ललिता निवास किर्तेमा पक्राउ परेका श्रेष्ठको मैजुबहालमा पाँचतले घर, पूर्वसभासद्सँग लिभिङ टुगेदर

ललिता निवास किर्तेमा पक्राउ परेका श्रेष्ठको मैजुबहालमा पाँचतले घर, पूर्वसभासद्सँग लिभिङ टुगेदर

काठमाडौँ :  मंगलबार बिहान ८ बजेदेखि रेकी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बेलुका सात बजेतिर भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रबहादुर श्रेष्ठलाई पक्राउ गर्यो।

एक वर्षदेखि चावहिल मैजुबहालमा डेरामा बस्दै आएका श्रेष्ठले नयाँ घर बनाउँदै थिए। 

२०६० सालमा ललिता निवासको केही जग्गा हालसाबिक गर्ने नाममा सुवर्ण शमशेरका हकदारको नाममा दर्ता गर्ने निर्णय हुँदा श्रेष्ठ विभागको महानिर्देशक थिए।

तत्कालीन श्री ५ को सरकार समरजङ्ग कम्पनीको नाममा जग्गाधनी दर्ता स्रेस्ता रहेको जग्गा हालसाबिकको बहानामा व्यक्तिको नाममा पुगेको थियो।

उनीमाथि अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायर गरेको थियो। १३ करोड २३ लाख बिगो माग भएको मुद्दामा उनी धरौटीमा रिहा भएका थिए।

किर्तेको अनुसन्धान ब्यूरोले सुरु गरेपछि उनी पनि जोडिएका थिए। 

उनको परिवारका अधिकांश सदस्य अमेरिकामा छन्। उनी पछिल्लो समय नेपाली कांग्रेसको तत्कालीन सभासद्सँगै बस्दै आएका थिए। उनले पाँच वर्ष अगाडि मैजुबहालमा जग्गा किनेर एक वर्षदेखि घर बनाउँदै थिए।

पाँच सय मिटर वरिपरि तीन जना पक्राउ

मैजुबहालको पाँच सय मिटर वरपर तीन जना पक्राउ परे। तीनै जना हाई प्रोफाइल। नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पा पक्राउ परे। श्रेष्ठले बनाइरहेको घर यी दुवैको बीचमा हो। 

खाँण डेरामा बसेका थिए। उनी पुर्पक्षका लागि थुनामा गएपछि उनको परिवारले डेरा छाडिसकेको छ। 

आङटावा मैजुबहाल क्षेत्रका स्थानीय हुन्।

२७ असार, २०८०, १०:५५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।