गाउँपालिका अध्यक्षलाई थप्पड हान्ने उपाध्यक्ष पक्राउ

गाउँपालिका अध्यक्षलाई थप्पड हान्ने उपाध्यक्ष पक्राउ

सुर्खेत : गाउँपालिका अध्यक्षलाई थप्पड हान्ने जुम्ला गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) पक्राउ परेकी छन्। 

मल्लले सोही गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई थप्पड हानेकी थिइन्। 

आइतबार दिउँसो गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्ष मल्लले आफूलाई थप्पड हानेको भन्दै अपराह्न ४ बजे बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए। त्यसपछि मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी प्रह्लाद कार्कीले जानकारी दिए। 

‘आइतबार दिउँसो कार्यपालिकाको बैठकमा आफूलाई थप्पड लगाएर हातपात गरेको भन्दै अध्यक्षज्यूले चार बजे हामीकहाँ उजुरी दिनुभएको थियो। सोहीअनुसार हामीले उपाध्यक्षज्यूलाई पक्राउ गरी ल्याइसकेका छौं,’ प्रमुख कार्कीले भने, ‘यो उहाँहरूको आन्तरिक विषय भएका कारण भोलि के हुन्छ भन्ने कुरा हो। अहिले नै यस्तो हुन्छ भन्न सक्ने अवस्था छैन।’ 

अध्यक्ष बुढाले आफूमाथि उपाध्यक्ष मल्लले सुरुमा थप्पड हान्दै हातपात गरेको र पछि चप्पलले समेत हिर्काएको बताए।
‘हिजो कार्यपालिका बैठक थियो। बजेट बजेट ब्रेकडाउन गर्ने सन्दर्भमा छलफल भएको थियो। आज दिउँसो म कार्यकक्षमा बसेको थिएँ। एक्कासि उहाँ आएर थप्पड हान्नुभयो पछि चप्पलले समेत हिर्काउनुभयो,’अध्यक्ष बुढाले भने, ‘त्यसपछि मैले आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएको हुँ। मलाई न्याय चाहियो, अरू केही छैन।’ 

अध्यक्ष बुढा नेपाली कांग्रेसबाट र उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

यस्तै उपाध्यक्ष मल्लले आफूमाथि भएको अत्याचार सहन नसकेर हातपात गर्न बाध्य भएको प्रतिक्रिया दिएकी छन्।

केही समय अगाडि उकेरासँगको सम्पर्कमा आएकी थिइन्। ‘ममाथि उहाँ अध्यक्षज्यूले अन्याय गर्नुभएको थियो। अधिकारलाई कुण्ठित गर्नुभयो, कुनै सीप नलागेपछि म हातपात गर्न बाध्य भएँ,’ उपाध्यक्ष मल्लले भनिन्, 'अरूलाई न्याय दिने मान्छे म नै न्याय खोज्न कहाँ जानु ? एक वर्षसम्म मैले बाहिर कुनै कुरा नगरेर बसें।’ 

१० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको, आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने जस्ता कामहरू अध्यक्ष बुढाले गरेका उनले आरोप लगाएकी छिन्। 

३१ असार, २०८०, २२:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।