सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमणबाट तीन जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमणबाट तीन जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा सन् २०२२ यता डेंगुबाट एक हजार छ सय बढीमा संक्रमण भएको छ।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका अनुसार यस प्रदेशमा सन् २०२३ को सुरुदेखि हालसम्म तीन सय २५ जनामा संक्रमण देखिएको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको बताए।

यस्तै कञ्चनपुरमा ५७, अछाममा ३१, कैलालीमा २४, बझाङमा छ, बैतडीमा पाँच, डोटीमा पाँच, बाजुरामा चार र डडेल्धुरामा दुई जनामा संक्रमण देखिएको हो। संक्रमणका कारण यस वर्ष मृत्यु भने शून्य छ।

यसअघि गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएकाको थियो जसमध्ये तीन जनाको मृत्यु भएको थियो।

लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र वर्षात्को समयमा हुने भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको जोशीले बताए। 

जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन पनि गरिरहेका छन्। 

तराईका जिल्लामा बढी हुने डेंगु संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको छ।  निर्देशनालयको तथ्याङ्कले पहाडी जिल्लामा पनि डेंगुको जोखिम बढेको देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको छ। 

१७ साउन, २०८०, १६:१९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।