गायक डेबिडको प्रिय १० सुर : कर्णदासको पुरानो डुंगादेखि सुजनको तीनपातेसम्म

गायक डेबिडको प्रिय १० सुर : कर्णदासको पुरानो डुंगादेखि  सुजनको तीनपातेसम्म

काठमाडौं : नेपाली स्रोतामाझ चर्चामा रहेका गायक हुन् डेबिड शंकर।

उनले गाएका अधिकांश गीत पछिल्ला समय चर्चामा छन्। उनले आफूले गाएका पाँच र अन्य सर्जकका पाँच गीत प्रिय लाग्नुका कारण यसरी बताए। 

१. कल्ले भन्यो तिमीलाई म माया गदिनँ

यो मैले गाएको पहिलो गीत हो। जीवनमा पहिलो पटक यही गीत गाउन स्टुडियोमा प्रवेश गरेको थिएँ। त्यस कारण पनि यो गीत मेरो लागि प्रिय छ। यस गीतको शब्द सविता सुवेदीले लेख्नुभएको हो भने संगीत बाबु बोगटीको छ। मैले यो गीतलाई ‘माइ ड्रिम’ एल्बममा समावेश गरेको थिएँ। यो गीतको शब्द संगीत एकदम राम्रो लाग्छ। 

२. दर्शन सलाम

यति बेला स्रोता तथा दर्शकमाझ एकदमै लोकप्रिय बनेको गीत हो ‘दर्शन सलाम’। यो गीतले मलाई स्रोता र दर्शकमाझ परिचित गराएको छ। यसअघि थुप्रै गीत गाए पनि अहिलेको संगीतको ट्रेन्ड समातेको गीत हो यो। सहिमा श्रेष्ठ र मैले गाएको यो गीत सबै उमेरका संगीत पारखीमा लोकप्रिय पनि छ। यो गीत कहिल्यै पनि मर्दैन होला। 'दर्शन' भन्ने थेगो बेसमा भएकाले हरेकको जनजिब्रोमा झुण्डिएको छ। यस गीतको शब्द राजेन्द्र थापा र संगीत दीपक शर्माले गर्नुभएको छ। 

३. पहिलो नम्बरमा

फिल्म ‘छक्का पञ्जा३’मा समावेश गीत हो। यो नेपाली दर्शकमाझ एकदमै लोकप्रिय बनेको गीत हो। यो गीतले डेबिङ शंकरलाई अझ धेरै स्रोता तथा दर्शकमाझ परिचित गराएको छ। स्रोता तथा दर्शकमाझ डेबिङ शंकर पनि नेपालमा गायक छ है भन्ने एउटा पहिचान दिएको हुनाले यो गीत मेरो लागि अति प्रिय छ। डान्सिङ बिटको गीत भएकोले पनि बिहे ब्रतबन्ध,पाटी जुनसुकै ठाउँमा बज्ने गरेको छ। मेरा प्रिय गीतमध्ये यो पर्छ। गीतको शब्द राजेश थापाले लेख्नुभएको छ भने संगीत दीपक शर्माकै छ। 

४. घिन घिन मादल मुरलीको तिर

यो गीत नसुन्ने स्रोता तथा दर्शक कमै हुनुहुन्छ होला। यो गीत मेरो जीवनको अत्यन्तै नाजुक अवस्थामा आएर गाएको थिएँ। मैले यो गीत नगाएको भए सायद दर्शकमाझ गायक डेबिङ शंकर हुँदैन थियो होला।

म विदेश पलायन भइसकेको हुन्थेँ। किनभने थुप्रै गीत गाइसकेको थिएँ, तर कुनै गीतले पनि मलाई संगीत क्षेत्रमा उठाउन सकिरहेको थिएन। मैले म्युजिक क्षेत्रबाट हार मानिरहेको बेला संगीतकार विकास चौधरीले यो गीत गाउन अफर गर्नुभयो।

फिल्म ‘पञ्चेबाजा’मा समावेश यो गीतमा मैले गाउने अवसर पाएँ। यो गीत मेरो लागि लक्की गीत हो। यस गीतपछि मैले फर्केर हेर्नुपरेन।

सधैँ मनमस्तिष्कमा रहिरहने मेरो गीत हो यो। यस गीतलाई प्रदीप भारद्वाजले लेख्नुभएको छ। गीतमार्फत सन्देश दिइएको गीत हो। लेडिज भोकलमा अन्जु पन्तले गाउनुभएको यो गीत मेरो टर्निङ पोइन्ट हो। त्यस कारण पनि यो गीत मलाई अत्यन्त मन पर्छ। 

५. म तिम्रो यादमा

यो गीतका भावहरू मेरा जिन्दगीका कतिपय घटनासँग मिलेको छ। यस गीतले मेरा कतिपय अतीत सम्झाउने गर्छ, त्यो समयमा मलाई फर्काउने गर्छ। यस कारण पनि यो गीत मेरा लागि अत्यन्त प्रिय गीत छ।

म आफैले स्टेजमा यो गीत गाउँदा त्यो समयमा कुराहरू मानसपटलमा दौडने गर्दछ। विशेष त यही कारण पनि मलाई यो गीत मन पर्छ। यस गीतलाई शब्द र संगीत डम्बर नेपालीले गर्दिनुभएको छ। 

अन्य सर्जकका पाँच गीत 

१. यति चोखो यति मिठो दिउँला तिमीलाई माया

यो गीत मैले गुनगुनाइरहने गीतहरूमा पर्दछ। यो गीत गुनगुनाउँदा मनभित्र कता कता छुन्छ, बेग्लै आनन्द प्रदान गर्छ। स्वरसम्राट नारायण गोपालले गाउनुभएको यो गीतका शब्दहरू नै अत्यन्त सुन्दर छन्।

मलाई लाग्छ मबाहेक धेरैलाई यो गीत मनपर्छ होला। हरेक नेपालीको मन मस्तिष्कमा बसेको गीत हो।

यो शब्द,संगीत र गायिकी हरेक पक्ष अत्यन्त सबल छ। यो इतिहास बोकेको गीत हो। मैले सुन्ने धेरै गीतहरूमा यो पहिलो नम्बरमा पर्छ। यसको शब्द संगीत गोपाल योञ्जनले गर्नुभएको छ। 

२. सधैँ सधैँ आइरहन्छ

यो मन्त्र ब्याण्डको गीत हो। कुनै कुनै गीत आफूले नै गाउन पाए हुन्थ्यो भन्ने लाग्छ भने त्यो गीत हो ‘सधै सधैं आइरहन्छ’। किनभने यो गीतको शब्द संगीत र मेलोडी मलाई असाध्यै मन पर्छ। यसकारण म प्रायः गुनगुनाइरहन्छु। 

३ पुरानो ढुंगा,पानीको छाल

यो गीतले मलाई बेग्लै किसिमको सम्झना दिलाउँछ। मेरो घरमा कुनै समय त्यस्तै खालको घटना घटेको थियो। यो गीतले मेरो मानसपटलमा त्यो समयमा यसरी घुस्यो कि बाहिर निस्किनै सकेन।

अहिले पनि यो गीत सुन्दा त्यो समयको घटना दिलाउँछ। यस गीतले केही कुरा बिसाउने या भुलाउने गर्छ। यस कारण पनि यो गीत मेरो लागि प्रिय लाग्छ। कर्णदास दाइले गाउनुभएको यो गीतलाई बीबी थापाले लेख्नुभएको हो भने सुन्दर थापाले संगीतबद्ध गर्नुभएको छ। 

४. मोहनी लाग्ला है

मैले थाहा पाउँदा यो गीत एकदमै चलेको थियो। हरेकको बिहे पाटी,ब्रतबन्ध जताततै बजेको गीत हो। अहिले पनि कता कता यो गीत बजेको सुन्दा बाल्यकालतिरकै याद फर्काउँछ।

म आफैँले पनि निकै पटक गुनगुनाएको गीत हो यो। जीवनमा सरस्वती साक्षर भएर कस्तो खालको गीत गाउन मन पर्छ भनेर सोध्नुभयो भने म ‘मोहनी लाग्ला है’ भन्ने थिएँ। 

किनभने यो अहिलेका पुस्तासम्मले रुचाएको सफल गीत हो। यस गीतलाई आशा भोस्ले र नारायण गोपालले गाउनुभएको छ भने शब्द कुसुम गजमेरले लेख्नुभएको छ। यस गीतलाई  रञ्जित गजमेरले मिठो संगीत गर्नुभएको छ। यो गीत अहिलेसम्म संगीतमा नहराएको जस्तो लाग्छ। यस्तो गीत गाउन पाऊँ भन्ने मेरो पनि एउटा सपना छ। 

५. तीन पाते भइदियो 

पछिल्लो युवापुस्तामाझ लोकप्रिय बन्दै गएको यो गीत मलाई अत्यन्त मन पर्छ। सुजन चापागाईंले गाउनुभएको यो गीतका शब्द,संगीत र यसको एउटा नयाँपनका साथै अहिलेका युवापुस्तालाई लक्षित गीत हो। नेपाली गीतसंगीतमा पनि यस्तो गीत छ है भन्ने लाग्छ। यो गीतले बेग्लै खालको फ्युजन बोकेको छ। एउटा मीठो भाका,त्यो शब्द र गायिकी दिनुभएको छ। त्यस हिसाबले पनि मलाई यो गीत निकै मन पर्छ। 

२३ असार, २०८०, २१:४३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।