‘दीप श्रेष्ठको हर रात सपनीमा गीत सुन्दा मलाई छट्पटी हुन्थ्यो’

‘दीप श्रेष्ठको हर रात सपनीमा गीत सुन्दा मलाई छट्पटी हुन्थ्यो’

काठमाडौं : नेपाली युवापुस्तामा चर्चामा रहेका गायक हुन् महेश काफ्ले।

सानै उमेरबाट गीत गाएर आफुलाई गायनमा स्थापित गरेका महेशले दर्जनौँ गीत गाइसकेका छन्। उनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरूका पाँच गीतहरू यसरी छानेका छन्।

आफ्नो गीत

सानिमा मार्देऊ बरु बगाइदेऊ पानीमा 

मैले बाल्यकालमा गाएको यो गीत अहिले पनि उत्तिकै चर्चामा छ। मलाई नेपाली स्रोतामाझ चिनाउन यो गीतको अहम् भूमिका छ।

त्यसैले पनि यो गीत मेरो लागि निकै स्पेशल छ। यो गीतलाई मेरो बुवा भोजराज काफ्लेले शब्द संगीत गर्नुभएको छ। उहाँले सानैमा मलाई गीत गाउन लगाउनुभएको हुनाले पनि मुख्य प्रेरणाको रूपमा लिने गरेको छु। 

नाच फिरिरी

वयस्क भइसकेपछि मैले संगीत क्षेत्रमा पुनरागमन गरेको यो गीत स्रोतामाझ अझ चिनाएको छ। यो गीतले मलाई महेश काफ्ले भनेर चिनाउन सफल गीत हो। यो गीतमा मैले आफै शब्द तथा संगीत गरेको छु।

मलाई गायनमा मेलिना राईले साथ दिनुभएको छ। युगल गायनमा रहेको यो गीत आज पनि उत्तिकै ताजा र सापेक्ष रहेको म पाउँछु। मलाई लाग्छ यो गीत लामो समयसम्म बाँचिरहने छ। त्यस कारण पनि मलाई यो गीत प्रिय लाग्छ। 

लज्जावती झार 

लजाउने केटाको रमाइलो विषयमा रचिएको यो गीत आजसम्म उत्तिकै चर्चामा छ। सुमधुर र कर्णप्रिय गीतको रूपमा श्रोता दर्शकले यो गीतलाई स्वीकार गरिदिनुभएको छ। यो गीतमा पनि मेरो आफ्नै शब्द संगीत छ भने गायनमा अस्मिता अधिकारीले साथ दिनुभएको छ। युगल गायनमा रहेको यो गीतलाई म बेला बेलामा गुनगुनाइरहेको हुन्छु। यो गीत सुन्दा अहिले पनि मलाई सुमधुर अनि प्रिय लाग्छ। 

माया बिरानी

युट्युबमा ९ करोड १० लाख पटकभन्दा बढी हेरिएको यो गीतलाई स्रोता तथा दर्शकले अत्यन्त मन पराइदिनुभएको छ। मेला महोत्सव, विवाह, ब्रतबन्धजस्तो रमाइलो माहोलमा पनि धेरै बज्ने, नाचिने गीत भएकाले पनि मलाई औधि मनपरेको हो। यस गीतमा मेरो र मेलिना राईको आवाज छ। मेरो आफ्नै शब्द संगीत रहेको यो गीत मैले स्टेज कार्यक्रममा प्रस्तुत गर्दा दर्शकको हुटिङले  मलाई दोहोर्याई तेहेर्याई गाउन बाध्य बनाएको छ। स्रोता तथा दर्शकले मन पराइदिनुभएको यो गीत आफैले सुन्दा पनि अत्यन्त राम्रो लाग्छ। 

टिकी ल्याउनु है 

परदेसिएको प्रेमीलाई चाड पर्वमा सम्झिएर प्रतिक्षामा बसेकी मायालुले गाएको यो गीत धेरैले मन पराउनुभएको छ। मलाई पनियो गीत सुन्दा परदेसिएको आभास गराउँछ। म आफैलाई मन पर्ने मेरो सिर्जनामध्ये एक गीत हो। यो गीतमा मेरो आफ्नै शब्द संगीत रहेको छ भने मेरो र अस्मिता अधिकारीको स्वर छ। अर्को कुरा, यो गीतको शब्द म आफैलाई पनि एकदमै राम्रो लाग्छ। 

अरूका गीत

गाई त बाँध्यो चमेली 

बलिदान चलचित्रमा समावेश रहेको यो गीतका शब्द,संगीत र स्वर अत्यन्तै राम्रो लाग्छ।  रामेश श्रेष्ठको शब्द संगीत र लोचन भट्टराईको स्वर रहेको यो गीतले मेरो मन मुटु छुने गरेको छ। यो गीतले नेपालमा राजनीतिक व्यवस्थाविरुद्ध भएका आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको छ।

निकै पुरानो यो गीत अहिले पनि उत्तिकै चर्चामा छ। म यो गीत सुनेर भन्न सक्छु कि एउटा सिर्जनाले मान्छेका मानसपटलमा कतिसम्म प्रभाव पार्न सक्छ भनेर। मलाई लाग्छ यो एउटा गीत नभएर क्रान्ति पनि हो। 

हर रात सपनीमा ऐँठन हुन्छ

विप्लव प्रतीकको शब्द तथा दीप श्रेष्ठको संगीत र स्वरमा रहेको यो गीत सुन्दा मुटु नै अर्कै हुन्छ। बाल्यकालमा रेडियो नेपालमा यो गीत बजेको सुन्दा मलाई भित्रभित्र बेग्लै किसिमको छटपटी हुन्थ्यो। बेला बेलामा मैले गुनगुनाउनेमध्ये एउटा गीत हो यो। अहिले पनि यो गीत नेपाली समाजमा उत्तिकै सान्दर्भिक छ। त्यस कारण यो एउटा विशेष सिर्जना पनि हो भन्न रुचाउँछु। 

अट्टालिका 

प्रदीप कुमार ज्ञवालीको शब्द, शिवहरि बजगाईंको संगीत र भानुभक्त ढकालको स्वर रहेको यो गीत धेरैले नसुन्नुभएको हुन सक्छ। तर लामो समयदेखि मेरो प्ले लिस्टमा बज्ने गरेको गीत हो यो। यो गीतमा मलाई शक्तिशाली शब्द र कर्णप्रिय संगीतले तान्ने गरेको छ। यसका भावहरूले मेरो मानसपटलमा राम्रो छाप छोड्न सफल गीत हो। 

चिनाजाना

यो गीतले मलाई स्कुले जीवनमा फर्काउने गरेको छ। स्कुलमा पढ्दाको समयमा मैले यो गीत त्यतिबेला टीभीमा बन्दा आँखा नझिक्याई हेर्थेँ भने सँगसँगै गीत गाउने गर्थेँ। यो गीत सुनेर म क्लास रुमको डेस्कबेन्च ठट्याउँदै गीत मज्जा गाउने गर्थे। अहिले पनि यो गीत सुन्दा त्यही बाल्यकालको याद आउने गरेको छ। कर्म ग्याल्छेन बम्जनको शब्द संगीत र स्वर रहेको यो गीत सुन्दा मलाई निकै आनन्द पनि लाग्छ।  

सुन साइँली

हेमन्त रानाको स्वर रहेको यो गीत मलाई अत्यन्तै उत्कृष्ट लाग्छ। हरेक पुस्ताले मन पराएको यो गीतमा  प्रेम, समाज, परिस्थिति, आशा र दर्शनलाई महशुस गराएको छ। अरू गीतजस्तै यो गीत पनि मैले बेलाबेलामा गुनगुनाइरहेको हुन्छु।गीतलाई कालिप्रसाद बास्कोटाले संगीत भर्नुभएको छ भने शब्द हर्क साउदको छ। 

२० साउन, २०८०, १०:३०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।