'बदला बरिलै'मा बलात्कारलाई भूतप्रेतसँग जोडेर आलोचित सपूत 'दमाई महाराज'मा ब्राह्मणवादको शरणमा !

'बदला बरिलै'मा बलात्कारलाई भूतप्रेतसँग जोडेर आलोचित सपूत 'दमाई महाराज'मा ब्राह्मणवादको शरणमा !

काठमाडौँ : गायक प्रकाश सपूत कलामार्फत सामाजिक कुरीतिको विषय उठानमा खप्पिस छन्। दोहोरी ब्याटलदेखि 'दमाई महाराज'सम्मको सिर्जनामा उनले कलामा सामाजिक र राजनीतिक विषय घुसाएका छन्। तर कलाको चेत खस्किँदै छ।

उनी गीतमा समाज परिवर्तनको पक्षमा झैँ देखिन्छन् तर रुढिवादमा पसिहाल्छन्। त्यसैले उनका सिर्जना पटकपटक विवादमा परिरहन्छन्।

'गलबन्दी निकाल्दा' लय चोरेको आरोपमा उनले सार्वजनिक रूपमा माफी नै माग्नुपरेको थियो। पछिल्ला गीतहरु यसमा जोगिएका छन्। तर चेतनाको कसीमा कमजोर बन्दा विवादले छाडेको छैन उनलाई। तैपनि दोहोरी ब्याटलमार्फत चर्चामा आएका उनले त्यसपछि सफलताका लागि पछाडि फर्किएर हेर्नुपरेको छैन।

समाजका समस्यालाई बोलको माध्यमबाट कथानक शैलीमा पस्कन खप्पिस उनको सिर्जनाको सबैभन्दा कमजोर पक्ष नै चेतना देखिन्छ। त्यसकै प्रमाण हो 'दमाई महाराज'।

उनले यसको भिडियो बनाउन राम्रै मिहिनेत गरेका छन्। तर कथानक निर्माण उही रुढीवादमा लगेर जोडे। उनले भगवान पुजेर अनि कुरा बुझेर आएको बताएका छन् भिडियोमा। तर महाराजको स्वरुपमै आएर उनले कुरा बुझ्न बाँकी रहेको पुष्टी गरे। 

स्वामीको रुप धारण गरेर उनले फैलिएको जातपातको जरोमा प्रहार गर्ने प्रयास गर्दा आफैँ जातपातको हिमायतीको कोटीमा पुगे। सांगीतिक कसीमा राखेर उनको रचना हेर्ने हो भने पनि फितलो देखिन्छ। भजनात्मक प्रवचनको शैली निर्माणमा उनी चुके।

भ्युजमा अगाडि, चेतनामा पछाडि 

उनका गीतका भ्युजहरु हेर्दा उनी सफल छन्। तर प्रस्तुतीगत चेतमा निकै कमजोर। यसमा उनी पहिलो पटक चुकेको हैन। शब्दमा उनी जातपात, अन्धविश्वासको विपक्षमा उभिन्छन्। तर कथानक लगेर त्यही अन्धविश्वासमा लगेर जोड्छन्। उनी पटक-पटक विवादमा पर्नुको कारण पनि यही हो।

वैदेशिक रोजगारीले परिवारमा पारेको प्रभावबारे उनले 'बोल माया' गीत निकाले। पाँच वर्ष अगाडि रिलिज भएको गीत दुई करोड २० लाख पटक हेरियो। मीठासपूर्ण संगीत र लयका कारण यो त्यति विवादमा परेन। 

कला क्षेत्रमा हुने यौन दुर्व्यवहारको घटना चर्चामा रहेकै बेला बलात्कारविरोधी भावमा सपूतले 'बदला बरिलै' ल्याए। दुई वर्ष अगाडि रिलिज भएको यो गीत करोड भ्यूज गयो। 

शब्दमा बलात्कारजस्तो जघन्य अपराधको विपक्षमा उभिएका उनी समाधान देखाउँदा भूतप्रेतसँग लगेर अन्धविश्वासकै पक्षमा उभिए। कथानकमा चुके उनी।

उनले बीचमा 'फुटेको चुरा' बोलेको गीत ल्याए। दर्शकको संख्याका आधारमा सफल भयो। तर चर्चाका हिसाबमा ठिकठिकै चल्यो। 

वैदेशिक रोजगारीमा गएका युवाको समस्यामा आधारित रहेर 'मेरो पनि हैन र यो देश' बोलको गीतले भने राम्रो प्रशंसा पायो। उनका दर्शक र स्रोता बाँडिएनन्। दुई वर्ष अगाडि रिलिज भएको गीत एक करोड ६० लाखले हेरे।

२०७८ सालको तीज गीत 'कुरा बुझ्न पर्छु' बोलको गीत राम्रै चल्यो। स्वस्तिमा खड्का र आँचल शर्मा फिचर्ड भएको म्युजिक भिडियोसँगै लय र शब्दका कारण पनि दर्शक र स्रोतले मन पराए। तीन करोड ६० लाख पटक यो भिडियो हेरिसकिइएको छ युट्युबमा। 

त्यसपछि उनले दशैँ तिहारमा आधारित म्युजिक भिडियो 'अर्को साल' ल्याए। यो गीत भने चलेन। त्यसपछि आएको 'खुसी बाँडे खुसी' बोलको गीत होस् या 'तरुनी बन्दीपुर' अनि 'मिठो सांरगी' कुनै पनि चलेनन्। 

त्यसपछि सपूतले बहिगर्मित माओवादी लडाकूहरूको कथामा एउटा गीत बनाए, 'पीर' । गीत व्यापक चल्यो। चर्चासँगै विवादमा पनि तानिए सपूत। 

वेश्यावृत्तिमा लागेको दृश्य समावेश गरिएको उक्त गीतप्रति पूर्वलडाकु मात्र होइनन्, माओवादी केन्द्रका शीर्ष नेताहरू नै विरोधमा उत्रिए। यो गीतको दृश्यले संसदमा समेत चर्चा पाएको थियो। तीव्र आलोचना हुन थालेपछि सपूतले यस गीतको म्युजिक भिडियोको दृश्य युट्युबबाट हटाउनुपरेको थियो। एक वर्ष अगाडि आएको यो गीत अहिलेसम्म ९५ लाख पटक हेरिएको देखिन्छ। 

पीरपछि निशा सुनारसँग उनले 'नभन विदेशी' अनि 'पर पर छु' बोलेको गीत ल्याए। यो गीतले न उच्च प्रशंसा पायो, न तीव्र विरोध नै। गुमनामझैँ भयो यो गीत। 

तीन महिना अगाडि रिलिज भएको सपूतको 'सकम्बरी' ले भने प्रशंसाभन्दा आलोचना धेरै बटुल्यो। सामाजिक सञ्जालदेखि चोकदेखि गल्लीसम्म गीत बजे। तीन माहिनामा यो गीतले ४ करोड ४० लाख भ्यूज पायो। 

रोजगारीको आशमा सहर आउने महिलाको संघर्षमा आधारित कथानकमा बनेको म्युजिक भिडियोको कथानक र भाष्यले महिलालाई होच्याएको भन्दै तीव्र आलोचना भयो। यद्यपि भइरहेको छ। कानको झुम्का कसले किन्दियो, स्कुटी कसले किन्दियो भन्ने बाक्य भाइरल भए  तर महिलालाई होच्याउने रुपमा। 

अहिले भर्खरै उनले ल्याएको 'दमाई महाराज' लाई उनले 'बोल माया' कै निरन्तरताको रूपमा देखाएका छन्। नेपालमा अहिले पनि जातीय र लैंगिक रूपमा मन्दिर प्रवेशमा प्रतिबन्ध लाग्ने गरेका भेटिन्छ। कतै दलितलाई प्रवेश गर्न नदिने त कतै महिलालाई प्रवेश निषेध भएको सूचनै टाँसिएका मन्दिर अझै छन्। 

बलवीर नेपालीको बारीमा धार्मिक कार्यकम हुने कथानकबाट शुरु भएको म्युजिक भिडियोमा 'भगवान बस्ने ठाउँ त मान्छेको मन हैन र ! भन्ने सन्देश राखेका छन् उनले। तर मुल चरित्र महाराजलाई बनाएर उनले भेदभाव हटाउन ज्ञान हैन स्वरुपमै महत्वपूर्ण हो भन्ने सन्देशलाई बलियो बनाए।

'हल हल हल मन, हल हल हल' लाई गीतको मूल लयसँग मिसाएका उनले धार्मिक प्रवचनको शैलीमा गीतको निर्माण गरेका छन्। तर लयात्मक रूपमा सपूतले भन्दा गायिका शान्ती श्री परियाले गाएको लाइनहरू कर्णप्रिय सुनिन्छन् र सामाजिक सञ्जालसहित टिककटमा त्यही लाइनहरू फैलिएका छन्। 

पछिल्लो समय उनले आफ्ना गीतको म्युजिक भिडियो आफ्नै यूट्युब च्यानलबाट रिलिज गर्ने गरेका छन्। म्युजिक भिडियोको कथानकदेखि निर्देशनसम्म उनै सपूतले गरेका छन्। यसमा लगानी हुने नै भयो।

उनले प्रवचन थलो अनि मञ्चमा पुरस्कृत गर्ने दृष्यमा विभिन्न उत्पादनको प्रचार गराएर चलाखीपूर्ण रूपमा अर्थ संकलन गरेका छन्। यस्तोमा दर्शकको आँखा नबिझाउने कला प्रयोग गर्न सकिन्थ्यो नै। तर उनले निर्देशन कलामा लगानीकर्ताको खर्च उठाउने सीप हावीहुँदा प्रयोजित दृष्यहरू बिझाउँछन्।

७ साउन, २०८०, १९:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।