साइबर सुरक्षाको विषय विद्यालय तहकै पाठ्यक्रममा राखिने, सुरक्षा फिनिसिङ स्कुलको व्यवस्था

साइबर सुरक्षाको विषय विद्यालय तहकै पाठ्यक्रममा राखिने, सुरक्षा फिनिसिङ स्कुलको व्यवस्था

काठमाडौँ : सरकारले साइबर सुरक्षासम्बन्धी विषयलाई विद्यालय तथा उच्चशिक्षाको पाठ्यक्रममा समावेश गर्ने भएको छ। राष्ट्रिय साइबर नीति २०८० मार्फत सरकारले साइबर सुरक्षा सम्बन्धी अध्ययनलाई प्राथमिकतामा राखेको हो।

नीतिमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थासँगको सहकार्यमा साइबर सुरक्षा फिनिसिङ स्कुलको व्यवस्था गर्ने समेत उल्लेख छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयहरुसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने, साइबर सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान तथा विकासका लागि विश्व विद्यालयहरुलाई प्रोत्साहन गरिने नीतिमा उल्लेख छ।

साइबर सुरक्षा क्षेत्रमा कार्यरत सार्वजनिक निकायका जनशक्तिको क्षमता बढाउन अन्तराष्ट्रियस्तरको तालिम र सार्वजनिक तथा नीति क्षेत्रमा रहेका सूचना सुरक्षा पेसाकर्मीहरूको योग्यता पहिचान गरेर नियमित क्षमता विकास गर्ने व्यवस्था गरिने उल्लेख छ।

नीतिमा संवेदनशील सेवा प्रदायकहरू समेटिने गरेर वार्षिक रूपमा राष्ट्रिय साइबर ड्रिलको आयोजना गरिने उल्लेख गरिएको छ।

२६ साउन, २०८०, १५:०३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।