फिल्म ‘बगान’ : अब्बल कलाकारको झुर उत्पादन
सरोज खनाल नेपाली चलचित्र क्षेत्रका उम्दा कलाकार हुन् भन्नेमा विवाद छैन। हिजोका दिनमा अभिनेताको रूपमा होस् या अहिले चरित्र अभिनेताको रूपमा। उनले प्रशंसनिय अभिनय गर्ने गरेका छन्। जीवन्त हुन्छन् उनको अभिनय।
यस्तो जीवन्त अभिनय गर्ने कलाकार पनि भ्रममा पर्ने रहेछन् बेलाबखत। उनको त्यही भ्रमको नतिजा हो चलचित्र ‘बगान’। अभिनयमा यति खारिएका खनालले अभिनय गर्नु र अभिनय गराउनु भिन्न क्षमता हो भन्ने नबुझी हो या बुझ पचाएर हो निर्देशनमा हात हाले र उनी असफल भए।
मिथिलाको अभिनय क्षमता पर्दामा उतार्न चुकेका छन् निर्देशक। क्यारेक्टरको निर्माणमै उनी अल्मलिए। खासै भूमिका दिन सकेनन्।
एकल महिलाको कथामा आधारित फिल्म बनाएको प्रचार गरिरहे उनले तर टेलिफिल्म फ्लेवरको फिल्म बनाए। एकल महिलाको विवाह हिजोको दिनमा जति जटिल थियो समाजमा अहिले त्यस्तो छैन।
हालसालै मात्र बैंकर रविना देशराजले छोरा बुहारीसँगै रमाउँदै धुमधामले विवाह गरेको दृश्यसँग यो फिल्मको कथा दाँज्दा नै बदलिएको समाजको अध्ययन गर्न फिल्म निर्देशक कति कमजोर रहेछन् भन्ने पुष्टि हुन्छ।
एउटी महिलाले श्रीमान् गुमाएपछि सन्तान हुर्काउन र आफ्नो चाहनालाई अघि बढाउन एक महिलाले गरेको संघर्षको कथामा फिल्म त बनाए तर निकै फितलो।
छोरीले आमा निदाएको बेला मोबाइल सुटुक्क निकालेर विजयलाई एसएमएस गर्ने समयमा आँखा झिम्किएको प्रष्टै देखिन्छ। यो पुन खिच्न सकिन्थ्यो।
श्रीमान्ले आत्महत्या गरेपछि भर्खर जन्मिएकी छोरी स्याहारिरहेकी आकांक्षा( करिश्मा मानन्धर) ले ब्याचलर पास गरेकी छन्। तर, उनी सन्तानको इच्छा विपरीत पुनः विवाह गर्न डराउँछिन्।
छोरी जन्मिएको केहि महिनामा नै आकांक्षाका श्रीमान्ले आत्महत्या गर्छन्। श्रीमान्ले आत्महत्या गरेपछि एक्लिएकी आकांक्षाले विवाह गर्नुअघि छोडेको पढाइ सुरू गर्छिन्। उनले स्कुल जाँदा र आउँदा उनको छरछिमेकीले कुरा काट्छन्। तर, उनले अरुको कुरा वास्तै गर्दिन्, बरु आफ्नो पढाइलाई निरन्तरता दिन्छिन्।
फिल्ममा मिथिला शर्माले आकांक्षाको छोरी प्राप्ति(प्रमिला कार्की) हेरचार गर्ने जिम्मेवारी लिएकी हुन्छिन्। मिथिलाको अभिनय क्षमता पर्दामा उतार्न चुकेका छन् निर्देशक। क्यारेक्टरको निर्माणमै उनी अल्मलिए। खासै भूमिका दिन सकेनन्।
आकांक्षाको काम कलेज जाने आउने र भान्सामा खाना बनाउने मात्रै देखिन्छ। फिल्म सुरू भएदेखि नै स्कुल र कलेजको दृश्यले नै मध्यान्तर तन्काइएको छ।
आकांक्षाले ब्याचलर पढ्दै गर्दा छोरी प्राप्तीलाई पनि हिडाएरै स्कुल पुर्याउन जाँदा आवारा केटाहरूले बाटोमा विदेश जानुपर्ला अब नेपालमा केही पाइँदैन भन्दा उनी रिसले चुर हुन्छिन् तर जवाफ फर्काउदिनन्।
ब्याचलर सकाएर एक संस्थामा काम शुरु गरेपछि उनको भेट विजय(सरोज खनाल)सँग हुन्छ।
एक अब्बल कलाकारले विना अध्ययन निर्देशनमा हात हाल्दा कति झुर उत्पादन हुनसक्छ भन्ने बुझ्न फिल्म हेर्दा हुन्छ
संस्थाको कामै एकल महिलाको शशक्तीकरण गराउने। नारी दबिएर बस्नुहुन्न भन्ने प्रशिक्षण दिने। विजय अविवाहित। उनीहरूबीच प्रेम सम्बन्ध शुरू हुन्छ। यही सम्बन्धको उतारचढावमा फिल्म अगाडि बढेको छ।
बसुन्धरा भुसाल, नीर शाह जस्ता कलाकार लिएर पनि उनले अभिनयमा उपयोग गर्न सकेका छैनन्। केही सिनमा मात्रै देखिएकी छिन् उनी। उनलाई जे भूमिका दिइयो त्यसमा जुन कलाकार लिए पनि फरक पर्दैनथ्यो।
स्कुल जाने र कलेज पढ्ने दृश्य वरिपरी घुमेको छ करिश्माको अभिनय। कमजोर कथालाई पटकथाले बाध्न सकेको छैन। नव अभिनेत्री प्रमिलाले छोरीको भूमिकालाई न्याय दिने प्रयास गरेकी छन्।
उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्म थुप्रै ठाउँमा चिप्लिएको छ। छोरीले आमा निदाएको बेला मोबाइल सुटुक्क निकालेर विजयलाई एसएमएस गर्ने समयमा आँखा झिम्किएको प्रष्टै देखिन्छ। यो पुन खिच्न सकिन्थ्यो।
फिल्मको सम्पादनमा पनि अल्छि गर्दा दर्शकले पनि फिल्म हेर्दा अल्छी नै गर्छन्। फिल्म हेर्दा सिरियल हेरेको अनुभव हुन्छ। फिल्मको कथा अनुसार संगीत ठिकै लाग्छन्।
एक अब्बल कलाकारले विना अध्ययन निर्देशनमा हात हाल्दा कति झुर उत्पादन हुनसक्छ भन्ने बुझ्न फिल्म हेर्दा हुन्छ।
साउन २, २०८० मंगलबार १५:१७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।