हत्या गरेर फरार भएकालाई खोजेर थाकेको प्रहरीले शिवरामलाई केन्द्रीय कारागारमै भेट्टायो

हत्या गरेर फरार भएकालाई खोजेर थाकेको प्रहरीले शिवरामलाई केन्द्रीय कारागारमै भेट्टायो

काठमाडौँ : चोरीमा मुद्दामा केन्द्रीय कारागार नक्खुमा रहेका व्यक्ति हत्या आरोपित भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

थानकोटको चोरी मुद्दामा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा रहेका शिवराम अधिकारी नै मकवानपुरको मनहरा गाउँपालिका-३ की अप्सरा भनिने नारायणी तिमिल्सिनाको हत्यारा भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धानबाट पत्ता लगाएको हो। 

२०७४ साल पुस २९ गते हत्या भएकी तिमिल्सिनाको शव भने त्यसको भोलिपल्ट अपराह्न साढे ४ बजे प्रहरीले फेला पारेको थियो। 

ज्यामी काम गर्दै आएकी ५० वर्षीया तिमिल्सिनाको शव काठमाडौँको बल्खु भुवनेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा हत्या गरेर फालिएको अवस्थामा फेला पारेको थियो।  

उक्त समयमा नाम थर वतन नखुलेकी तिमिल्सिनाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो। 

मृतक (तिमिल्सिना) को शरीर  खानतलासी गर्दा प्रहरीले सानो किप्याड मोबाइल फेला पारेको र उक्त मोबाइलमा भएको डायल नम्बरका आधारमा प्रहरी शिवरामसम्म पुगेको हो। 

घटनाको दिन मृतकसँग बारम्बार बढी फोन सम्पर्क भएका नम्बरहरूको अनुसन्धान गर्दा मृतकसँगै ज्यामी काम गर्ने धादिङ मुलपानी घर भएका शिवराम अधिकारी भएको पुष्टि भएको प्रहरीको अनुसन्धानले देखाएको छ। 

तर शिवराम घटनापछि फरार भएका थिए। परिवारका सदस्यसँग शिवरामबारे बुझ्दा उनी २०७४ पुस २९ गतेदेखि घर नआएको प्रहरीले जानकारी पाएको थियो। साथै परिवारका सदस्यलाई फोन सम्पर्क पनि नगरेको भन्ने जानकारी आएपछि प्रहरीले केही सुराक पाउन सकेको थिएन। 

पछि शिवराम उदयपुरको कटारी एरिया बसेका, त्यसको केही दिनपछि सिराहाको मिर्चैयामा देखापरेका, फेरि त्यसको केही दिनपछि मकवानपुर हुँदै धादिङ फर्किएर सल्यानटार एरियामा देखा परेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो। 

त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली शिवरामलाई खोज्न धादिङ गएको थियो। तर उनी फेला परेनन्। 
पछिल्लो समय भने काठमाडौँको रामकोट एरियामा तरकारी टनेल सञ्चालन गर्दै आएको भन्ने सूचना आएपछि प्रहरी टोलीले त्यहाँका स्थानीयसँग शिवरामको फोटो देखाएर अनुसन्धान गरेको थियो। शिवरामको परिवार बस्ने टहरा र टनेल भेट्टाए पनि प्रहरीले शिवराम पक्राउ गर्न सकेन। 

तर शिवरामकी श्रीमती नानीमायाले कारागारमा निरन्तर सम्पर्क गरेको देखिएपछि भने प्रहरी शिवराम निजक पुग्यो। बुझ्दै जाँदा प्रहरीले अर्जुन अधिकारी भन्ने व्यक्ति भेट्टायो। अन्त्यमा तिनै अर्जुन भन्ने व्यक्ति नै शिवराम रहेको तथ्य प्रहरीले पत्ता लगायो। 

शिवरामका आफन्तसँग बुझ्दा उनी थानकोटको चोरी मुद्दामा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको भन्ने प्रहरीले जानकारी पायो। त्यसपछि प्रहरीले केन्द्रीय कारागारमा पत्राचार गरेको थियो। 

२०७९ कात्तिक ६ गते शिवरामलाई चोरी गर्दागर्दै थानकोट प्रहरीले पक्राउ गरेको थियो। अदालतले उनलाई ०७९ कात्तिक २९ गते नकवजनी चोरी (भित्ता फोरेर चोरी) मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको भेटिएको छ। केन्द्रीय कारगारमा रहेका शिवरामलाई पीडितको जाहेरी लिई थप अनुसन्धानको लागि अहिले प्रहरी वृत्त कालीमाटी पठाइएको छ। 

२९ साउन, २०८०, १४:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।