स्वीकृति नपाउँदा प्रयोगविहीन बन्यो रामेछापको आधारभूत अस्पताल
रामेछाप : रामेछापको दुर्गम क्षेत्र उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा संघीय सरकारको बजेटबाट सुविधासम्पन्न आधारभूत अस्पतालको भवन निर्माण भएपनि दरबन्दी र अस्पताल सञ्चालनको स्वीकृति नपाउँदा यो संरचना अहिले प्रयोगविहीन बनेको छ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा देशभरका प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल बनाउने योजना (एक पालिका, एक अस्पताल) अन्तर्गत यो भवन निर्माण गरिएको वडाध्यक्ष खम्बध्वज बस्नेतले बताए।
यस अघि स्वास्थ्य चौकी रहेको स्थानमा नै थप जग्गा खरिद गरी भवन त ठडियो, तर केन्द्र सरकारबाट कानुनी स्वीकृति र जनशक्तिको व्यवस्था हुन नसक्दा दुर्गमका नागरिकले अझै पनि उपचार पाउन सकेका छैनन्।
अस्पताल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा अहिले पनि पुरानै स्वास्थ्य चौकीको भवनबाट सामान्य प्राथमिक उपचार लिन बाध्य छन्। गम्भीर बिरामी पर्दा वा आकस्मिक अवस्था आउँदा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टर रिजर्भ गरी काठमाडौं जानुपर्ने बाध्यता हट्न सकेको छैन।
"स्वास्थ्य चौकीको सट्टा छिटोभन्दा छिटो यो अस्पताल चलोस् भन्ने हाम्रो चाहना हो। यसका लागि वडा र गाउँपालिकाको तर्फबाट आवश्यक कानुनी प्रक्रियाहरू अगाडि बढाइरहेका छौँ," वडाध्यक्ष खम्बध्वज बस्नेतले भने।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार केन्द्र सरकारबाट आधिकारिक स्वीकृति नआए पनि पालिकाले आफ्नै स्रोतबाट डाक्टर राखेर सेवा दिने प्रयास गरिरहेको छ। उनले अस्पताललाई दिगो बनाउन र डाक्टरहरूलाई बस्ने अनुकूल वातावरण मिलाइदिन स्थानीयवासीसँग समेत आग्रह गरे।
दुर्गम गाउँका नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै स्थानीयले हालै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसँग अस्पताल चलाउने वातावरण मिलाइदिन अनुरोध गरेका छन्।
स्थानीयको गुनासो सुनेपछि स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पताल सञ्चालनका लागि सबैभन्दा पहिला कानुनी स्वीकृतिको प्रक्रिया अघि बढाउन आग्रह गरे।
उनले आधारभूत अस्पताल बनेपछि संघीय सरकारले २ जना मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मी पठाउने र त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
जेठ ६, २०८३ बुधबार ११:०५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।