श्रष्टाको पूर्ण सिर्जनामाथि प्रतिबन्ध लगाउनु पाखण्डी युगको चरित्र : सुरेश अधिकारी

श्रष्टाको पूर्ण सिर्जनामाथि प्रतिबन्ध लगाउनु पाखण्डी युगको चरित्र : सुरेश अधिकारी

काठमाडौं : नेपाल संगीत रोयल्टी संकलक समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीका गीतलाई नेपालमा सञ्चालित निजी तथा सामुदायिक रेडियोहरूको तीन संस्थाले प्रतिबन्ध लगाएका छन्।

गत साउन ४ गते रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले संगीतकार अधिकारीका गीत प्रतिबन्ध लगाउन संयुक्त विज्ञप्ति जारी गरेका थिए। 

रोयल्टी संकलक समाजका अध्यक्ष अधिकारीले आफूहरूविरुद्ध अमर्यादित, तुच्छ ढंगले मानमर्दन गरेको भन्दै तीन संघसंस्थाहरूले विज्ञप्ति जारी गरेका हुन्।

‘एक संगीत सर्जकको अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीच सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पारेको आरोप छ’, उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोराबका अध्यक्ष अर्जुन गिरीले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै गैरसरकारी संस्थालाई रोयल्टी बुझाउन नसकिने र संकलन भएको रोयल्टी पनि अपारदर्शी भएको आरोप लगाएका थिए। 

यसबारे रोयल्टी संकलक समाजका अध्यक्ष सुरेश अधिकारीले आफ्नो गीत प्रतिबन्ध लगाउनुमा आफ्नो मात्र नभएर यो राष्ट्रिय तथा अन्तराष्ट्रियको चासोका विषय भएको बताए।

आफू रोयल्टी संकलक समाजको अध्यक्ष भएको नाताले आफ्नो चासो गीत प्रतिबन्ध हुनुभन्दा पनि श्रष्टाको रोयल्टी उठ्नुपर्छ भन्ने मान्यता रहेको बताए। 

‘एउटा सभ्य समाजमा श्रष्टामाथि प्रतिबन्ध लाग्छ भने त्यो राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको चासोको विषय हुन्छ,’ उनले उकेरासँगको कुराकानीमा भने,‘अहिले यतिबेला म संगीत रोयल्टी संकलक समाजको अध्यक्षको नाताले मेरो चासोको विषय भनेको श्रष्टाको रोयल्टी उठ्नुपर्छ भन्ने हो।’

उनले आफ्नो गीत प्रतिबन्ध लगाउनु जंगली शोषण भएको बताए। उनले आफ्नो गीतले कसैको हानि नोक्सानी र राज्यविरुद्ध नभएको हुनाले गीत प्रतिबन्ध लगाउनु भनेको ढुंगे युगको चरित्र भएको बताए। 

उनले भने,‘साम्प्रदायिक दंगा भड्किने, कुनै जातीय, लैंगिक विभेद अथवा सामाजिक मूल्य मान्यताबाहिर सिर्जना भएको भए कसैले प्रतिबन्ध गर्नसक्छ। तर, एउटा श्रष्टाको भएभरको सिर्जनामाथि प्रतिबन्ध लगाउँछु भन्नु त जघन्य अपराध मानिन्छ।’

यस विषयमा आफू बोल्नुभन्दा पनि समग्र श्रष्टाहरू बोल्नुपर्ने बेला आएको उनले बताए। 

उनले रोयल्टी संकलक समाज रोयल्टी उठाउनकै लागि खोलिएको संस्था भएकाले अरूले यसरी खोल्दै हिँड्न नपाउने पनि बताए। 

उनले भने,‘प्रतिलिपि अधिकार ऐन २०५९ दफा ३९ ले व्यवस्था गरेको निकाय हो। अरू संघसंस्थाले जस्तो सिडियो कार्यालय गएर भटाभट संस्था दर्ता गर्ने कुरो होइन। ऐनले एउटा मात्र संस्था गठन गर्न पाउनु कानुनी निकाय हो। यसको आफ्नै विधान छ। जुन राज्यले स्वीकृति गरेको। यसका आफ्नै प्रक्रियाहरू छन्।’ 

यो कानुनले व्यवस्था गरेको संस्थालाई कसैले रोयल्टी तिर्दैनौँ भनेर सुखै नपाउने पनि अधिकारी बताउँछन्। यदि रोयल्टी कसैले नतिरी गीत बजाउँछ भने त्यसलाई कानुनी कारबाही गर्ने अधिकारीले चेतावनी दिए। 

श्रष्टाहरूको सिर्जना प्रयोग गरेपछि रोयल्टी तिर्नुपर्ने नियम र कानुनमा रहेको र विनाकारण गीत बजाए गैरकानुनी अपराध हुने अधिकारीले बताए। 

विवाद किन आयो ?
हरेक वर्षको आर्थिक मसान्तमा रेडियो तथा टेलिभिजन नवीकरणका समयमा रेडियोले गीत बजाएबापत रोयल्टी पनि साथै बुझाउनुपर्ने हुन्छ।

रोयल्टी बुझाउने बेलामा रेडियो प्रसारक संघले विभिन्न बखेडा झिक्दै आएका छन्। यो बखेडा झिक्ने काम करिब १५ वर्षदेखि हुँदै आएको छ। सोही दिनदेखि अहिलेसम्म पनि रोयल्टी संकलक र रेडियो प्रसारकबीच विवाद हुँदै आएको छ। 

विभिन्न बखेडा झिक्दै आएकोमा यसपटक भने रेडियो संस्थाहरूले रोयल्टी संकलक समाज नै गैरकानुनी रूपमा खडा भएको संस्था र रोयल्टी पनि पारदर्शी नभएको आरोप लगाए।  

समाजका अध्यक्ष अधिकारीले पहिला बुझेर मात्रै आरोप लगाउन पनि आग्रह गरिरहेका छन्। 

रेडियोले रोयल्टी नितिरी गीत बजायो भने के हुन्छ भन्ने प्रश्नमा अधिकारीले भने,‘रोयल्टी नतिरे रेडियोमा गीत बजाए कानुनी कारवाहीमा जान्छौँ।’

मंगलबार ललितपुरमा  रेडियो प्रसारक संघ आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोराबका अध्यक्ष अर्जुन गिरीले राखेको पत्रकार सम्मेलनमा रोयल्टी पारदर्शी नभएसम्म रोयल्टी नबुझाउने अडान कसेका थिए। 

यसबारे अधिकारीले रेडियोहरूले श्रष्टाको रोयल्टी पारदर्शी भएन भन्न नसुहाउने बताए। रोयल्टीबारे हेर्ने निकायहरू पनि रहेकाले पहिला बुझ्न उनले आग्रह गरे।

‘कानुनले जहाँ तिर्नु भन्छ,त्यहीँ तिर्ने हो। अन्त तिरेर कहाँ हुन्छ र? सञ्चार मन्त्रालयमा एउटा कार्यविधि बनाइएको छ र जहाँ रेडियो नवीकरण गर्न जाँदा रोयल्टी तिरेको पत्र पनि लिएर जानुपर्छ। नत्र नवीकरण हुँदैन। जब रेडियोको नवीकरण हुने बेला हुन्छ, तब उनीहरू यसको बखेडा निकाल्न थाल्छन्, अधिकारीले भने, ‘अब यस्ता बखेडाबाजीले काम चल्दैन। गीत बजाउने भए रोयल्टी तिर्छन्, होइन भने बन्द।’

१० साउन, २०८०, २०:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।