गुलाबी गाउनले बित्थामा गाली खाँदै छिन् 'फूलमाया' कि 'सकम्बरी'

गुलाबी गाउनले बित्थामा गाली खाँदै छिन् 'फूलमाया' कि 'सकम्बरी'

काठमाडौँ : गायक प्रकाश सपुतको गीत ‘फूलमाया’को जति आलोचना भए पनि कला क्षेत्रमा प्रवेशका लागि सकारात्मक माहौल बन्यो मोडल कुसुम शर्माका लागि। सकम्बरी बनेकी उनका लागि कला क्षेत्रमा बलियो प्रवेशको आधार बन्यो म्युजिक भिडियो।

पहिलो भिडियोबाट दर्शकमाझ नोटिस्ड हुनै गाह्रो हुन्छ। तर उनी नोटिस्ड मात्रै हैन स्थापितै भइन्। गीतको म्युजिक भिडियोसँगै शब्दहरूबारे चर्का बहस भए। ती बहस उनका लागी फाइदाजनकै भए। त्यसले उनका लागी ठुलो पर्दामा डेब्युको बाटो पनि खोल्यो। उनी फिल्म ‘सञ्जीवनी’मा अनुबन्ध पनि भइन्।

जति राम्रो काम गरे पनि सामान्य कामबाटै चर्को आलोचना सुरु भइहाल्छ। हिजो मुक्त कण्ठले प्रशंसा गर्नेहरू कट्टर आलोचक बनिदिन्छन्। यो क्षेत्रकै समस्या यही त हो।

अहिले उनै फूलमाया अर्थात् कुसुमको चर्को आलोचना भइरहेको छ। शरीरको माथिल्लो भाग अलि खुल्ला भएको गाउन लगाएको उनको भिडियो क्लिप केही दिन अगाडि बाहिरिएको थियो। त्यो टिकटकमा आइहाल्यो। अनि भाइरल भयो।

गुलाबी गाउनले उनलाई आलोचनामा पार्यो। उनका प्रशंसकहरू त्यो गाउन कसले किन्दियो भन्दै ट्रोल गर्न थाले। सफलताले मात्तिएको भन्दै आलोचना गर्न थाले।

आलोचना बढेपछि टिकटकमै उनको अर्को भिडियो बाहिरियो जसमा सीमित दिदीहरूबिचमा कस्तो देखियो भनेर गाउन लगाएर आएको र कसैले थाहै नदिई भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिएको भन्दै चित्त दुखाइरहेकी थिइन्। उनले अनुमति नलिई खिचेको भिडियो अपलोड गर्नेलाई भिडियो हटाउन आग्रह पनि गरेकी थिइन्। तर अब एक जनाले मात्र अपलोड गरेको भए पनि सञ्जालबाट हराउँछ उनको ट्रोल भिडियो। यो त सञ्जालभरि फैलिइसक्यो।

तर उनको भिडियोमा त्यसरी रिसै उठ्ने कुनै गतिविधि छैन। कस्तो कपडा लगाउने अनि कस्तो नलगाउने व्यक्तिको व्यक्तिगत निर्णयको विषय हो। तर यसो भनेर प्रशंसकहरू मान्नेवाला छैनन्। उनलाई खराब लागेपछि लाग्यो। कसैको रहर वा कसैको चाहना वा निर्णयको के मतलब उनीहरूलाई। 

२९ असार, २०८०, १९:३१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।