का जवान’मा समेत अभिनय गरेका घनश्यामको जीवनको पाना अहिले बदलिएको छ। उनी आन्द्राको क्यान्सरको उपचारमा छन्। अहिले अलि सन्चो अनुभव भएको बताउँछन् उनी।

‘यति धेरै कलाकारहरू आएर मलाई केही हुन्न भनेपछि म एक्लो रहेनछु भन्ने लाग्यो। आत्मबल उच्च भयो,’उनले लामो सास फेर्दै भने,‘जति खर्च लागे पनि तपाईँलाई हामी खर्च गर्छौ, बचाउँछौ भनेपछि अहिले बाँच्छु भन्ने आस लागेको छ।’

क्यान्सरको उपचार महँगै छ। कति खर्च लाग्छ एकिन छैन। चलचित्र कलाकार सङ्घका अध्यक्ष,उपाध्यक्ष लगायतका कलाकारले भेटेर  केही आर्थिक सहयोग गरेका रहेछन्। बाँकी आफ्नै खर्च।

‘उपचारमा कति खर्च लाग्छ थाहा छैन। यो अलिक महँगो पर्दो रहेछ। साथीभाइ र मान्यजन व्यक्तिहरूले आर्थिक जुटाइदिएको सहयोगले नपुग्ने कुरै भएन। राज्यले पनि केही सहयोग गरिदिए हुन्थ्यो,‘उनले भने।

उनका अनुसार अहिले उपचारका लागि ३ लाख रुपैयाँ जम्मा भएको छ। विभिन्न संघसंस्थाहरुले पनि उनको खातामा पैसा पठाइरहेका रहेछन्।

गाईजात्रा मिस गरिरहेका छन्

हरेक वर्ष राष्ट्रिय सभा गृह त कहिले प्रज्ञा भवनमा हुँदै आएको गाईजात्रामा गरेको अभिनय हस्पिटलको बेडबाटै सम्झिएका छन् उनले।

ती कार्यक्रममा उनी कहिले प्रचण्ड त कहिले शेर बहादुर देउवा बनेर दर्शक हँसाए। यो पाली त सम्झना मात्रै।

‘कोरोनाको समयमा हलमा गाईजात्रा गरिएन। भिडियोमार्फत गाईजात्रा निकालेका थिए' उनले उकेरासँग भने' यस पटक दमन रुपाखेती लगायतको टिम मिलेर गाईजात्रा गर्ने कुरा चल्दै थियो। म बिरामी परे। यस पटक त खेल्नै पाइनँ।’

अभिनय गरिरहने मान्छे कहिले घर त कहिले हस्पिटलमा कुँज्जिएर बस्नु पर्दा नमिठो लागेको उनले बताए।

‘मैले काम गर्दै आएको हातेमालो सञ्चार,चलचित्र कलाकार सङ्घ,चलचित्र विकास बोर्ड लगायत साथीभाइहरूको सहयोग पाए भने म यो रोगलाई जितेर अर्को साल दर्शकमाझ गाईजात्रा लिएर आउने छु,‘उनले भने ।

कसरी जन्मियो नक्कली प्रचण्ड ?

विभिन्न कार्यक्रममा उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत हँसाएका छन्।

‘माओवादीका नेता भूमिगत भएको अवस्थामा क्यारेक्टर गर्न गोठाटारका शैलेन्द्र रायमाझीसँग मिलेर ‘एमपी र मर्ने बेलामा हरियो काँक्रो’ प्रहसन गरे।

त्यहीबाट प्रचण्डको क्यारेक्टर निस्किएको उनले सुनाए। दर्शकले पनि मन पराए। अनि उनले निरन्तरता दिए।

३० साउन, २०८०, १५:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।