देशभरका निजी र सामुदायिक रेडियोमा सुरेश अधिकारीका सिर्जनामा प्रतिबन्ध

देशभरका निजी र सामुदायिक रेडियोमा सुरेश अधिकारीका सिर्जनामा प्रतिबन्ध

काठमाडौं : नेपालमा सञ्चालित निजी तथा सामुदायिक रेडियोहरूले संगीतकार सुरेश अधिकारीका गीतमा प्रतिबन्ध लगाएका छन्।

आफूहरूविरुद्ध अमर्यादित, तुच्छ, मानमर्दन र भ्रम श्रृजना गर्ने आशयसहितको अभिव्यक्ति दिएको भन्दै रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ), ब्रोडकाष्टिङ्ग एसोशियशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)ले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाएका हुन्।

विज्ञप्तिमा आरबीएफका अध्यक्ष आरके श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोराबका अध्यक्ष अर्जुन गिरीको हस्ताक्षर छ।

विज्ञप्तिमा भनिएको छ, ‘एक संगीत सर्जकको यस्तो अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र नेपाली संगीत क्षेत्रबीचको सुमधूर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्नसक्ने कुराको महशुस गर्दै उहाँका सम्पूर्ण सांगीतिक कृतिहरू रेडियोबाट प्रसारण गर्न नसकिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौँ।’

चारदिन अघि संगीत रोयल्टी संकलन समाजका अध्यक्षसमेत रहेका संगीतकार सुरेश अधिकारीले नतिर्ने निकायविरुद्ध कानूनी उपचार खोज्ने आशयको फेसबुक पोस्ट गरेका थिए।

श्रष्टाको बौद्धिक सम्पत्ति विनारोयल्टी आफ्नो रेडियोमा बजाएर स्रष्टाको सम्पत्तिमा रजाइँ गरेको भन्दै उनले रेडियो सञ्चालकहरूलाई लाउकेको संज्ञा दिएका थिए।

‘हामीले तिमीहरूजस्ता हजारौँखाले लुटेरा लाउकेहरूसँग लडेर रोयल्टी ल्याएका छौँ र त्यसलाई वास्तविक हकदार स्रष्टा सम्म पुर्याएका छौँ र मात्र यो रोयल्टी अभियानलाई यहाँसम्म ल्याइपुर्याका छौँ,’ उनले फेसबुकमा लेखेका थिए, ‘श्रष्टाको बौध्दिक सम्पत्ति विना रोयल्टी आफ्नो रेडियोमा बजाएर स्रष्टा मार्ने तिमीहरू हौ लाउके हो।’

सङ्गीत रोयल्टी संकलन समाज स्रष्टाको हितको लागि खुलेको स्मरण गराउँदै उनले आफूहरूको लागि लड्ने कोही छैन भन्ने नसोच्नसमेत चुनौती दिए।

‘सङ्गीत रोयल्टी संकलन समाज स्रष्टाको हितको लागि खुलेको हो, स्रष्टा मार्न हैन,’ उनले अगाडि थपेका थिए, ‘अब तिमीहरूसँगको लडाइँ नयाँ बाटोमा जान्छ। नसोच कोही छैन स्रष्टाको लागि लड्ने भनेर।’

रेडियोका तीन संस्थाको विज्ञप्ति

५ साउन, २०८०, १४:४२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।