सामाखुसी खोलामाथिको ‘स्ल्याब’ हटाउन थालियो, खोला मिचेर बनाइएका घरहरू पनि भत्काइने

सामाखुसी खोलामाथिको ‘स्ल्याब’ हटाउन थालियो, खोला मिचेर बनाइएका घरहरू पनि भत्काइने

काठमाडौं  : काठमाडौं महानगरले सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ। महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो।

महानगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको बताए।

काठमाडौं महानगरपालिकाले उक्त खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो। हालसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम जारी रहेको भट्टले बताए।

सामाखुसी खोलालाई पुरानै स्वरूपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौं महानगरले स्ल्याब हटाउन थालेको हो। खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ। 

महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षारोपण गर्ने समेत जनाएको छ। यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए। उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ।

१९ साउन, २०८०, १६:११:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।