‘श्रीमानले अर्की ल्याए पनि मेरो मिहिनेतले मलाई धोखा दिएको छैन’

‘श्रीमानले अर्की ल्याए पनि मेरो मिहिनेतले मलाई धोखा दिएको छैन’

सुर्खेत : बराहताल गाउँपालिका- ८ हुड्केकी ३७ वर्षीय खगीसरा सुवेदी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाहिर नै हुन्छिन्।

डोकाभरि मकै, फलफूल, तरकारी, झोलामा लाइटर र खुद्रा पैसा ल्याएर उनी हुड्केस्थित जुम्ला सडकखण्डमा बसेर मकै पोलेर बेच्ने काम गर्छिन्।

उनको घरमा एक छोरा, एक छोरी गरी तीन जना छन्। १५ वर्षअगाडि श्रीमानले अर्की भित्र्याएपछि छोराछोरीको शिक्षा, स्वास्थ्य र पालनपोषणमा उनी एक्लैले गर्नुपरेको छ।

उनले सडक छेउमै बसेर व्यवसाय गर्न थालेको पनि १३ वर्ष बितिसक्यो। खगिसराका १३ वर्षीय छोरा कक्षा ८ र १९ वर्षीय छोरीले एसईई पास गरेर प्राविधिक शिक्षा पढिरहेकी छन्।

सिजनअनुसार फरक-फरक व्यपार गर्ने उनले पुसदेखि केरा व्यापार गर्छिन्। कात्तिकसम्म अर्गानिक मकै, काँक्रा, तरकारी, थाकल  र अन्य फलफूल बेच्छिन्।

उनका लागि मंसिर महिनामा मात्रै व्यापार खाली हुन्छ। त्यति बेला उनले खेतीपाती स्याहार्ने काम गर्नुपर्ने हुन्छ।

महिनामा १० देखि १५ हजार रुपैयाँसम्म व्यापारअनुसार उनी नाफा कमाउँछिन्। केही आफ्नै बारीमा उत्पादन गरेर बेच्छिन् भने केही गाउँबाट किनेर ल्याउँछिन्।

छोराछोरीलाई पढाउन र सहजै घरखर्च चलाइरहेकी उनी आफूले कमाएकोबाट तीन वटा समूहमा मासिक रूपमा पैसा बचत पनि गर्छिन्। 

कमाएको पैसा पाँच-पाँच सयका दरले बचत गर्ने गरेको उनले बताइन्। घरमा पनि उनले पाँच वटा खसी बाख्रा पालेकी छन्। यो वर्ष त चैतदेखि साउनसम्म मात्रै उनले ६० हजार रुपैयाँ कमाउन सफल भइन्। फलफूल र तरकारीको व्यवसायभन्दा पनि मकैबाट फाइदा हुने गरेको खगिसरा बताउँछिन्। 

‘फलफूल र तरकारीबाट खासै फाइदा आउँदैन। केरा र मकैबाट राम्रो फाइदा हुन्छ। केरा दुई रुपैयाँ कोसा काँचो ल्याएपछि पाकेको १० मा दुई कोसा दिइन्छ, मकै १० रुपैयाँ कोसा काँचो ल्याएपछि २५ रुपैयाँमा पोलेर बेच्छु,’खगीसराले भनिन्, ‘चैतदेखि अहिलेसम्म मकै र केराबाटै ६० हजार रुपैयाँ कमाइसकें।’ 

आफूले माइतमा पढ्न नपाए पनि मकै पोलेरै छोराछोरीलाई उच्च शिक्षा दिने उनको सोच छ। 

‘श्रीमानले अर्को विवाह गरेर मलाई धोखा दिए पनि मेरो मिहिनेतले मलाई धोका दिएको छैन। छोरी पनि एसईई पास भएर अहिले इलेक्ट्रिकल पढिरहेकी छन्। छोरा कक्षा आठ पढ्दैछन्। उनीहरूलाई पढाउन मेरो कमाइ पुगेकै छ। कहिले दिनमा १२ देखि १५ सय कमाइ हुन्छ। केही भएन भने पनि ५-६ सय रुपैयाँ त भइहाल्छ।’

पहिले पहिले सडकमा व्यापार गर्दा चिनेका मान्छे आए लाजले लुक्ने गरे पनि पछि विस्तारै बानी परेपछि ढुक्कले बस्न थालेको उनी बताउँछिन्। 

खगिसराजस्तै सोही ठाउँकी चन्द्रा महतारा पनि सडकमै मकैको व्यापार गर्छिन्। तीन छोरी र एक छोराकी आमा चन्द्राका श्रीमानले पनि अर्की श्रीमती ल्याएका हुन्। 

उनले पनि सडकमै व्यापार गरेर जीविका चलाइरहेकी छन्। अहिले उनका छोराहरू भारत गएका छन्। चन्द्राले भने नाति नतिनालाई मिठो मसिनो खुवाउन र घरखर्च यहीँबाट निकालेकी छन्।

खगिसरा र चन्द्रा मात्रै होइनन्। हुड्के गाउँको छेउमा रहेको सडकमा स-साना खरले छाएका टहरा बनाएर अन्य नौ जना महिलाहरूले पनि यही व्यवसाय गरिरहेका छन्। मकै, फलफूल र तरकारी बेचेर दमारेका महिलाहरू आत्मनिर्भर बन्दै गएका स्थानीय कोकिला सहकारीले बताइन्।

उनका अनुसार यो गाउँमा आजभन्दा करिब १५ वर्ष अगाडि  जगत गौतम (गौतम बाजे) ले सडकमा व्यापार गर्न सुरु गरेका थिए। अहिले उनकी श्रीमतीले पनि अन्य महिलाहरूसँगै व्यापार गरिरहेकी छन्।

 

१३ साउन, २०८०, १४:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।