१५ वर्षीय छोरीलाई ‘फुपू’सँग सहयोगी बनाएर भारत पठाउँदा आमा-बुवासहित ६ जना कारागारमा, जबरजस्ती विवाह गराएको किशोरीको दाबी

१५ वर्षीय छोरीलाई ‘फुपू’सँग सहयोगी बनाएर भारत पठाउँदा आमा-बुवासहित ६ जना कारागारमा, जबरजस्ती विवाह गराएको किशोरीको दाबी
किशोरीको तस्बिर सांकेतिक प्रयोग गरिएको हो।

सुर्खेत १५ वर्षीय किशोरी बड्डीचौर (परिवर्तित नाम) गाउँमै कक्षा आठमा पढ्दै थिइन्। पढाइमा सधैँ पास भइरहने उनी तीन महिनादेखि विद्यालयमा जान सकेकी छैनन्।

उनी अहिले एक गैरसरकारी संस्थाको आवास गृहमा आश्रित छिन्। कारण भने गोलमटोल देखिन्छ। उनको परिवार नातामा फुपू पर्नेसँग सहयोगीको रूपमा भारत पठाएको दाबी गर्छन्। उता पीडित बालिकाले भने जबर्जस्ती विवाह गरेर भारत पठाउन लागेको बयान दिएकी छिन्।

प्रहरीले बाबु-आमासहित ६ जनाविरुद्ध बलात्कार, अवैध मानव ओसारपसार अनि बालविवाहमा अनुसन्धान सकायो। थुनछेक बहस सकिँदा दुई जना पुर्पक्षका लागि कारागार चलान भए। चार जनाविरुद्ध धरौटी निस्कियो। धरौटी निस्किएकाहरूले धरौटी तिर्न नसक्दा कारागारमै छन्।

घरको आर्थिक अवस्था एकदमै कमजोर। १६ वर्षदेखि उनका ४२ वर्षीय बुवा मानसिक रूपमा अस्वस्थ। कविराम बाहिर काम गर्न नसक्ने। उनी स्थानीय बजारमा मौसम अनुसारका फलफूल बेचेर परिवारको खर्च धान्दै आएका थिए।

किशोरीको ४० वर्षीय घरायसी काममै सीमित हुन्थिन्। गाउँमा कहिलेकाहीँ पाउने काममा मजदुरी गर्थिन्। २०७० सालमा सुर्खेत झरेको यो परिवारको १० मिटर जग्गामा बनाइएको कच्ची घरबाहेक अरू सम्पत्ति छैन।

मानसिक रूपमा अस्वस्थ नभएको बेलामा उनका बाबु भारतको कालापहाड,  सिमला,  मनाली गएर मजदुरी गर्थे। उनको  मानसिक अस्वस्थता बढ्यो। बेलाबखत बेहोस हुन थाले। त्यसपछि काम गर्न भारत जाने विकल्प बन्द भयो।

कालापहाडबाट कमाएको ५० हजार रुपैयाँ बचत थियो। त्यही पैसाले उनीहरूले १० मिटर जग्गा लिएर छाप्रो बनाए। छिमेकी र सामुदायिक वनको सहयोगमा उनले ओत लाग्ने घर त बनाए तर, जहान केटाकेटी पाल्न समस्या भयो।

मानसिक अस्वस्थताका कारण स्थानीय तहले उनलाई केही रकम औषधिका लागि दिन्थ्यो। विभिन्न गैरसरकारी संघ संस्थाले उनकी छोरीलाई कापीकलम र विद्यालय शुल्कमा सहयोग गर्थे।

यसरी नै उनको १० वर्षको यात्रा बित्यो। बेलाबेला हुने बिरामीले बाबुलाई समस्या पार्यो। कहिले छिमेकीले सहयोग उठाएर त कहिले विभिन्न संघ संस्थाको सहयोगमा उनले उपचार गरे। तर मानसिक अस्वस्थता कम भएन।

वैशाख  ५ गते भारतबाट फुपू नाता पर्ने ७० वर्षीय कान्तिका शर्मा नेपाल आइन्। उनी भारतको उत्तर प्रदेशमा बस्थिन्। उनी नेपालमा रहेका आफ्नो दिदीको छोरा र बुहारी भेट्न आएका थिए। यही भेटकै क्रममा पीडित किशोरीको परिवारसँग उनको चिनजान भयो। नाता लगाउँदा किशोरीको बुबा भतिज परे।

कान्तिकाले करिब ५०  वर्ष पहिले गाउँकै शर्मासँग विवाह गरेकी थिइन्। कान्तिका दलित समुदायकी छोरी हुन्। दलितकी छोरीले बाहुनसँग विवाह गरेको भन्दै गाउँमा बस्न सकेनन् र भारत पलायन भए। उनका दुई छोरी र एक छोरा छन्।

उनै एक  छोरा ३४ वर्षीय दिपीन शर्मालाई लिएर उनी नेपाल आएकी थिइन्। दिपीनका दुई छोरी छन्। भारतमै हुँदा घरबाट लडेर हात भाँचिएकाले सहयोगी भन्दै उनले ती किशोरीलाई भारत लैजान चाहेको देखिन्छ।

केही महिनापछि किशोरीलाई आफैँले नेपाल ल्याउने बताएको किशोरीको आमा-बाबुको दाबी छ। वैशाख ७ गते परिवारले छोरीलाई कान्तिका र उनका छोरासँग भारत पठाए। तरती किशोरीले उनीहरूसँग भारत जान तयार भइनन्। बाबुआमाले कर गरेपछि उनी पछि लागिन्।

बाबुआमाको करले उनीहरूसँग गएकी ती किशोरीले वैशाख ८ गते कञ्चनपुर नाकामा 'आफन्त नेपाल' नामक अधिकारवादी गैरसरकारी संस्थाको केरकारमा करबलमा आएको मात्र हैन, आफूमाथि बलात्कार भएको समेत बताइन्।

बालिकालाई अपरिचित व्यक्तिहरूहरूसँग गएको देख्दा हाम्रो स्टाफले केरकार गरे। त्यहिबेला ती नानीले जबर्जस्ती आमाबुवाले पठाएको भनेपछि प्रहरीसँग समन्वय गरेका थियौँ,' आफन्त नेपाल कञ्चनपुर कार्यालय प्रमुख सिद्ध विकले भने, 'उनीहरू सबैका कुरा शंकास्पद भयो। उमेर आधा बढीजस्तो देखिन्थ्यो। यहाँ किशोरीले जबर्जस्तीकरणी पनि भनेको हुँदा मुद्दा चलाउने तयारी थियो। पछि ओसारपसारको पनि कुरा जोडिएपछि प्रहरीले सुर्खेत पठाएको हो।'

त्यसपछि दिपीन शर्मालाई प्रहरीले पक्राउ गर्यो। गाउँबाट प्रहरीले ती किशोरीको जन्म दर्ता ल्याउन पठायो। जन्म दर्ता लिएर उनकी आमा प्रहरी कार्यालय गइन्।

किशोरीले जबर्जस्ती आफूलाई उनीहरूसँग पठाएको भनेपछि कान्तिका र किशोरकी आमालाई प्रहरीले फिर्ता पठायो।

हामीले एक अर्काको हातमा औँठी साटासाट गर्यौँ। त्यो रात दिपीन पनि म सुतेकै कोठामा आएर मसँग सुते। त्यसपछि उनले मलाई जबर्जस्ती करणी गरे।

दिपीन र किशोरीलाई वैशाख १० गते सुर्खेत जिल्ला प्रहरीमा बुझाइयो। दिपीनलाई प्रहरीले अनुसन्धानका लागि थुनामा राख्यो र किशोरीलाई गैरसरकारी संस्थाको समन्वयमा आवास गृहमा पठायो।

प्रहरीले अनुसन्धान सकाएपछि वैशाख २४ गते किशोरीका बुवाआमाफुपू दाबी गरिएकी कान्तिकाभिनाजु र दिदीसमेत पक्राउ परे।

जेठ ९ मा जिल्ला अदालत सुर्खेतले यो घटनामा मतियार भएको भन्दै किशोरीका आमाबुवा र दिदी भिनाजुलाई दुई-दुई लाखका दरले ८ लाख रुपैयाँ धरौटी माग्यो।

फुपू कान्तिका र उनका छोरा दिपीनलाई पुर्पक्षका लागि कारागार पठायो। धरौटीबापत रकम तिर्न नसकेपछि चार जना पनि कारागारमै छन्।

मलाई दिपीन भन्ने केटोसँग बाबुआमाले बिहे नै गरेर पठाएका हुन्। उनीहरूसँग नगए हामीलाई आमाबुवा नभन्नु भनेपछि म बाध्य भएर गएँ,’आवासगृहमा रहेकी ती किशोरीले भनिन्, ‘म विद्यालयमा पढिरहेकी थिएँ। घरको अवस्था पनि गाह्रो थियो। काम गरेरै भए पनि पढिरहेकी थिएँ। नाकामा संस्थाका मान्छेले सोधेपछि मैले जे भएको हो त्यो कुरा भनेँ।

आफूलाई मन नपरेको कुराभन्दा पनि अहिले समाजमा बाबुआमालाई जेल पठाइस् भनेर कुरा काट्दा चिन्ता लाग्ने गरेको उनले बताइन्।

मेरो मन नै थिएन। जबरजस्ती त्यो केटालाई दिएका रहेछन्। फुपूले बुहारी भइस् मेरी भन्दै फकाउँथिन्। मैले भएको कुरा गर्दा अहिले आमाबुवा जेलमा जानुपर्ने अवस्था भयो,’उनले भनिन्, ‘यही कुरामा मलाई धेरैले गाउँमा कुरा काटेका छन्। त्यही विषयमा चिन्ता लाग्छ। खाना खान मन लाग्दैन। मर्न मन लाग्छ।

उनी बसेको आवास गृहकी कर्मचारीका अनुसार ती किशोरीलाई मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सकले परामर्श गरिरहेका छन्।

पहिलेभन्दा अहिले किशोरीको मानसिक स्वास्थ्यमा सुधार भइरहेको आवास गृहकी कर्मचारीले उकेरालाई जानकारी दिइन्।

हामीले फुपूको सहयोग पनि होला। पछि कतै नोकरी गरेपछि हामीलाई पनि सहयोग होला भनेर पठायौँ। अरूसँग पठाउन नमिल्दो रहेछ,’ उनको बाबुको दाबी छ, ‘अहिले दुई लाख रुपैयाँका दरले धरौटी माग्यो। दिन नसकेपछि जेलमा छु।'

परिवारले किशोरीलाई सहयोगीको रूपमा आफन्तकोमा पठाएको दाबी गरे पनि प्रहरी अनुसन्धानमा भने विवाह गरेर पठाएको देखिन्छ। प्रहरीको बयान अनि प्रहरी अनुसन्धानले समेत यही देखाएको छ।

पीडित किशोरीको बयान : कोठामा आएर बलात्कार गर्यो 

वैशाख ५ गते कान्तिका शर्मा र उनका छोरा दिपीन शर्मा कुरद्वारबाट गाउँ आए। त्यसभन्दा पहिले दिदीको मोबाइलबाट ह्वाट्स एपमा दिपीनलाई देखेको थिएँ। 

एक दुई पटक त दिदीले नाता पर्ने मान्छे हुन् भनेपछि ह्वाट्स एपमा भिडियो कलसमेत गरेको थिएँ। त्यो बाहेक मैले उनकी बुढी आमालाई चिनेकी थिइनँ।

उनीहरू नेपाल आएपछि मात्रै बुवाको फुपू रहेछन् भन्ने थाहा पाएँ। त्यसपछि उनीहरूले मलाई आफ्नी बुहारी बनाउने भन्दै बुवा आमासँग हात मागे। 

दिपीनसँग बिहे गर्ने कुनै इच्छा थिएन। बुवा आमाले हाम्रो भनेको नमान्ने भए हाम्री छोरी होइन भन भने। त्यसपछि बाध्यताले हुन्छ भनेँ।

त्यसभन्दा अगाडि पनि मलाई केही यस्तै उमेर ढल्केका केटाहरू माग्न आएका थिए। तर म जान्नँ भनेर घरबाट भाग्थेँ। वैशाख ६ गते त मलाई र त्यो केटोलाई सँगै राखेर बुवाआमाले उसको जिम्मा लगाए।

हामीले एक अर्काको हातमा औँठी साटासाट गर्यौँ। त्यो रात दिपीन पनि म सुतेकै कोठामा आएर मसँग सुते। त्यसपछि उनले मलाई जबर्जस्तीकरणी गरे।

अर्को दिन वैशाख ७ गते राति मलाई आमाबुवा र दिदी भिनाजुले बजारबाट गाडी बोलाएर दिपीन र उनकी आमालाई बिदाइ गरे।

म गाडीको सिटमा एक्लै बसेँ। दिपीन र उनकी आमा अर्को सिटमा बसे। मलाई सुख सहेलमा पाल्छु भनेर दिपीनकी आमाले बेलाबखतमा भन्थिन्। म चुप लागेर गाडीमा सुत्थेँ।

रातभरको यात्रापछि वैशाख ८ गते अपराह्न ४ बजे हामी गड्डाचौकी भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ आफन्त नेपाल भन्ने संस्थाले सोधपुछ गरेपछि मैले सबै सत्य तथ्य घटना बताएँ। त्यसपछि प्रहरीले उसलाई पक्राउ गर्यो र मलाई आवास गृहमा पठायो।

२७ असार, २०८०, २१:५६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।