हजुरबाले पुस्तकालयलाई बकस दिएको अर्बौंको जग्गामा नातिनीको अड्चन, नासिँदै छ पुस्तकालय

हजुरबाले पुस्तकालयलाई बकस दिएको अर्बौंको जग्गामा नातिनीको अड्चन, नासिँदै छ पुस्तकालय

काठमाडौं : लाजिम्पाटस्थित नेपाल बैंकको शाखा रहेको ठ्याक्कै पारीपट्टी छ, डिल्लीरमण-कल्याणी स्मारक पुस्तकालय। पूर्वमन्त्री तथा  इतिहासकार डिल्लीरमण रेग्मी जीवित रहुन्जेल यस स्थानमा इतिहासका किताब लेखिन्थे, बेला बखत बौद्धिक विर्मश हुन्थे।

उनले लेखेका कृतिमाथि पक्ष-विपक्षमा बहस हुनु स्वभाविकै थियो। कम्तिमा नेपालको इतिहासबारे गहन छलफल त हुन्थ्यो। अंग्रेजी माध्यममा नेपाली इतिहास लेखेर संसारलाई नेपाल चिनाउन केही योगदान गरेका रेग्मी शान्तिप्रिय व्यक्तिको रूपमा चिनिन्थे।

यही रेग्मी निवास अहिले अशान्त छ। मुद्दाको चाङ बढ्दो छ। रेग्मीको जन्मोत्सव, पुस्तकालय दिवसमा आक्कलझुक्कल कार्यक्रम त हुन्छन् नै। तर, रेग्मीले लेखेका इतिहासबारे गहन छलफल तथा बौद्धिक विर्मश नभएको धेरै भयो।

भवन चर्किएको छ। पानी चुहिन्छ। ठूलै पानी परेको बेला किताब भिज्ने समस्या उस्तै  छ। पुस्तकालय प्रमुख भोला कुमार श्रेष्ठ सकेसम्म पुस्तक जोगाएको तर नयाँ भवन नबनाई किताबको पूरै जतन गर्न नसकिने तर्क गर्छन्।

‘हामीले धेरै किताब त जोगाएका छौँ, तर ठूलो पानी परेको बेला केही किताब भने कसो-कसो भिजिनै हाल्छन्,’ उनले भने, ‘हामीले समयमा नै नयाँ भवन बनाउन पाएको भए यो समस्या हुँदैनथ्यो।’

अहिलेको घर माटोले बनेकाले २०७२ को भूकम्पपछि नयाँ घर बनाउन इन्जिनियरको टोलीले सिफारिस गरेको थियो। त्यही अनुसार काम पनि अगाडि बढ्यो। तर, अन्तिममा आएर रोकियो। कारण रेग्मी परिवारको सदस्यको अड्चन।

रेग्मीले व्यक्तिगत अध्ययन र अनुसन्धानको लागि विभिन्न विधाका पुस्तक, पत्रपत्रिका, पुरातात्विक वस्तु एवं हस्तलिखित ग्रन्थहरू संकलन गरेका थिए। आफ्नो निजी निवासमा पुस्ताकालय बनाएका थिए।

रेग्मीले आफ्नो निजी पुस्ताकालयलाई ‘डिल्लीरमण-कल्याणी रेग्मी पुस्तकालय, संग्रहालय तथा अनुसन्धान केन्द्र’को नाम दिए। तात्कालीन राजा वीरेन्द्रले २०३७ सालमा उद्घाटन गरेका थिए अनि २०३७ सालमा नै रेग्मीले आफ्नो शेष (मृत्यु)पछि सो पुस्तकालय शिक्षा मन्त्रालयको हुने गरी बकसपत्र गरे।

२०३७ सालमा सर्वसाधारणका लागि खुला गरिएन। २०५३ सालमा डा. डिल्लीरमण रेग्मी ट्रष्ट स्थापना भयो अनि उनी आफैँ अध्यक्ष भए। २०५८ सालमा उनको निधन नभइन्जेलसम्म उनी नै ट्रष्टको अध्यक्ष थिए।

उनको निधनपछि भने ‘डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति गठन (आदेश) २०६०’ गठन गरी पुस्तकालय सञ्चालन तथा व्यवस्थापनको लागि ७ सदस्यीय सञ्चालक समिमिको व्यवस्था गरियो। त्यसयता सरकारले सञ्चालक समिति तोक्दै आइरहेको छ। २०६१ सालदेखि मात्रै यो पुस्तकालय सर्वसाधरणको लागि खुला गरियो।

डिल्लीरमण रेग्मीको निजी निवासको पुस्तकालय शिक्षा मन्त्रालय मातहत आयो। समिति अन्तर्गत नै कर्मचारी छन्। सदस्यसचिव एवं पुस्तकालय प्रमुख पनि शिक्षा मन्त्रालयले तोक्दै आएको छ। विभिन्न शर्त राखेर निजी निवास सरकारलाई हस्तान्तरण गरेका रेग्मीको पुस्तकालय अहिले भने विवादको भूमरीमा परेको छ।

नातिनीका कारण समस्यामा पुस्तकालय
अवन्तिका डिल्लीरमणकी नातिनी। छोरा मदन रेग्मीकी छोरीलाई उनले आफ्नो छोरीको रूपमा नागरिकता बनाए। उनै अवन्तिकाका कारण अहिले विकास समिति मुद्दाको भूमरीमा परेको छ।

अवन्तिका पुस्तकालय व्यवस्थापन समितिले मनलाग्दी गर्दै आएको र बकसपत्र दिँदा तोकिएको शर्त उल्लंघन गर्दै काम गरेको भन्दै अदालत पुगेकी छन्। पाँचवटा मुद्दा लिएर अदालत पुगेकी रेग्मीसँग उकेराले कुराकानी गर्न खोज्दा उनको कानूनी सल्लाहकार अधिवक्ता अनन्तराज लुईंटेलसँग कुरा गर्न भनिन्।

लुईंटेलले पुस्तकालय रहेको जग्गा पटक-पटक बकस भएकाले विवाद देखिएको बताए। लुइँटेलका अनुसार एक रोपनी १० आना जग्गा २०३१ सालमा डिल्लीरमण रेग्मीले आफ्नो शेषपछि अवन्तिकालाई दिएको देखिन्छ। २०३७ सालमा आफ्नो शेषपछि सरकारको हुने गरी बकसपत्र दिएको देखिन्छ।

त्यस्तै २०४० सालमा नुतन रेग्मीले अवन्तिकालाई १ रोपनी जग्गा बकस दिएको देखिन्छ शर्तसहित। २०५४ सालमा पनि त्यस्तै शर्तसहित बकस पत्र दिएको देखिन्छ।

‘बकस पत्र दिँदा घर भत्काउन नपाइने, थप्न नपाइने अवन्तिका र नुतनको शेषपछि मात्रै नेपाल सरकारको हुने भनिएकोमा पहिले नै नेपाल सरकारले लालपुर्जा लिएका कारण विवाद भएको देखिन्छ’, उनले भने।

चारपटक भएको थियो बकस
डिल्लीरमण रेग्मीको लाजिम्पाटमा रहेको कुल जग्गा ३ रोपनी ४ आना हो। उकेरालाई प्राप्त विवरणअनुसार यो जग्गाको केही भाग विभिन्न समयमा बकस भएको देखिन्छ।

पहिलो पटक डिल्लीरमण रेग्मीले २०३१ साल साउन ४ गते सोही जग्गाको दक्षिणतर्फको १ रोपनी १० आना जग्गा अवन्तिकाको नाममा दान बकस गरिदिएको देखिन्छ।

२०३७ सालमा ३ रोपनी ४ आना (पूर्वपट्टी हाल पुस्तकालय रहेको स्थानको जग्गा समेत सबै जग्गा) नेपाल सरकार शिक्षा मन्त्रालयलाई शेषपछि बकस गरिदिए।

स्व. नुतन रेग्मीले २०४० साल कार्तिक २३ गते सोही तीन रोपनी ४ आना जग्गाकै दक्षिण तर्फकै १ रोपनी १० आना जग्गा अवन्तिकाको नामा शेषपछिको बकस गरिदिइन्।

बकस दिने र कागज बन्नेक्रम रोकिएन। २०५४ साल माघ १७ गते सबै जग्गा आफ्नो, छोरी अवन्तिका र नुतन रेग्मीको शेषपछि नेपाल सरकारको हुने गरी शेषपछिको बकस पत्र गरिदिए डिल्लीरमणले। त्यसमा शर्त थिए।

शर्तमा शेष बकस पाउनेले आफ्नो नाममा दाखिला गरी अन्यत्र बिक्री वितरण गर्न नपाउने, घर बनाउँदा तला थप्न पाउने र भत्काइ क्षति पुराउन नपाउने, शेषपछिको बकस जस्ले पाएको छ उसको शेषपछि नेपाल सरकारको नाममा स्वत: हुने उल्लेख छ।

यस्तै, डिल्लीरमण रेग्मीको शेषपछि बकस पाएका नुतन रेग्मी र अवन्तिका रेग्मीले यदि डिल्लीरमण रेग्मीकी जेठी छोरी शान्ति जोशी बस्न चाहेमा व्यवस्था गर्नुपर्ने र शिक्षा मन्त्रालयले आवासको निमित्त प्रयोग गर्न नपाउने, पुस्तकालयको काममा मात्रै प्रयोग गर्न पाउने उल्लेख छ।

मुद्दै मुद्दाको चाङ
२०७२ सालको भूकम्पले पुस्तकालय र संग्रहालय रहेको मुख्य भवनका केही कोठा भत्कियो। ठाउँ-ठाउँमा चर्कियो। सिलिङको माटो बेला-बेला खस्ने गरेको छ। जसले गर्दा अध्ययन गरिरहेका पाठक, पुस्तकालयका कर्मचारीहरू डराइ-डराइ काम गर्न बाध्य भएको बताउँछन् पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठ।

‘भवन भत्किएपछि किताब कुहिन दिनुभएन भनेर केही समयअघि शिक्षा मन्त्रालयमा निवेदन समेत दियौं’, उनले भने।

त्यहीँका कर्मचारीले नयाँ भवन बनाए काम गर्न सजिलो हुने निवेदन शिक्षा मन्त्रालयमा दिएपछि शिक्षा मन्त्रालयबाट प्राविधिक टोली पठाएर भवन बनाउने अनुमति दियो।

२०७४ वैशाख २४ गते १ करोड निकासा पनि भयो भवनका लागि। तर, पुस्तकालयको नाममा लालपुर्जा बनिसकेको थिएन। २०७७ पुस १७ गते तीन रोपनी ४ आना जग्गाबाट १ रोपनी १० आना पुस्तकालयले चर्चेको जग्गा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिको नाममा लालपुर्जा बन्यो।

त्यसपछि सुरु भयो कानूनी झगडा। लामो समय अमेरिका बसेर फर्केकी डिल्लीरमण रेग्मीकी नातिनी अवन्तिकाले मुद्दा हालिन्। २०७८ माघ ४ गते डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, डिल्लीरमण रेग्मी प्रतिष्ठान, मालपोत कार्यालय डिल्लीबजार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइन्।

उनले पुस्तकालय विरुद्ध हालसम्म जालसाजी, सुविधा कायम गरी घर खाली गराइपाऊँ, गाली बेइज्जती र निषेधाज्ञा माग गरी मुद्दा दर्ता गरेकी छन्।

डिल्लीरमणले सरकारलाई शेषपछि बकस गरिदिएको जग्गामा किन मुद्दा हालिन् अवन्तिकाले? उनको मागदावी के हो? किन भइरहेको छ झगडा? अर्को अंकमा।

१ साउन, २०८०, १८:४८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।