बुढानीलकण्ठमा फेला पर्‍यो खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय, उप-सचिवदेखि शाखा अधिकृतसम्मै नक्कली

बुढानीलकण्ठमा फेला पर्‍यो खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय, उप-सचिवदेखि शाखा अधिकृतसम्मै नक्कली

काठमाडौँ : अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय बनाएर कार्यालय नै राखेर ठगी गरेको आरोपमा आरोपीहरू पक्राउ परेका छन्। नक्कली कार्यालय खोलेर ठगी गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्चीका जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुरका दिनेश भन्ने लीला बहादुर भोलोन पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो। परिसरका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५  मा विष्णु बहादुर गुरुङको दुई तले पक्की घर भाँडामा लिएर उनीहरूले कार्यालय सञ्चालन गरेका थिए।

उनीहरूले कार्यालयमा कार्यालय प्रमुख/उप-सचिव जयराम केसी, कार्यालय सञ्चालक/शाखा अधिकृत पेम्बा तामाङ, जनसम्पर्क अधिकृत आकाश राई र प्राविधिक इन्जिनियर दीपेश गुरुङ नाम राखेर नक्कली सरकारी कर्मचारी बनेका थिए।

उनीहरूले नक्कली सरकारी कार्यालय राखेर नक्कली कर्मचारीहरू राखेर विश्व खाद्य कार्यक्रमको नक्कली छाप र लेटर प्याड बनाएर विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेन्डर आह्वानको विज्ञापन समेत प्रकाशित गराएका थिए। उनीहरूबारे जानकारी पाएपछि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँबाट खटिएको प्रहरी टोलीले नक्कली कार्यालयमा छापा मारेर दुई जनालाई पक्राउ गरेको हो।

उनीहरूले जेठ एक गते कार्यालय स्थापना गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले पत्रिकामा विभिन्न फर्निचर लगायतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समान र खाद्य सामग्रीहरू खरिद गर्न बोलपत्र आव्हान गरेका थिए।

विज्ञापनमार्फत टेन्डर परेपछि सामान लिएको तर भुक्तानी नदिएको जानकारी आएपछि प्रहरीले कार्यालयमा छापा मारेको थियो। उनीहरूले छ करोड पचास लाखको विभिन्न खाद्यान्न खरिद सम्बन्धी कार्यक्रमको बोलपत्र आव्हान समेत गरिसकेका थिए।

उनीहरूले शङ्कर अर्यालको स्करर्पियो गाडी भाडामा लिएर छ लाख बाह्र हजार रकम ठगेको, घर धनी विश्व बहादुर गुरुङलाई १ लाख ८० हजार को दरले घर भाडा दिने सम्झौता गरेर भाडा नदिएको, ४८ लाखको बोलपत्र स्वीकृत गरी, डेस्कटप, कम्प्युटर, ल्यापटप समेत ८ लाख ३६ हजार रुपैयाँको सामान लिएर हरि प्रसाद अर्याललाई भुक्तानी नदिएको प्रहरीले जानकारी दिएको छ।

सोही समूहले नवराज पाण्डेसँग ८५ हजारको स्टेशनरी सामान लिएर पैसा नदिएको,दीपेन्द्र धरेलसँग कार्यालयका लागि कार्पेट, पर्दा, कुर्सी, टेबल, दराज लगायतका १५ लाख ६० हजारको सामान लिएर भुक्तानी नदिएको खुलेको छ।

उनीहरूले गणेश शाहसँग युनिफर्मको कपडा र खाद्यान्न टेन्डरको धरौटी बापत एघार लाख सत्ताइस हजार लिएको र विष्णु अर्यालको कार भाडामा लिएर ठगेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्राविधिक इन्जिनियर दीपेश गुरुङ भन्ने भीम भोलोन, जनसम्पर्क अधिकृत आकाश राई भन्ने मिलन तामाङ र कार्यालय सञ्चालक/ शाखा अधिकृत बनेका पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेको प्रहरीले जानकारी दिएको छ।

८ साउन, २०८०, १८:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।