छोरी जन्मिने बित्तिकै ५ हजार खातामा, तर २० वर्ष झिक्न पाइँदैन

छोरी जन्मिने बित्तिकै ५ हजार खातामा, तर २० वर्ष झिक्न पाइँदैन

रोल्पा : त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा ५ हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ। 

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए। यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन। 

'छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ', उपाध्यक्ष डाँगीले भन्नुभयो। छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनले बताए। 

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ। –

४ साउन, २०८०, ०९:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।